मोहन बस्नेत, नगरप्रमुख, दक्षिणकाली नगरपालिका, काठमाडौं
दक्षिणकाली नगरपालिकाको अधिकांश भूभाग पहाडी छ । एक ठाउँमा १० घर छ अर्को ठाउँमा ५ घर छ । नगरबासीलाई सुविधा चाहिएको छ । मोटरबाटो चाहिएको छ तर त्यसलाई सहजै पूरा गर्न सकिएको छैन । मुख्य कुरा भौगोलिक असमानता पनि हो । हाम्रो नगरपालिकामा २४ हजार २ सय जनाको टाउको गनेर एक अर्ब रुपैयाँ कम भन्दा पैसा आउने गरेको छ । वडा–वडालाई खानेपानी पुर्याउन पर्दा ४०औँ करोड खर्च हुने गर्छ । अभाव उत्तिकै छ जनताको भावना बुझेर काम गर्नुपरेको छ ।
भूगोल ज्यादै ठूलो र नगरबासीको टाउको गनेर बजेट आउने भएकाले समस्या छ । जनगणनामा हजारौँ मात्रामा जनसंख्या बढोस भन्ने थियो तर २५ हजार भन्दा धेरै हुन सकेन । जनसंख्या नबढ्दा नगरका लागि बजेट एकदम कमै आउछ । जति आउनुपर्ने थियो अझ घटेर जाने अवस्था बनेको छ । विद्यालयका शिक्षकलाई तलब नगरपालिकाले खुवाउनुपर्छ । अब झन समस्या हुन्छ । पूर्वाधारको विकासमा र जनताले चाहेको काम छिटो ढंगले गर्न सकेको छैनौ ।
नगरबासीको पठनपाठनको विकास गर्न नगरपालिकाले यथेष्ट विकास गरेको छ । १८–२० वटा विद्यालय भवन नगरपालिकाले बनाइदिएको छ । नगरबासीका लागि आवतजावतमा सहज भनेर नयाँ बाटोदेखि पुराना बाटोको मर्मत गरिएको छ । वडा–वडामा खानेपानीको टयांकी बनाइएको छ । नगरपालिकामा हुने धार्मिक संस्कृतिलाई रक्षा गर्न वार्षिक बजेट छुट्याइएको छ । कृषिलाई प्राथमिकतामा राखी कसरी व्यवस्थित गर्न सकिन्छ भनेर ध्यान दिएकर काम गरिएको छ । विभिन्न सिपमूलक तालिम प्रदान गरियो । तर, यति भन्दै गर्दा यथेष्ट काम गर्न भने सकिएको छैन । भूगोल ठूलो जनसंख्या थोरै छ । प्राप्त हुने रकम थोरै खर्च धेरै भइरहेको छ । जनताले आशा गरेको बमोजिम विकास भएरनभएको भन्न सकिने अवस्था छैन ।
संघीय सरकारले स्थानीय तहलाई स्वायत्त बनाउन केही कञ्जुस्याइ भए जस्तो लाग्छ । स्थानीय सरकारलाई अधिकार दिनलाई कुनै पनि कञ्जुस्याइ नगरेमा प्रदेश सरकारलाई पनि टेवा दिन सक्छ । साथै संघीय सरकारको मजबुतीको लागि समेत काम गर्न सक्छ । स्थानीय तह भनेको भित्रीरूपमा नदेखिएर काम गर्ने सरकार हो । जनताको प्रत्यक्ष पीडालाई महसुस गर्ने संस्था हो । नागरिकको घाउमा मल्हम लगाउन पाएको छ । यो एकदम सकरात्मक पहल हो । संविधानको परिकल्पना अनुसार विकास गर्न खोजिएको सरकार हो । जिम्मेवारी दिएको सरकारले थोरै मेहनत गरेर काम गर्ने हो भने धेरै राम्रो छ । पाएको अधिकार प्रयोग गर्न पाएको छौ त्यसैले पनि हामीले गुनासो गर्ने ठाउँ भेटेको छैनौँ ।
नयाँ संविधान र परिकल्पनाअनुसार स्थानीय तहले काम गर्दा कतिपय कुरा खट्किएका छन् । अभावको बाबजुत पनि जनप्रतिनिधिले आफ्नो क्षमता तथा मजबुतले काम गरिरहेका छन् । आफ्नो क्षेत्रमा सकरात्मक विकासका कामहरू भइरहेका छन् । जनप्रतिनिधिको हैसियतले गरेका सबै कामहरू भन्न सकेका छैनौँ । इमान्दारीको साथ भन्नुपर्दा सबै जनताको काम गर्न लागि परिरहेका छौ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन विकासका लागि काम गरिरहेका छौँ । पूर्वाधार निर्माण गरिसकेका छौँ । केही निर्माणकै क्रममा छन् । कतिपय बाँकी नै छन् ।