चिन्तन तामाङ, नगरप्रमुख, धनकुटा नगरपालिका, धनकुटा
नगरपालिकाले मुख्यतया योजना बनाएर काम गर्न सिकेको छ । जादुको छडी शैलीमा विकास हुन सक्दैन । १० वर्षमा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा काम गरिरहेमा केही न केही परिवर्तन गर्न सक्छन् भन्ने नगरबासीलाई आभास दिलाएको छु । तर, विकास गर्न उपयुक्त वातावरण बन्नुपर्छ । यदि त्यस्तो भएमा हेर्न र बस्न लायकको हुनेछ । सुरुवात धनकुटा नगरपालिकाबाट भएको छ । नीति र लक्ष्य बनाएर काम अघि बढाएका छौं । शिक्षा, स्वास्थ्य र पर्यटनका काममा सफल भएका छौँ । धेरै आलोचित हुने गरी काम भएको छैन । यो भन्दा अगाडि केही विकास भएको थिएन । चार दशकमा पनि नगरपालिकाले फड्को मार्न सकेको रहेनछ । देख्न र भन्न लायकको केही भएको रहेनछ ।
उद्योग धन्दा नभएको र सुख्खा डाँडो भएको ठाउँमा जनप्रतिनिधिले केही बस्नयोग्य बनाएका छन् । राणाकालदेखि पञ्चायतसम्म यसले आफ्नै छुट्टै पहिचान बोकेको छ । यसलाई ऐतिहासिक सहर मानिन्छ । साँघुरो बाटोमा बनेको सानो बजारलाई बस्नयोग्य बनाएका छौँ । आधुनिकताको परिकल्पना गरेकाले यसलाई निरन्तर गुल्जार बनाउन लागिरहेका छौँ । तराईसँग जोडिएको जिल्ला भएकाले पर्यटन विकासमा ध्यान दिएका छौँ ।
नगरबासीलाई सन्तुष्ट बनाएको छु । मेरो कार्यकालमा नगरबासीलाई निराश बनाउने काम भएको छैन । मेरो कामबाट आशावादी बनेका छन् । निराश हुने गरी केही काम गरेको छैन । काम गर्दा मानिसहरूको मुहारमा खुसी छाउँछ भन्ने प्रमाणित भएको छ । जनप्रतिनिधिको कारण केही हुन्छ र विकास हुन्छ भनेर भरोसा बढेको छ । पाँच वर्षमा अनेकन् कोणबाट काम गरिरहेका छौँ । नगरपालिकाको सेवाप्रवाहमा कुनै कमी हुन दिएको छैन ।
नगरको चुनावी घोषणापत्रमा धेरै वाचा गरिएका थिए । जसमध्ये नगरलाई खरको छानोमुक्त बनाउँछु भनेको थिएँ । दुई हजार घरलाई जस्ता बाँडेर खरको छानोमुक्त बनाए । देशभरका अन्य जनप्रतिनिधि भन्दा अगावै खरको छानोमुक्त बनाउँछु भन्ने जनप्रतिनिधि म थिए । सरकारले पछि यसलाई अँगालेको थियो । बाटो नपुगेको ठाउँमा बाटो पुर्याएका छौँ । नेताले भनेका कुरालाई नपत्याउने जनताले अब हाम्रो कारणले पत्याउने छन् । हाम्रो व्यवहारले जनताले भोटका लागि पत्याउँदैन थिए ।
पाँच वर्षको अवधिमा ८० करोड रुपैयाँले कति विकास भयो होला र ? सरकारको बजेट नगर विकासका लागि अपर्याप्त छ । विकास गर्न त धेरै मन छ । पुँजीगत खर्च जम्मा १६ देखि १७ करोड मात्र आउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ(संस्थासँग सहकार्य गरेर विकास कार्यलाई अगाडि बढाएका छौँ । विभिन्न सामाजिक कार्यका लागि एकमुष्ट रकम आउने हो । ज्येष्ठ नागरिकका लागि भत्तासमेत त्यही बजेटबाट बाँड्नुपर्छ । विद्यालयका शिक्षकलाई समेत यहीँ बजेटबाट बाँडिरहेका छौँ । तर, नगरबासीहरू यसबाट निराश भने छैनन् ।
काम गर्दा सरकार वा अन्य कुनै पनि निकाय वा कहीँ कतैबाट अवरोध आएन । कोभिड-१९ महामारीको समयमा संक्रमितको उपचार र उद्धार गर्ने कार्यमा धेरै खटेका थियौँ । यो वा त्यो गर भन्दा अलिअलि दबाब तथा केही अवरोध महसुस भएको आभास गरेका थियौँ ।
जनताको काम गर्ने मानिस हामी नै हौँ भनेर गरिरह्यौँ । किनभने काम गर्ने मानिस पनि हामी थियौँ । केन्द्र सरकारबाट त्यस्तो अवरोध हो भनेर कहिले महसुस गरेनौं । केही कानुन स्थानीय तहलाई ‘मिनिमाइज’ गर्ने खालका अवश्य छन् ।
मुलुकमा विभिन्न निकायले काम गरिरहेको आफ्नै ढंगले काम गरिरहेका हुन्छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छन् । हामीलाई अप्ठ्यारो परेको भनेको व्यवस्थापिकाबाट हो, तर काम गर्न अप्ठ्यारो भएमा आफैँले कानुन बनाएर काम गर्छौँ ।
स्थानीय सरकार आफैँमा एउटा बलियो सरकार हो । काम गर्न अन्य निकायलाई सोध्न पर्दैन । कार्यकारी अधिकृत पठाउने ठाउँमा केही समस्या रह्यो । स्वायत्त ढंगले काम गर्न पाएकाले आफैँ काम गरेका छौँ । आफैँ सरकार भएकाले धेरै गर्यौँ । यो नगरको अभिभावक भएर काम गरेकाले पुनः नगरप्रमुखको उम्मेदवार बन्ने योजना छ । जनताले हाम्रो माग गरिरहेका छन् ।