close

‘नागरिकलाई घरदैलोको सरकार भएको अनुभूति दिएका छौँ’

‘नागरिकलाई घरदैलोको सरकार भएको अनुभूति दिएका छौँ’

Trulli
ADVERTISEMENT

मोहनमाया ढकाल, उपप्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत 

 

स्थानीय सरकार जनताको घरदैलोको सरकार हो। स्थानीय तहले सबै काम गर्नुपर्छ भन्ने जुन जनबुझाइ छ त्यो बुझाइले हाम्रा सीमित स्रोत साधनले चाहना हुँदाहुँदै पनि कतिपय काम गर्न सकिएन । तर पनि हामीले नागरिकलाई घरदैलोको सरकार अनुभूति दिनेगरी काम गरेका छौँ । कतिपय अवस्थामा नागरिकले धेरै ठूला अपेक्षा पनि राखेका छैनन् ।  घरअगाडिको खाडल छ भने पुरियोस्, हिलो छ भने गिट्टी बालुवा ल्याएर हालियोस् । सहज होस् । घरनजिकैका विद्यालयका टिनका पाता चुहिएका छन् भने टिनको पाता फेरियोस् । यस्ता खालका हेर्दा सामान्य लाग्ने धेरै महत्व राख्ने, नागरिकका मन छुने खालका धेरै हुने रहेछन् ।

 

ग्रामीण क्षेत्रका नागरिकले के भन्नुहुन्छ भने हामीलाई अरु केही चाहिँदैन विद्यालयको टिनको छानो फेरिदिनुपर्‍यो भन्नुहुन्छ । टिनको छानो फेर्न स्थानीय सरकारलाई समस्या होइन तर त्यहाँका नागरिकका लागि धेरै ठूलो कुरा हो नि । विद्यार्थीहरू कक्षा कोठामा नभिजेर सुरक्षितसँग बस्न सक्छन् । त्यसकारण त्यस्ता खालका अपेक्षाहरू पनि पायौँ । अपेक्षाहरू हाम्रा स्रोत र साधनले भ्याएसम्म हामीले धेरै पूरा गर्ने प्रयास गर्‍यौँ । तर सबै अपेक्षाहरू पूरा भए भन्ने चाहिँ होइन । सबै ठाउँमा चाहेअनुसार हुन सक्दैन । मन हुँदाहुँदै पनि कहिले सीमित स्रोतसाधन हुँदा हामीलाई गाह्रो साह्रो पर्छ । तर पनि सकेसम्म स्रोत साधनको उचित प्रयोग गरेर न्यायोचित वितरण गरेर त्यसलाई पूरा गर्नुपर्छ भनेर अगाडि बढेका छौँ ।

 

नेपालमा संघीयताले गर्दा विकासमा केही फड्को मारेको हामी जनप्रतिनिधिहरूले अनुभव गरेका छौँ । जस्तो स्थानीय तह छ, यसले आफैँ बजेट बनाउँछ, नीति नियम बनाउन पाउँछ र कार्यान्वयन पनि गर्न पाउँछ । यसले गर्दा आवश्यकताअनुसार बजेट विनियोजन पनि भएको छ । आफ्नो एउटा गाउँपालिका नगरपालिकाभित्र कहाँनेर कुन कुरालाई विकासमा प्राथमिकता दिने कसरी पालिकाको समग्र विकास गर्न पाउने पालिकाका जनप्रतिनिधिले गर्न पाएका छन् र घरदैलोमा नै सरकार आएको अनुभूति नागरिकहरूले गर्न पाएका छन् । जस्तो नागरिकताहरू लिँदा जिल्लामा धाउनुपथ्यो । अहिले वडाबाट काम भएको छ । राजस्व आफ्नै वडामा बुझाउन पाएका छन् । घर वरिपरिका समस्या स्थानीय तहमा आएर राख्न पाएका छन् । यसले गर्दा जननिर्वाचित प्रतिनिधि र नागरिकबीच दैनिकजसो भेटघाट पनि हुन्छ । त्यसकारण संघीय व्यवस्था आफैँमा नराम्रो होइन, यसलाई हामी कसरी बुझ्छौँ र बुझाउँछौँ भन्ने हो । समग्रतामा अहिले गाउँ—गाउँ, बस्ती—बस्तीमा विकास अघि बढेको छ, यो संघीयताको कारणले हो भन्ने हाम्रो बुझाइ रहेको छ । 

 

‘शैक्षिक प्रशासन र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ समुन्नत वीरेन्द्रनगर’ भन्ने हाम्रो नारा रहेको छ । त्यो नाराअनुसार हामी अघि बढेका छौँ । वीरेन्द्रनगर नगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्छ भनेर हामीले पूर्वाधारका क्षेत्रमा यहाँका सामुदायिक विद्यालयहरूका भौतिक पूर्वाधारहरू निर्माणदेखि लिएर शिक्षाको गुणस्तरलाई विशेष जोड दिएका छौँ । नगरपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरेर पनि अघि बढ्दै छ । १० वर्षीय शैक्षिक रणनीति बनाएर पनि अघि बढ्दै छ । नगरपालिकालाई प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने हाम्रो योजना चाहिँ वीरेन्द्रनगर प्रदेशकै राजधानी भएको हुनाले पनि अघि बढाएका छौँ ।  काँक्रेबिहार र बुलबुले र देउतीबज्यै जस्ता यहाँका पर्यटकीय स्थलको विकास गरेर नागरिकको जीवनस्तर उकास्ने काममा जोड दिएका छौँ । साबिकको वीरेन्द्रनगरका प्लानिङ एरिया थियो ती बाटाहरू सबै कालोपत्रे भएका छन्, कोही हुँदै छन् ।

 

चक्रपथ निर्माणको काम धेरै अगाडि बढिसकेको छ ।  अहिले हामीले रत्नराजमार्ग भन्दा दक्षिणको बाटोमा  रहेको जग्गामा नयाँ कित्ताकाट गर्दा १० मिटरको बाटो अनिवार्य कायम राख्नुपर्ने व्यवस्था भएपछि अहिले सुधार भएको छ । नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको छ । त्यहाँ दुईजना विशेषज्ञ डाक्टरको व्यवस्था गरेका छौँ । यस अस्पताललाई विशेष गरेर  महिला बालबालिका तथा प्रसूति सेवासँग सम्बन्धित अस्पतालका रूपमा विकास गर्न खोजेका छौँ । हरेक वडामा हाम्रा स्वास्थ्यचौकी छन् । सबै वडा र स्वास्थ्यचौकीका आफ्नै भवन छन् । सामाजिक क्षेत्रमा पनि काम गरेका छौँ । नगरपालिकाभित्र जुनसुकै संरचना बन्दा पनि अपांगमैत्री बन्नुपर्छ । नत्र हामीले नक्सापास दिएका छैनौँ । सेभहाउस निर्माणको अन्तिम चरणमा छ  ।

 

सेभ हाउसलाई हामीले वीरेन्द्रनगरका मात्र नभई कर्णाली प्रदेशभरीकै दिदीबहिनीले पनि भोलि वीरेन्द्रनगरमा आएर सेवा लिएर जान सक्ने हुनुपर्छ । अभिभावकीय नगरपालिका भएको नाताले भन्ने योजना बनाएका छौ । महिलाका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेका छौँ । महिला स्वरोजगार कार्यक्रम, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे कार्यक्रम पनि एकदमै प्रभावकारी देखिएको छ । समग्रमा वीरेन्द्रनगर नगरपालिका चाहिँ एउटा कर्णालीकै अभिभावकीय नगरपालिकाका रूपमा विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसलाई बेलाबखतमा हुने कुराहरूमा काम पनि गरेका छौँ । जस्तै कोभिडका बेला कर्णालीका साढे सात हजार नागरिकलाई खाना खुवाएर गन्तव्यमा पुर्‍याएका पनि छौँ । यहाँ रहेको बागीनामा आश्रयस्थल बनाएका थियौँ । धेरै ठाउँबाट आएका व्यक्तिलाई कोभिडको बेलामा क्वारेन्टाइन र आइसोलेसनमा राखेर पठाएका पनि छौँ । नगर अस्पतालबाट नगरपालिका मात्र नभएर अन्य क्षेत्रबाट आउनुभएका दाजुभाइ दिदीबहिनीलाई पनि सेवा दिएका छौँ । सबैभन्दा ठूलो कुरा नगरपालिकाले हामी निर्वाचित भएर आइसकेपछि सरकारका रूपमा सञ्चालनका लागि संविधानले दिएको र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारअनुसार कानुनहरू चाहिँ निर्माण गरेका छौँ ।