close

संघको बजेट पाउन पहुँच चाहिने रहेछ

संघको बजेट पाउन पहुँच चाहिने रहेछ

Trulli
ADVERTISEMENT

सञ्जयकुमार तुम्बाहाङफे
नगरप्रमुख, म्याङलुङ नगरपालिका, तेह्रथुम 


म्यागलुङ नगरपालिकामा निर्वाचित भएर आएपछि नगरको विकासका लागि थुप्रै काम गर्‍यौँ। स्वास्थ्य, शिक्षा, र कृषिमा जोड दियौँ । सुक्खा क्षेत्र भएकाले सिँचाइ सुविधा पुर्‍याएका छौँ । खानेपानी अभाव थियो । अहिले सबै ठाउँमा खानेपानी पुर्‍याएका छौँ । स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन विपन्न लक्षितका लागि एम्बुलेन्सलाई निःशुल्क गरेका छौँ । कृषि उत्पादन भण्डारण गर्न २० मेट्रिक टन क्षमताको ‘कोल्ड स्टोर’ बनाएका छौँ । नगरमा रिङरोड निर्माण भएको छ । पर्यटन प्रवद्र्धनका लागि केही काम भएका छन् । 


कानुन क्षेत्रमा नगरपालिकाले करिब ३३ वटा कानुन निर्माण गरिसकेको छ । खानेपानी, कृषि, भूमि, वन शिक्षालगायत क्षेत्रका कानुन बनेका छन् । तर, संघ र प्रदेशले कानुन नबनाइदिएकाले वन र भूमिलगायत कानुन लागू हुन सकेनन् । ‘थुप्रै कानुन बनाएका थियौँ,’ उनले भने, ‘तीमध्ये धेरै कानुन साझा अधिकारका भएकाले संघ र प्रदेशको कानुन निर्माण नहुँदा हामीले बनाएका कानुन लागू नहुने भएका छन् ।’ संघले कानुन बनाउने बाटो खुलाइदिए सहज हुने थियो । 


यो वर्षको बजेटमा पनि कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेका छौँ । ‘यो वर्षको बजेट अन्तिम हो,’ उनले भने, ‘धेरै कुरा पुरानै कार्यक्रमको निरन्तरता छ । त्यसबाहेक सबैभन्दा मुख्य प्राथमिकतामा कृषिलाई राखेका छौँ ।’ यसबाहेक पूर्वाधार, खानेपानी र सामाजिक विकाशका कार्यक्रम समावेश गरेका छौँ । 


चुनावताका नागरिकसमक्ष प्रतिबद्धता व्यक्त गरेका कतिपय काम गर्न सकिएन । सडक पूर्वाधार र स्वास्थ्यमा धेरै काम गर्न सकिएन । ‘हामीले ठूला सिँचाइ योजना र सडक कालोपत्रे गर्न सकेनौँ,’ उनले भने, ‘ठूलो योजना निर्माण गर्न संघीय मन्त्री हुँदा मात्रै सम्भव रहेछ ।’ संघको बजेट पनि पहुँच भएकाले मात्र पाउँदा रहेछन् । संघीय मन्त्री, सांसद भएतिर मात्रै बजेट धेरै जाने गरेको देखियो । 


संघले पठाएको बजेट तलबभत्तामै सकिने गरेको छ । ‘संघले पठाएको बजेट जम्मै कर्मचारी, शिक्षकको तलब भत्तामै सकिन्छ,’ उनले भने, ‘पहुँच हुनेकोमा मात्रै विकास बजेट पठाइएको छ । यस्तो पाराले कसरी काम गर्ने ?’ कोरोना नियन्त्रणमा पनि संघ सरकाले बजेट दिएन । 


कोरोना नियन्त्रणमा दुई वटा विद्यालयमा क्वारेन्टाइन, २० बेडको आइसोलेसन निर्माण गर्‍यौँ। दोस्रो लहरमा अक्सिजन अभावले अलि समस्या भयो । त्यहाँ उपचार नभएका बिरामीलाई नगर अस्पतालको एम्बुलेन्स प्रयोग गरेर बिरामीलाई उपचारका लागि जिल्ला बाहिरसमेत पठायौँ । नगरपालिकाभित्र जिल्ला अस्पतालमा भएकाले त्यहाँको जनशक्ति र स्वास्थ्य चौकीका कर्मचारीलाई प्रयोग गरेर संक्रमितको उपचार, हेरचाह गर्‍यौँ। ‘सदरमुकामको नगरपालिका हो हाम्रो,’ उनले भने, ‘यहाँ जिल्ला अस्पताल पनि भएकाले जनशक्ति अभाव भएन । भएका सबै स्वास्थ्यकर्मीलाई खटायौँ ।’ कोभिड नियन्त्रणमा भएको खर्च सबै स्थानीय सरकारको बजेटबाटै गर्‍यौँ । संघबाट केही सहायता नभए पनि प्रदेश सरकारले पिपिई र स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री पठाइदिएको थियो ।