नेत्रराज अधिकारी
नगरप्रमुख, शिवराज नगरपालिका, कपिलवस्तु
कोरोना महामारी सुरु हुँदा हल्लै हल्लामा धेरै डराइयो । नयाँ भाइरस भएकाले यसको जानकारी कसैलाई पनि थिएन । हामीले सबै नाका बन्द गरायौँ । भारतबाट आउनेको संख्या धेरै थियो । हामीले धेरै ठाउँमा क्वारेन्टाइन बनायौँ ।
बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखेर मात्रै पठायौँ । संक्रमितलाई राख्न आइसोलेसन बनायौँ । कतिपय संक्रमितलाई हामीले ५० दिनसम्म पनि राखेका छौँ । पहिलो भन्दा हामीलाई दोस्रोमा केही कुरामा सहज र केहीमा असहज भयो । नगरका आइसोलेसन तयार भएकाले दोस्रोमा पुराना आइसोलेसन प्रयोग ग र्यौँ । ३० बेडको अस्थायी अस्पताल बनायौँ । तर, यस पटक अक्सिजन अभाव भइदियो ।
हामीले सक्नेलाई आफ्नै अस्पतालमा उपचार गरायौँ । केही जटिल अवस्था भएकालाई बुटवलसम्म पठायौँ । पहिलो लहरमा अक्सिजनको यस्तो आवश्यकता नभएकाले महत्त्व दिएका थिएनौँ । तर, दोस्रोमा धेरै अभाव खड्कियो ।
हामीले बुटवल, भैरहवाबाट अक्सिजन ल्याएर संक्रमितको उपचार गरेका छौँ । तर, दुःखका साथ भन्नुपर्छ, हामीले अक्सिजन अभाव हुन नदिने प्रयत्न गर्दागर्दै पनि कतिपय बिरामीलाई बचाउन सकेनौँ । यस्तो संकट अभावमा पनि संघले केही सहयोग गरेन । प्रदेशले के छ भनेर सोध्यो मात्रै । सहयोग भने केही गरेन । अन्यत्र छुट्याएका सबै स्रोतलाई कोभिडमा प्रयोग गर्यौँ।। जनशक्ति अभाव थियो ।
नगरपालिकाकै स्रोतबाट दुई जना कर्मचारी, डाक्टर राखेर सेवा दियौँ । हाम्रो अहिलेसम्म करिब ३ करोड रुपैयाँ खर्च भइसकेको छ । सरकारले दिन्छौँ भनेर घोषणा गरेको रकमसमेत पाएनौँ । अहिले हामीसँग धेरै अनुभव पनि भयो । जनशक्ति पनि भएकाले तेस्रो लहरका लागि तयारी अवस्थामै छौँ । संघले ल्याएको बजेटलाई नराम्रो भन्न मिल्दैन । पुरानै खाले छ । नयाँपन छैन । निर्वाचित भएर आएको यो अवधिमा थुप्रै काम गरेका छौँ ।
शिक्ष क्षेत्रमा नगरमा ६४ वटा सामुदायिक विद्यालय थिए । सबै विद्यालयमा शिक्षक÷विद्यार्थी अनुपातमा असमानता थियो । त्यसलाई सुधार्यौँ। विद्यालयको भौतिक संरचना निर्माण गर्यौँ। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकी थिएनन् । अहिले हामीले सबै वडमा सेवा दिने गरी स्वास्थ्य चौकी स्थापना गरेका छौँ । यातायात क्षेत्रमा चार वर्षको अवधिमा ७० किमि कालोपत्रे र १ सय २० किमि ग्राभेल गरिसकेका छौँ ।
सुकुम्बासी र विपन्न ४ सय ४० वटा घरको फुसको छानो हटाएर टिनको छाना लगाइदिएका छौँ । कृषि क्षेत्र भएकाले सिँचाइका लागि पम्पसेट गाड्ने र कृषि सामग्री वितरण गरेका छौँ । यो वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । त्यसपछि शिक्षा र कृषि पनि प्राथमिकतामा परेका छन् । यो अवधिमा हामीले विविध कारणले धेरै काम गर्न सकेनौँ ।
नगरपालिकालाई वातावरणीय नगरी बनाउन सकिएन । योजनाअनुसार चक्रपथ बनाउन सकेनौँ । शिक्षा क्षेत्रमा पनि सोचेजस्तो सुधार गरेर गुणस्तरीय बनाउन सकिएन । कानुन बनाउन हामीलाई एक जना कानुन अधिकृतसम्मको दरबन्दी दिइएको छैन । कर्मचारी, बजेट, आन्तरिक स्रोत अभावका कारण अपेक्षाअनुरूप नागरिकका काम गर्न सकिएन ।