लोकबहादुर बोहरा, अध्यक्ष मेल्लेख गाउँपालिका, अछाम
मेल्लेख गाउँपालिका–३, ठाँटीका स्थानीयसँग आफूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा थिएन । २०४६ सालदेखिनै लालपुर्जा दिने भन्दै नापनक्सा भएपनि नागरिकले आफूले भोग गर्दै आएका जग्गाको लालपुर्जा पाउन सकेका थिएनन् । मैले चुनाव प्रचार गर्न जाँदा जसरी भोट माग्न आएको छु, त्यसैगरी घरघरमा पुगेर लालपुर्जा दिन्छु भनेर बाचा गरेको थिएँ । जब गाउँलेलाई घरघर पुगेर लालपुर्जा दिएँ, तब मेरो मन हलुंगो भयो।
मेल्लेख गाउँपालिकामा ४३ सामुदायिक विद्यालय छन्। स्थानीय सरकार आएपछि वडा नम्बर ७ मा रहेको दुर्गादेवी उच्च माध्यमिक विद्यालयमा आइएससी–एजी पढाइ सुरू भएको छ। त्यस्तै, वडा नम्बर ६ को नन्देश्वरी उच्च माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरिङ तीनवर्षे सब-ओभरसियर पढाइ सुरू भएको दुई वर्ष भइसकेको छ।
गाउँमै प्राविधिक विषय पढाइ हुन थालेपछि मेल्लेखका किशोर–किशोरी, खासगरी विपन्न परिवारका विद्यार्थीलाई सुविधा भएको छ। पहिला यी विषय पढ्न धनगढी, काठमाडौं लगायत सहर पठाउनुपर्थ्यो। अभिभावकहरू आफ्ना छोराछोरीलाई यी विषय पढाउन कमै रूचि राख्थे।
गाउँपालिकाले यस्ता प्राविधिक विषय पढाउन आफैंले केही शिक्षकलाई तलब दिने गरी राखेको छ। यी विषयमा उत्कृष्ट हुने विद्यार्थीलाई पालिकामै जागिर दिने ग्यारेन्टी पनि गरिएको छ । पढाइको स्तर बढाउन गाउँपालिकाले जनशक्ति अभाव भएका विभिन्न स्कुलमा ६३ जना शिक्षकलाई आफैंले तलब दिने गरी राखेको छ।
मेल्लेखका वडा नम्बर १ र २ अरू वडाभन्दा भौगोलिक रूपले दुर्गम छन्। पहिले यहाँका विद्यार्थीले उच्च शिक्षाका लागि कासागाड खोला तरेर अन्य वडामा जानुपर्थ्यो। त्यो कठिनाइ चिर्न गाउँपालिकाले यी दुवै वडाका विद्यार्थीलाई पायक पर्ने चण्डिका माध्यमिक विद्यालयमा १२ कक्षासम्म पढाउने अनुमति दिनुका साथै शिक्षक–शिक्षिकाको व्यवस्था गरिदियो। वडा नम्बर ८ को कालिका माध्यमिक विद्यालयमा पनि १२ कक्षासम्म पढाउन अनुमति दिइएको छ।
मेल्लेख गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पनि लिएको छ। उनीहरूको कापीकलम, झोला, पुस्तक, ड्रेस र पढाइको सबै खर्च गाउँपालिकाले नै बेहोर्ने गरेको छ । गाउँपालिकाले आफ्नै खर्चमा एमबिबिएस पढाउन बजेट पनि विनियोजन गरेको छ। एक÷एक जना दलित, महिला लगायत लक्षित वर्गबाट उच्च शिक्षाको छात्रवृत्ति दिन बजेट छुट्याएका छौं, कसैले आर्थिक अभावका कारण पढ्न नसक्ने भए आउनुस्, पढ्नुस् भनेका छौं।
विद्यालय भवनको स्तरोन्नतिका लागि पुराना कर्कटपाताका छाना विस्थापित गर्ने अभियान पनि गाउँपालिकाले चलाएको छ। ५१ वटा चारकोठे पक्की भवन बनाएर विद्यालयहरूलाई हस्तान्तरण गरिएको छ।
चार वर्षअघिसम्म मेल्लेखमा राम्रो बाटो थिएन। भएका केही बाटा वर्षैभरि हिलाम्मे हुन्थे। एक÷दुईवटा वडामा ट्रयाक्टर मात्र पुग्थे। अहिले गाउँपालिकाको सीमादेखि प्रशासनिक कार्यालयसम्म साढे १० किलोमिटर सडक कालोपत्रे हुँदैछ। आठवटै वडा कार्यालय गाडीमा पुग्न सकिन्छ। वडा नम्बर ४, ५, ६, ७ र ८ मा त बर्खामा पनि गाडी जान्छ। वडा १, २ र ३ मा भने बूढीगंगा नदीमा पुल नभएर गाडी चल्दैनन्।
पालिकाले आफ्नै लगानीमा वडा ६ र ७ बाट साँफेबगरसम्म जाने बससेवा सुरू गरेको छ। भाडादर पनि अरू ठाउँभन्दा सस्तो छ। ती बसमा जिपिएस ट्रयाकिङ र इ–टिकेटिङको सुविधा छ। इ–टिकेटिङ भने कार्यान्वयनमा आइसकेको छैन। काठमाडौंमा देखेर त्यस्तै गर्न खोजेको, दुइटा बसलाई ६८ लाखजति पर्यो, यसमा दुई जना चालक र दुई जना हिसाबकिताब गर्ने कर्मचारी छन् । बसबाट उठेको पैसा दैनिक कार्यालयमा आउँछ। यो कमाइलाई गाउँपालिकाले आन्तरिक आम्दानी मानेको छ। बस चलाउन, मर्मत गर्न र काम गर्नेलाई तलब दिन पनि यही पैसा खर्च हुन्छ। बर्खामा बाटो बिग्रे तत्काल मर्मत गर्न गाउँपालिकाको आफ्नै डोजर छ। स्थानीय बस सेवा गाउँपालिकाको नमूना काम हो । चर्को मूल्य तिरेर जिपमा यात्रा गर्नेलाई बस सेवाले सहज भएको छ।
गाउँपालिकाले आफ्नै जग्गामा २५ लाख रूपैयाँ बराबरको नमूना किवी खेती सुरू गरेको छ। त्यस्तै, एक करोडभन्दा बढी खर्च गरेर वडा १, २ र ६ मा भैंसीपालन कार्यक्रम सञ्चालन गरिरहेको छ। वडा ७ र ८ मा बाख्रापालन गरिएको छ।
गाउँपालिकाले एमबिबिएस डाक्टरसहित १५ शैय्याको अस्पताल सञ्चालन गरेको छ । यो अस्पताल गाउँपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको हो। यहाँ एमबिबिएस डाक्टरसहित दुई जना स्टाफ नर्स र इसिजी, भिडियो एक्सरे लगायत सुविधा छन्। गाउँपालिकाले एम्बुलेन्स पनि किनेको छ। गाउँपालिकाले दुर्गममा पर्ने २ नम्बर वडामा पनि स्वास्थ्य चौकी स्थापना गरेको छ। बर्थिङ सेन्टर पनि नयाँ बनेका छन्। अपांगता भएका बालबालिकालाई अस्पताल ल्याउने र पुर्याउने काम निःशुल्क गर्ने गरिएको छ ।
स्थानीय तह हुनुअघि साफेबगरसँग जोडिएको एक गाउँबाहेक मेल्लेखमा राष्ट्रिय विद्युत लाइन थिएन। अहिले ५, ६, ७ र ८ वडामा विद्युत विस्तार भएको छ। वडा नम्बर ४ मा ट्रान्सफर्मर राखिएको छ। १, २ र ३ मा पनि विद्युत विस्तारको काम भइरहेको छ । सबै वडामा विद्युत बालेर कार्यकाल सक्ने मेरो लक्ष्य छ । गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन पुर्याउन मेल्लेख गाउँपालिकाले बर्सेनि लाखौं बजेट छुट्याउँदै आएको छ ।
सूचना प्रविधिमा सरकारले गरेको एक सर्वेक्षणमा मेल्लेख गाउँपालिका देशभरमै नवौं स्थानमा छ। गाउँपालिकाले आफ्ना हरेक सूचना, बजेट तथा कार्यक्रम सबैले हेर्न सक्ने गरी छुट्टै कोठा बनाएर कम्युटरसहित राखिदिएको छ।
स्थानीय तह आउँदा पहिलो वर्ष यस गाउँपालिकाको आयस्रोत जम्मा सात लाखको थियो। त्यसमध्ये तीन लाख मात्रै उठाउन सकिएको थियो। अहिले त्यो बढेर ३२ लाख उठाउन सफल भएको छौँ । हामीकहाँ उद्योग छैन, गिटी, बालुवा छैन, डोजरको आम्दानी, बसको आम्दानी नै हाम्रो स्रोत हो ।
गाउँपालिकामा हरेक वडाबाट ८ जना गरी ६४ जना शिक्षकले रोजगारी पाएका छन्। त्यस्तै, १७ जना स्वास्थ्यकर्मी, पाँच जना बस कर्मचारी, एक जना एम्बुलेन्स चालक, दुई जना डोजर, दुई जना कृषि र एक जनाले आइएससी-एजीमा रोजगारी पाएका छन्।