राजनीतिक र प्रशासनिक संरचनालाई सार्वजनिक सेवाका केन्द्रविन्दु मानिन्छन् । प्रशासनिक क्षेत्रमा प्रवेशका लागि न्यूनतम र अधिकतम उमेरका साथै आवश्यक योग्यता ताेकिएको हुन्छ ।
तर, राजनीतिक संयन्त्रमा प्रवेशका लागि न्यूनतम उमेर तोकिए पनि कति वर्षसम्म राजनीतिक संयन्त्रमा प्रवेश वा रहने भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिक दलले आफैँले आफैँलाई बाध्न बनाएका पार्टीक विधानमा उल्लेखित व्यस्था पनि नेपालको सन्दर्भमा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर स्थानीय तहमा निर्वाचित सबैभन्दा ज्येष्ठ जनप्रतिनिधिबारे विपना मुसिख्वालले तयार पारेको एक रिपोर्ट ।
८० वर्षीय अध्यक्ष राम पदारथ साह तेली
उमेरले आठ दशक पुगेका सर्लाहीका ब्रम्हपुरी गाउँपालिकाका राम पदारथ साह तेली स्थानीय तहका सबैभन्दा पाका जनप्रतिनिधि हुन् । उमेरले ८० वर्ष पुगेका उनी कामको अनुभव र व्यक्तिगत प्रभावका कारण आफू गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको बताउँछन् ।
तेलीले आफ्नो प्रतिद्वन्द्वी नेपाल समाजवादीका वीरेन्द्रकुमार रायलाई २ हजार ७ सय ६१ मतले पछि पारी सो पदमा निर्वाचित भएका हुन् । तेलीले ४ हजार ६ सय ६१ मत ल्याउँदा रायले एक हजार ९ सय ७ मत ल्याएका थिए ।
लामो समयको राजनीतिक यात्रा र समाजलाई दिएको योगदानका कारण आफू निर्वाचित भएको उनी बताउँछन् । उमेरले बुढौलीको संकेत गरे पनि आफूमा युवाको जोश र जाँगर भएकाले जनताले विश्वास गरेको उनको दाबी छ ।
प्रदेश नम्बर २ भ्रष्टाचारमा अगाडि रहेको बताउँदै उनले त्यसको प्रभाव आफ्नो पालिकामा पनि परेको बताए ।
अहिले पनि पालिकाभित्र रहेको भ्रष्टचार र अनियमितता रोक्नका लागि आफू सधैँ तत्पर रहेको उनले बताए । ‘मेरो पालिकामा धेरै भ्रष्टचार छ । यसको अन्त्यका लागि सधैँ लागिपरेको छु,’ पालिकाखबरसँग टेलिफोन कुराकानीका क्रममा उनले भने ‘मुख्य समस्या भनेको भ्रष्टाचार हो । साथै पालिकामा अरू समस्या पनि छन् । तिनको समाधान गरी अघि बढ्ने योजनामा छु ।’
पढाइ पूरा भएसँगै ०२८ सालबाट उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । विपी कोइरालको प्रभावबाट नेपाली कांग्रेसबाट राजनीतिक यात्रा गरेका उनले २०३६ सालमा गाउँको नेतृत्व गर्दै आन्दोलनमा सक्रिय भए ।
उनले केही समय राप्रपामा पनि प्रवेश गरे । तर, स्थानीय बासिन्दा र केही नेताको आग्रहमा उनी पुनः नेपाली कांग्रेसमा आबद्ध भई जिल्ला विकास समितिको अध्यक्षको रुपमा काम गरे । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिएको बताउँदै उनले आफू झिनो मतान्तरले पराजित भएको बताए ।
‘कामको अनुभव र मसँग काम गर्नसक्ने क्षमता छ । यिनै कुरालाई विश्वास गरेर जनताले मलाई साथ दिनुभएको हो,’ उनले भने । उमेरका हिसाबले पाको भए पनि आफूमा काम गर्ने आँट, क्षमता भएको उनी बताउँछन् ।
नेतृत्वमा युवा मात्रै आउनुपर्छ गलत सोचाइ भएको उनी बताउँछन् । उनी भन्छन्, ‘कतिपय स्थानमा पाका उमेरका जनप्रतिनिधि पनि आउनु पर्छ । सबै उमेर समूहका जनप्रतिनिधि आए मात्रै एकअर्काको अनुभव र आइडिया संयोजन गरी काम सहज हुन्छ ।’
युवामा जोश र जाँगर भए पनि अनुभव नहुने उनको भनाइ छ । युवालाई सचेत गराउन र चुनौती दिनका लागि आफू निर्वाचित भएको उनको भनाइ छ ।
अध्यक्ष तेलीलाई जनताको मत मात्रै नभएर परिवारको पनि उत्तिकै साथ छ । ‘दुई छोरा र नातानातिनीहरु छन्,’ उनले भने, ‘छोरा दुईमध्ये एक शिक्षक र अर्का कर्मचारी हुन् । दुवैले मलाई साथ र सहयोग गरेका छन् ।’
आफूसँगै छोरा पनि शिक्षित भएकाले परिवारका जिम्मेवारी सम्हाल्नदेखि कार्यपालिका सञ्चालनका लागि पनि परिवारले सहयोग गर्ने उनी बताउँछन् ।
तर, आफू परिवारभन्दा पनि गाउँपालिकाको विकासका लागि बढी समय दिँदै आएको उनको अनुभव छ ।
पालिकाको विकासका लागि कार्यपालिकासँग छलफल गरेर विभिन्न योजना बनाएको उनले बताए । पालिकामा सडकको विस्तार, शैक्षिक गुणस्तरमा सुधार, कृषिको विकास, महिला विकासलगायत योजना रहेको उनले सुनाए ।
७८ वर्षीय पालिका अध्यक्ष यादव
सिरहाका विष्णुपुर पाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव उमेरले ७८ औँ वसन्त पार गरे । तर उनको जोश र जाँगर युवाको भन्दा कम छैन ।
तीन छोरा, दुई छोरी र नातिनातिनीका हजुरबा बनिसकेका यादवका चाउरिएका छालाका रेखाले बुढौलीको संकेत गरेको छ । तर, आफ्नो गाउँपालिकामा ‘केही गर्छु’ भन्ने अठोट अझै उनमा छ ।
त्यसैले पनि होला विष्णुपुरवासीका प्रिय बन्नका साथै गाउँपालिकाको अध्यक्षमा पनि उनी चुनिए ।
नेकपा एमालेबाट निर्वाचित भएका यादव जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेद्वार जागेश्वर यादवलाई ४१ मतले मात्रै पछि पारे । अध्यक्ष यादवले २ हजार २ सय ५८ मत ल्याउँदा प्रतिद्वन्द्वी यादवले २ हजार १ सय १७ मत ल्याएका थिए ।
थोरै मतान्तरले गाउँपालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भए पनि आफ्नो क्षेत्रको विकासका लागि थुप्रै योजना छन् । तर योजना अरूसामु देखाउनुभन्दा काम गरेर देखाउँछु भन्ने उनमा ताजा अठोट छ यादवसँग ।
उनी भन्छन्, ‘मलाई गफ र भाषणमा योजना भन्न मन लाग्दैन । किनकि मैले भनेका सबै योजना पूरा नहुन पनि सक्छन् । त्यसैले म पहिला काम गरेर देखाउँछु अनि केके गरे भन्छु ।’
हरेक बिहानीको झिसमिसेसँग उनको दैनिकीको सुरुवात हुन्छ । परिवारको घरमूली भए पनि उनीसँग गाउँपालिकाको कार्यभार छ । त्यसैले पनि परिवारको जिम्मेवारीबाट केही पर राखेर गाउँको विकासमा उनी लागि परेका छन् ।
‘घर परिवार र व्यवसाय छोराहरूले सम्हाल्छन् । म चाहिँ गाउँपालिकाको,’ उनले भने ।
छोराहरूले घर व्यवहार सम्हालेकाले आफूलाई गाउँपालिका सम्हाल्न सहज भएको उनी बताउँछन् । आवश्यक परेका बेला घर परिवारबाट पनि केही सल्लाह र सुझाव आउने उनले बताए ।
उच्चमाध्यमिकत तहसम्म अध्ययन गरेका यादवले २०३६ सालबाट राजनीतिक यात्रामा होमिएका थिए । तर, केही वर्ष शून्य अवस्थामा बसेका उनी २०४७ सालदेखि पुनः राजनीतिक यात्रामा लागे ।
सद्भावनाबाट सुरु गरेको राजनीतिक यात्रा तय गरेका उनी ०५२मा नेकपा एमालेमा प्रवेश गरे । एमालेबाट ०५४ सालमा गाउँविकास समिति अध्यक्ष सम्हालेका थिए । तत्कालीन अध्यक्ष हुँदा गरेको कामबाटै आफू पुनः अध्यक्ष पदमा निर्वाचित भएको उनी बताउँछन् ।
त्यसबेला आफूसँगै अरू जनप्रतिनिधिलाई भ्रष्टचार गर्न नदिएको र समाजमा योगदान दिएकाले आफू निर्वाचित भएको उनी बताउँछन् ।
‘नेकपा एमालेबाट म एक्लै निर्वाचित भए । सदस्यदेखि सबै वडाध्यक्ष सबै अरू दलका छन् । एमालेका कोही पनि छैनन् । म एक्लै हुँ,’ उनले पालिकाखबरसँग भने ।
एमालेबाट आफू एक्लो भए पनि सुरुवाती दिनमा कार्यपालिका सकस भएको अनुभव उनीसँग छ । तर, नेपाली काँग्रेसलगायत अन्य दलसँग समन्वय र समीकरण गरेर काम गर्दै आएको उनी बताउँछन् ।
उनले भने, ‘कार्यपालिका सदस्यमा अरू पार्टीका सहकर्मी छन् । तर काम गर्न खासै समस्या छैन ।’
कहिलेकहीँ अवरोध आए पनि त्यसलाई कार्यपालिकाका सदस्यहरूको सल्लाह लिएर काम गर्दै आएको उनी बताउँछन् । आफू ७८ वर्ष टेक्दै गर्दा पनि आफूमा जोश जाँगरमा कुनै कमी नभएको उनी छ ।
आफूले पहिलेदेखि गाउँपालिकामा देखेका समस्याको समाधानका लागि सधैँ लागि परेको उनी बताउँछन् । गाउँपालिकामा बाटोघाटो, पानी, शिक्षा, रोजगारलगायत समस्या रहेको र सोको समाधानका लागि प्रयासरत रहेको उनले पालिकाखबरसँग बताए ।
आफू पाको उमेरकै भएकाले सबै उमेर समुहको सहयोग र सुझावमा आफू अघि बढ्ने उनी बताउँछन् । आफू केही युवालाई सिकाउने र केही युवासँग सिक्दै काम गर्ने उनी बताउँछन् ।
‘सबै युवालाई राजनीति गर्न आउँदैन । केहीलाई आफ्नो गाउँ कसरी विकास गर्ने भन्ने जानकारी नै छैन,’ उनले भने, ‘त्यसैले युवालाई स्वरोजगारदेखि राजनीतिबारे प्रशिक्षण दिने योजना बनाएको छु ।’
निर्वाचित भएको केही समयसम्म पनि पालिकामा मोटरसाइकल र एम्बुलेन्स गुड्ने सडक नभएको उनी बताउँछन् । आफ्नो पहलमा सडकमा ग्राभेल विछ्याउने, शिक्षामा सुधार ल्याउने, स्वरोजगारको तालिम दिने, कृषिमा सुधार ल्याउने योजना रहेको उनी बताउँछन् ।
बुढापाकाले धेरै समयसम्म नेतृत्व सम्हाल्न नसक्ने उनी स्वीकार गर्छन् । तर, युवाहरू पाका नभएकोले बुढापाकाहरूले नेतृत्व सम्हाल्नु परेको उनले बताए ।
तर, जो नेतृत्वमा आए पनि एक अर्कामा सहकार्य गरेर काम गर्नुपर्ने उनी सुल्झाउँछन् ।
युवाहरूलाई आवश्यक प्रशिक्षण दिएर मात्रै राजनीतिमा लाग्नुपर्ने उनले बताए । त्यसको लागि आफू सधैँ तयार भएको उनले सुनाए ।
तर, गाउँपालिका वा नेतृत्व सम्हाल्नका लागि युवा र बुढापाका एकअर्कासँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनी बताउँछन् ।
७७ वर्षीया उपाध्यक्ष लक्ष्मीदेवी मैनाली
उमेरले ७८ वर्ष पुगेकी लक्ष्मीदेवी मैनाली झापाको हल्दीवारी गाउँपालिकाकी उपाध्यक्ष हुन् । उनी ज्येष्ठ उपाध्याक्षको रुपमा समेत परिचित छिन् ।
उमेरले बुढौली छोए पनि जनता र पालिकाको सेवाका लागि आफू सधैँ तयार रहने विश्वास उनले व्यक्त गरिन् ।
मैनाली राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विजयी भएकी हुन् । उनले आफ्ना निकतम प्रतिद्वन्द्वी नेकपा एमाले शान्तादेवी गौतमलाई करिब ९ सय ५२ मतले पछाडि पारी विजय भएकी थिइन् ।
मैनालीले पाँच हजार ७८ मत ल्याउँदा एमालेका गौतमले ४ हजार एक सय ६ मत ल्याएका थिए ।
जनताले आफूलाई दिएको माया र साथका कारण आफू निर्वाचित भएको उनको भनाइ छ । लामो समय राजनीतिसँगै समाजमा पनि योगदान दिएकै कारण जनताले निर्वाचित गराएको उनको भनाइ छ ।
लामो समयदेखि समाजमा महिला, पिछडिएका वर्गलगायत विभिन्न पक्षमा काम गर्दै आएको बताउँदै उनले बाँकी समय पनि गाउँपालिका जनताको सेवा तल्लीन रहने उनले बताए ।
मलाई जनताले माया र साथ दिएको कारणले म निर्वाचित भएकी हुँ । ज्येष्ठ उमेर भए पनि पुराना कामको मूल्यांकन गरेर जनताले आफूलाई साथ दिएको उनी बताउँछिन् ।
‘हामी निर्वाचित भएर आएको दुई महिना मात्रै हुन लाग्यो । हाम्रो योजना अनुसारको काम हामीले गर्ने अवसर पाएका छैनौँ,’ उनले भने ।
निर्वाचित भएर आएदेखि अघिल्लो जनप्रतिनिधिले बनाएको योजना र कार्यहरूको अनुगमन गर्दै आएको उनले बताइन् । उनले गाउँपालिकाको उपाध्यक्ष भएकाले आफैँले न्यायिक समिति र अनुगमन समितिको भूमिका निर्वाह गर्दै आएको बताए ।
अनुमगनका लागि वडाध्यक्षसहितको समिति बनाएका छौँ । सोही समितिमार्फत अनुगमन हुन्छ,’ उनले भनिन्, न्यायिक समिति बनाएर गाउँपालिकाका मुद्दाहरूको छिनोफानो समेत गर्दै आएकी छु ।’
न्यायिक समितिमा सम्हाल्न सुरुवातमा केही समस्या भए पनि आफू पहिलेदेखि सो क्षेत्रमा काम गर्दै आएकाले चुनौती नभएको उनको अनुभव छ । हाम्रोमा खेतबारी, साँध सिमाना, कुलो थुनेको, बहुविवाह, जग्गाको बारेमा धेरै मुद्दा आउँछन्,’ उनले भनिन्, मुद्दालाई समितिमा ल्याएर छलफल गरेर छिनोफानो गर्ने गरिएको छ ।’
मैनालीले १५ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा जोडिन् । सानो उमेरमा ५० जनाको परिवारको खानादेखि सरसफाइको जिम्मेवारी सम्हान पुगिन् ।
‘परिवार मात्रै भए पनि सम्हाल्न सजिलो हुन्थ्यो । तर, पाहुना पनि आइरहनुहुन्थ्यो । त्यसैले ४४ सालमा परिवारबाट छुटिएर बसेँ,’ उनले भनिन्, ‘त्यसपछि सामाजिक सेवामा लागेँ ।’
उनको नेतृत्वमा ०६३ मा संसद्बाट खानेपानी आयोजनाको माग भयो । केन्द्रस्तरको आयोजना गाउँमा लगियो । मैनालीको अध्यक्षतमा आयोजनामार्फत् ५ सय घरधुरीमा धारा जडान भयो । त्यसपछि सामान्य समिति गठन गरी छोडेको उनले पालिकाखबरलाई बताइन् ।
हाल पनि पालिकाभित्र रहेका महिला, बालबालिकालगायत विभिन्न समूहको आवाज उठाइने विश्वास व्यक्त गरिन् । आफू ज्येष्ठ नागरिक भए पनि काम गर्न सधैँ तयार रहेको बताउँछिन् । त्यसको लागि परिवारका सदस्यले पनि सहयोग गरेको मैनालीको भनाइ छ । उनी बिहानको केही समय परिवारको सदस्यलाई दिने र अरू समय कार्यपालिकालाई नै दिने बताउँछिन् ।