वंशलाल तामाङ, अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
इन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले २४०० मिटरदेखि ७ सय मिटर उचाइमा अवस्थित छ । हिमाल, पहाड र तराईमा भौगोलिक विविधता छ । जनजातिहरूको विविधतायुक्त भएको गाउँपालिका पनि हो यो । सीमान्तकृत माझी दनुवारदेखि ब्राम्हण क्षेत्रीसम्मको बसोबास छ । धार्मिक पर्यटकीय दृष्टिकोणले इन्द्रावती प्रख्यात ठाउँ हो । प्रचारप्रसार गर्न सकेको अवस्थामा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने ठाउँहरू छन् ।
नौलिंगेश्वर महादेव, जलवायु सम्मेलनस्थल गुफा डाँडा, रणनैनेश्वर महादेव, इन्दावतीको पहिचानको रुपमा लिएका छौं । हामीले अहिले खेलकुदको हब बनाउन सक्छौँ कि भनेर पनि काम गरिरहेका छौं । रंगशाला तयार भएको छ । धार्मिक र खेलकुद पर्यटनका लागि विकसित गर्न सकेका छौँ । यहाँका ६८ प्रतिशत जनसंख्या कृषि पेसामा हुनुहुन्छ । यहाँबाट कृषिउपज निर्यात गराउनेतर्फ पनि हामीले पहल गरेका छौं ।
पहिलो सरकार भएका कारणले कानुन सम्मत, विधि सम्मत हिसाबले गर्नुपर्ने चुनौती थियो । संविधानले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिएको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि कानुन बनाउन पर्छ । सुरुमा कानुन नहुँदा कार्यसम्पादनमा समस्या भयो ।
दोस्रो हामी धेरै लामो समयपछि नयाँ व्यवस्थामा रूपान्तरण भएका छौंँ । जनताले नयाँ व्यवस्थालाई आत्मसात् गरिसकेका थिए । काम कसरी हुन्छ ? के के हुन्छ ? बजेट तर्जुमा कहिले कसरी हुन्छ ? विनियोजन कसरी हुन्छ भन्नेबारे अन्योल थियो । यो नै चुनौनीपूर्ण थियो । तर, अहिले भने जनता अभ्यस्त भइसकेका छन् ।
जनतामा जाँदा दुई खालको घोषणा पत्र थियो । पार्टीको केन्द्रले देशभरका सबै स्थानीय तहलाई मध्यनजर गरेर बनाएको घोषणापत्र र अर्को स्थानीय स्थानको विशेषतालाई÷मौलिकतालाई मध्यनजर गर्दै बनाइएको घोषणापत्र ।भूकम्पले निजी आवास, सार्वजनिक भवनहरू क्षतिग्रस्त थियो । पहिले जनतालाई सुरक्षित राख्नका लागि निजी आवास निर्माण गर्ने भन्ने थियो । हामीले त्यसलाई फोकस गरेका थियौं ।
आर्थिक विकासको कुरा गर्दा विकासका लागि जनतालाई पहुँचमा पुर्याउनुपर्ने थिया्े । त्यसका लागि सडक बस्तीसँग जोड्नुपर्ने थियो । सबै वडा, बस्तीलाई सडकसँग जोड्छौं भनेका थियौं । अर्को खानेपानी अस्तव्यस्त थियो । यति दुःख थियो कि ३ घण्टादेखि डोकोमा पानी भरेर खानुपर्ने अवस्था थियो । हामीले घर घरमा पानीको धारा व्यवस्था गर्छौँ भनेका थियौं । विद्युतीकरण विजोग थियो । रुखमा तारहरू झुण्डिएको थियो । सुरक्षित र काठेपोलमुक्त गाउँपालिका बनाउँछौं भनेका थियौं ।
अहिले १२ वटै वडामा सार्वजनिक यातायात पुग्छ । बर्खामा पनि समस्या छैन । सडक गुरुयोजना, मापदण्ड बनाएका छौं । हाम्रा गाउँपालिकाका कुनै पनि स्थानमा अब नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छैन । अब स्तारोन्नतिको मात्रै काम हुनसक्छ । केही सडक कालोपत्रे भएको छ । हाइवेमा सबै वडालाई जोड्ने योजनाका साथ कामहरू गरेका छौं । सडकलाई रणनीतिक योजना दिएर काम गरेका छौं । २ सय ६२ किमी सडक बनाएका छौं । त्यसलाई कालोपत्रे गर्न भने बाँकी छ । केही कालोपत्रेसमेत भएका छन् ।
बृहत इन्द्रावती खानेपानी आयोजना सुरु भएको छ । त्यो योजनाले ४४ सय घरपरिवारलाई पानी खुवाउन पुग्छ । घरघरमा धारो पु¥याउँछौ भन्ने घोषणा मुताबिक यो योजना अघि सारिएको हो । अहिले हाम्रो कार्यकाल सकिने बेलामा करिब ८५ प्रतिशत घरमा खानेपानी पुगेको छ । भूकम्पले ध्वस्त भएका सबै विद्यालय भवन बनेका छन् । स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ । १५ शय्या अस्पताल भवन छ । २ जना मेडिकल अफिसर छन् । २५ प्रकारको ल्याब टेस्ट हुन्छ ।
सबै वडामा स्वास्थ्य चौकी भवन बनेका छन् । पाँच वडामा सामुदायिक स्वास्थ्य एकाइ बनेका छन् । जनशक्ति पनि पु¥याएका छौं । प्रशासनिक भवन पनि बनेको छ । गाउँपालिकामा खाद्य सुधार तथा पोषणा कार्यक्रम सञ्चालन भइरहेको छ । जसले गरिबीको रेखामुनि रहेका जनताहरूलाई पोषणमा सुधार ल्याउने कार्यक्रम गरिरहेको छ । उहाँहरूलाई व्यवसायिक बनाउने आर्थिक रूपले राम्रो बनाउन मद्दत पुर्याउँछ ।
पशु बीमा गरेका छौं । यो कार्यक्रममा बीमामध्येको २५ प्रतिशत किसानले राख्नुपर्ने नियम हुन्छ । हामीले यस्तो देख्यौं कि बीमावापतको त्यो पैसा तिर्न नसक्ने किसानहरू पनि हुनुहुन्छ । त्यसलाई मध्यनजर गर्दै आधा गाउँपालिकाले तिरिदिने व्यवस्था गरेका छौं । बीमा कम्पनी, किसान र गाउँपालिका बसेर त्रिपक्षीय सम्झौता गरेका छौँ । यसले गाउँमा अहिले दुध उत्पादन बढेको छ । सोअनुसार हामीले प्रतिलिटरमा २ रुपैयाँ अनुदान दिइरहेका छौं । शिक्षा क्षेत्रमा पनि राम्रो सुधार भइरहेको छ ।
भौतिक पूर्वाधारमा सिपाघाटबाट ज्यामिरेमाने हुँदै नवलपुरसम्मको सडकलाई मेरो आफ्नै कार्यकालमा कालोपत्रे गर्छु भन्ने लक्ष्य थियो । अर्को सालमात्रै त्यो कालोपत्रे हुनेभयो । बजेट अभावका कारण यो वर्ष गर्न सकिएन । सबै वडालाई चक्रपथको अवधारणाबाट एकीकृत गर्ने योजना थियो । यो गर्न पनि सकिएन । वडादेखि वडासम्म सडक पुगेको छ । तर त्यसको स्तरोन्नति भने गर्न सकिएन । प्लानिङ गरेरै कार्यान्वयन गर्न नसकेको नौलिंगेश्वर महादेवको गुरुयोजना हो । नौलिंगेश्वरी धार्मिक पर्यटकीयस्थल हो । यसको प्रचार गरेर अझै पर्यटक ल्याउने योजनाका साथ गुरुयोजना सुरु गरिएको थियो । नौलिंगेश्वरी तीन स्थानीय तह, इन्द्रावती, मेलम्ची र पाँचपोखरीको संगमस्थल हो । गुरुयोजना बन्यो । अरु पालिकाले प्राथमिकतामा नपारेकाले सम्पन्न हुन सकेन ।