देवनाथ साह, नगरप्रमुख
गोलबजार नगरपालिका, सिरहा
गोलबजार नगरपालिकाका अधिकांश नागरिक रोजगारका लागि भारतलगायत अन्य मुलुक जाने गर्छन् । कोभिडको संक्रमण नेपालमा भित्रिँदा पनि नगरबासी धेरैजसो बाहिरै थिए । भारतमा संक्रमणको दर तीव्र भएपछि उनीहरूको नेपाल फर्कने लहर चल्यो । उनीहरू एक पटक गाउँ आउँदा कोभिड फैलिने डर थियो । हाम्रा लागि यो ठूलो चुनौती थियो ।
बाहिरबाट आएका मानिसलाई राख्न क्वारेन्टाइन बनायौँ । हस्पिटलमा आइसोलेसन बनायौँ । एक घर एक पिसिआरको आधारणाले परीक्षण बढायौँ । संक्रमितलाई अस्पतालको आइसोलेसन पठायौँ । तर, नागरबासी अस्पताल पठाउँदा दुःखी भए । अस्पतालमा बिरामीलाई मानिसजस्तो व्यवहार नभएको उनीहरूको गुनासो सुन्यौँ । बाटो बनाउने सट्टा अस्पताल बनाउने सल्लाह दिए ।
कार्यपालिकाको बैठक राखेर कोभिड नियन्त्रणका लागि वडामा पठाएको बजेट तुरुन्त फिर्ता ल्यायौँ । ५१ लाख रुपैयाँ अस्पताल भवन बनाउन छुट्यायौँ । दानमा जग्गा पायौँ । २५ बेडको आफ्नै अस्पताल बनायौँ । संक्रमित आफ्नै नगर अस्पतालमा उपचार पाएर फर्किंदा खुसी भएर धन्यवादसमेत दिए ।
दोस्रो लहर आउँदा नगरभित्र १३ जनाको मृत्यु भयो । यो अवधिमा काम गर्न कतैबाट सहयोग भएन । पहिलो लहरमा प्रदेश सरकारले १५ लाख रुपैयाँ पठाएको थियो । संक्रमितको हेरचाह र उपचारका लागि आफ्नै कर्मचारीलाई दोब्बर तलब दिएर काममा लगायौँ । डाक्टर, नर्स पनि आफैँ राखेका छौँ । विभिन्न संघ–संस्थाबाट सहयोग पाइयो ।
संघीय सरकारले कोभिडको लागि १ करोड रुपैयाँ दिएको थियो । तर, त्यसले सबै पुग्ने अवस्था भएन । कोभिड अस्पताल सञ्चालनका लागि डाक्टर पनि राख्यौँ । अहिले पनि तलब भत्ता तिर्नुपर्ने अवस्था छ । यसलाई स्थायी अस्पतालको रूपमा लैजान खोजिरहेका छौँ । यो चार वर्षको अवधिमा कोभिडले केही अवरोध पु¥याए पनि नगरमा धेरै काम भएका छन् । चुनावमा भोट माग्न जाँदा धेरै ठाउँमा गाडी नगएर हिँडेरै गएका थियौँ । अहिले ती ठाउँमा सडक पुगिसकेको छ । करिब २२ किमि कालोपत्रे गरिसकेका छौँ । ५२ किमि निर्माण प्रक्रियामा छ । शिक्षा क्षेत्रमा पनि केही काम गर्यौँ । तर, कोभिडले शिक्षा क्षेत्रलाई १० वर्ष पछि धकेलिदियो । विद्यालय भवन निर्माण गर्यौँ । नमुना विद्यालय बनायौँ । १७ वटा विषय पढाउने गरी कलेज स्थापना गर्यौँ । अहिले नगरपालिका र सिटिइभिटीको सहयोगमा बिएस्सी एजी र पोलिटेक्निकल पढाउन सुरु गरेका छौँ । नगरमा फुटबल ग्राउन्ड बनाएका छौँ । कृषि क्षेत्रका लागि ३ सय ७४ वटा बोरिङ गाडेका छौँ । किसानलाई धान काट्ने मेसिन र जोत्ने मेसिन ५० प्रतिशत अनुदानमा दिएका छौँ । १ सय ६५ बिघा जग्गा दिएर कृषि अनुसन्धान केन्द्र निर्माण गरिरहेका छौँ । नगरलाई आवश्यक कानुन २०/२२ वटा निर्माण भइसकेका छन् । तर, संघ र प्रदेशले साझा अधिकारका कानुन नबनाएर हामीले सबै कानुन बनाउन सकेका छैनौँ ।
नगरपालिका ग्रामीण क्षेत्र भएकाले यस वर्ष पनि कृषिलाई जोड दिएका छौँ । यस वर्षको कार्यक्रममा प्रत्येक चार बिघा जमिनमा एउटा बोरिङ पुर्याउने योजना राखेका छौँ । नगरभित्रको उत्पादन नगरपालिकाले खरिद गरेर बिचौलियालाई निरुत्साहित गर्ने काम पनि गरेका छौँ ।
यो अवधिमा हामीले घोषणा गरेका काम धेरै बाँकी छन् । कतिपय पूरा भइसकेका छैनन् । हामीले मुख्य गोलबजारमा होलसेल पसल बनाइदिने घोषणा गरेका थियौँ । त्यो अझै बनाउन सकिएको छैन ।