सप्तरी–सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा कम्युनिस्ट पक्षधर जनप्रतिनिधि आन्दोलित भएका छन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएको वडामा अधिकांश योजना दिइएको भन्दै माओवादी र एमालेबाट निर्वाचित जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरू सोमबार गाउँपालिकामा डेलिगेसन गए ।
माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर २ का वडाध्यक्ष पशुपतिप्रसाद चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष अरुणकुमार चौधरी र एमालेबाट निर्वाचित वडा नम्बर ६ का वडाध्यक्ष कुसुम आचार्यको नेतृत्वमा वडा सदस्य गाउँपालिकामा डेलिगेसनमा सहभागी गएका हुन् । आन्दोलनरत जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवलाई भेटेर विभिन्न माग राख्दै सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए ।
गाउँपालिकाद्वारा आइतबार प्रकाशित सूचनामा पालिका स्तरीय १९ वटा योजनामध्ये कांग्रेस निर्वाचित वडा नम्बर १ र ४ मा ५–५, वडा नम्बर ५ मा ४ वटा गरी १४ योजना र वडा नम्बर २ र ३ लाई २–३ वटा र वडा नम्बर ६ लाई १ गरी ५ वटा योजानाका लागि उपभोक्ता समिति गठन गर्न सूचित गरेको आन्दोलनरत वडा नम्बर ३ का वडाध्यक्ष अरुणकुमार चौधरीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत यादवले कार्यपालिका बैठक राखेर माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले पटक–पटक योजनामा भेदभाव गरेकाले आन्दोलन गर्न बाध्य भएको वडा नम्बर २ का वडाध्यक्ष पशुपति चौधरीले बताए ।
अध्यक्ष चौधरीले कांग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई अधिकांश योजनाको ठेक्का दिने गरेको र सम्पूर्ण योजना अलपत्र राखेको, गाउँपालिकामा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको, कम्युनिस्ट निर्वाचित वडामा सम्पन्न योजनाको भुक्तानी दिन आलटाल गरेको, पालिकाबाट खरिद गरिएको ह्युुम पाइप, ग्राभेल अध्यक्षले भण्डारण गरेर आवश्यक स्थानमा नदिई कार्यकर्तालाई बाँडेको, सरकारी गाडीको दुरुपयोग गरेको आन्दोलनरत जनप्रतिनिधिको आरोप छ ।