close

‘निर्वाचनमा गरेका अधिकांश वाचा पूरा भए, केही पूरा हुने चरणमा छन्’

‘निर्वाचनमा गरेका अधिकांश वाचा पूरा भए, केही पूरा हुने चरणमा छन्’

Trulli
ADVERTISEMENT

महेश खरेल, नगरप्रमुख, पाँचखाल, नगरपालिका, काभ्रे 


लामो अन्तरालपछि आएको स्थानीय तहमा नागरिकहरूले सरकार आफ्नो घरदैलोमा देख्न पाएका छन् । यसमा हामीले भ्रष्टाचारमुक्त सेवा दिन सक्षम भएको जस्तो लाग्छ । मैले आफ्नो कार्यकालमा स्थानीय जनतालाई कसरी छिटो र गुणस्तरीय सेवा दिन सकिन्छ भनी हरसम्भव प्रयास गरेको छु । हामी जनताको करबाट तलब खाएर उहाँहरूलाई कसरी सहज जीवनयापनमा सहयोग पुर्‍याउन सकिन्छ भनेर आएको हुँदा सोहीअनुसार कार्य गर्दै आएका छौँ ।

 

चुनावअघि पाँचखाल नगरपालिकामा कृषि क्याम्पसको कुरा गरेको थिएँ । काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स र एग्रिकल्चर पठनपाठनको वाचा गरेको थिएँ । खानेपानीको समस्या समाधानको वाचा गरेको थिएँ । प्रत्येक टोल–टोलमा गुणस्तरीय बाटोको कुरा गरेको थिएँ । भूकम्पपश्चात् सबैभन्दा बढी क्षति भएको पाँचखाल नगरपालिकाका घरहरू पुनर्निर्माणको वाचा गरेको थिएँ । स्वास्थ्य समस्या समाधान गर्ने वाचा गरेका थिए । तिनै वाचा पूरा गर्न खटिएँ ।  

 

मैले गरेका वाचाहरू कतिपय पूरा भइसकेका छन् भने कति अन्तिम चरणमा छन् । जस्तो कृषि क्याम्पस, काठमाडौँ विश्वविद्यालयमा एग्रिकल्चर तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पठनपाठन सुरु भइसकेको छ । खानेपानीको ठूलो समस्या रहेको नगरमा हाल समस्या समाधान हुँदै गएका छन् । सुनकोशी खानेपानी आयोजना तयारी अन्तिम चरणमा पुगेको छ । केही समयपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको पानी घर–घरमा प्राप्त गर्नेछन् । 

 

टोलटोलमा बाटो पुर्‍याउने लक्ष्यअनुसार कतिपय बाटो बजारसम्म पुगिसकेका छन् भने कति अन्तिम चरणमा छन् । भूकम्पले तहसनहस भएका विद्यालय तथा घरहरू पुनर्निर्माण भइसकेका छन् । स्वास्थ्यमा काभ्रे जिल्लामा सबैभन्दा राम्रो काम गरेको छौँ । कृषि आधुनिकीकरणका लागि यन्त्रीकरण र आधुनिकीकरणसँगै लैजाने योजनाअनुरूप एक हजारभन्दा बढी हाते ट्याक्टर वितरण गरेका छौँ । विषादी नियन्त्रण गर्न ६ सय जना अगुवा कृषकहरूलाई आइबीएम तालिम दिएका छौँ । जसमा अर्गानिक प्रेस्टिसाइड (किटनाशक) र अर्गानिक मल प्रयोग गर्न प्रोत्साहन गरेका छौँ । 

 

पाँचखाल नगरपालिकालाई काठमाडौँको अर्को विकल्पका रूपमा व्यवस्थित सहरीकहरणका लागि बाटो, खानेपानी एवं कृषकको जीवनस्तर उठाउन व्यवस्थित तथा वैज्ञानिक कृषिको अवधारणाअनुरूप जीवनस्तर उठाउने काम गरेको छु । त्यस्तै सीमान्तीकृत बस्तीमा बाटो, खानेपानीको सुविधा पुर्‍याई उनीहरूलाई राज्य रहेको या भएको अनुभुति दिलाउन पाँच वर्ष यसमै फोकस गर्‍यौँ । त्यस्तै पाँचखाल नगरपालिकामा खानेपानी समस्या समाधान भएको छ ।

 

ड्ब्लुएचओ स्ट्यान्डर्डको शुद्ध गुणस्तरीय खानेपानीका लागि हामीले एसियाली विकास बैंक र नगरविकास कोषको सहयोगमा दक्षिण एसियाकै सबैभन्दा ठूलो आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । यसको ६० प्रतिशत काम सकिएको छ । अबको ६ महिनाभित्र हामी स्थानीय जनताको घरघरमा शुद्ध खानेपानी पाउनेछन् । त्यस्तै, तत्कालका लागि डीप बोरिङ तथा नगरपालिकाभित्र भएका मूलहरूको संरक्षण गरेर खानेपानी समस्या समाधान गरेका छौँ । 

 

त्यस्तै प्रत्येक वडामा बाटोको अवस्थाअनुसार ढलान तथा कालोपत्रे नाली बनाएका छौँ । प्रत्येक टोललाई बजारसम्म पुर्‍याएका छौँ र नपुगेका तहलाई पुर्‍याउन कार्यरत छौँ । भूकम्पपछि भत्किएका संरचनाहरू निर्माण सम्पन्न भइसकेका छन् । यसमा कतिपय नगरपालिका आफ्नै सहयोगमा तथा समन्वयमा पुनर्निर्माण सकिएको हो । नगरपालिकाको भवन तथा सम्पूर्ण वडा कार्यालयहरू सम्पन्न भएका छन् । 

 

मैले आफ्नो कार्यकालमा पूरा गर्न नपाएको भनेको व्यवस्थित बस्तीका काम हुन् । यसमा हामी सुरुआती चरणमा छौँ । मैले पाँचखालमा ५ वटा स्मार्ट सिटी बनाउने सपना देखेको थिएँ, तर यो पूरा हुन पाएन । यसका लागि भर्खरै डिपिआरको काम हुँदै छ । कृषिमा हामीले चाहेअनुरूप कार्य गर्न सकेनौँ । यन्त्रीकरण र आधुनिकीकरण गर्ने योजना थियो । 

 

कम बेरुजु आउने नगरपालिकामध्ये पाँचखाल नगरपालिका पनि एक हो । देशभरि कम बेरुजु भएका नगरपालिकामा हामी चौथो नम्बरमा पर्‍यौँ । जम्माजम्मी ०.८ प्रतिशत भन्दा तल बेरुजु छ । हाम्रो कार्य प्रणालीमा कम बेरुजु, आर्थिक पारदर्शिता छ । हाम्रा जनप्रतिनिधिहरू कसैलाई पनि सवारी सुविधा छैन । गाडी किन्ने पैसाले हामीले दमकल तथा एम्बुलेन्स किनेका छौँ । जनप्रतिनिधिहरूले आफूले चढ्ने गाडीको सुविधा छाडेर जनतालाई खानेपानीको लागि पैसा छुट्यायौँ ।

 

बागमती प्रदेशको उत्कृष्ट नगरपालिका घोषित भएको नगरपालिका हो, पाँचखाल । कार्यमूल्यांकनका आधारमा हाम्रो नगरपालिकालाई बागमती प्रदेशको उत्कृष्ट नगरपालिकाको सम्मानबाट सम्मानित भएको एकमात्र नगरपालिका हो । यसमा हामी हाम्रा जनप्रतिनिधि तथा कर्मचारीहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ । हामी करदाताका पाले हौँ, यसको उचित प्रयोग गर्नुपर्छ हामीले यसको दुरुपयोग गर्नुहुन्न । हाम्रोमा प्रत्येक टेन्डर ३५ देखि ४० प्रतिशतमुनि टेन्डर भएको छ ।