लवशेर विष्ट, नगरप्रमुख
थाहा नगरपालिका, मकवानपुर
संघीय सरकारले कोरोना महामारी नियन्त्रण गर्न लकडाउन गरेपछि हामीले समिति बनायौँ । यो समितिले नगरभित्र कोभिड नियन्त्रणमा काम गर्यो । हाम्रो नगर छुने नाका धादिङ, चन्द्रागिरिलगायत ठाउँमा हेल्थ डेस्क राख्यौँ । बाहिरबाट आउने मान्छेलाई ‘ट्राभल हिस्ट्री’ हेरेर क्वारेन्टाइनमा राख्यौँ । क्वारेन्टाइनमा राखेका मानिसको पिसिआर गर्न हाम्रोमा सम्भव थिएन । त्यसका लागि धुलिखेल, टेकु र हेटौँडासम्म पठाउनुपर्ने बाध्यता थियो । बन्दाबन्दीको समय नगरभित्रका नियमित औषधी सेवन गर्ने मानिसका लागि हामी आफैंले खरिद गरेर पुर्याउने व्यवस्था गर्यौँ ।
संक्रमितका लागि होटलमा २५ बेडको आइसोलेसन निर्माण गरियो । त्यहाँ बिरामी हेर्न डाक्टर, नर्स, एचए र अनमीको सेवा उपलब्ध गरायौँ । आइसोलेसनमा बसेका बिरामीका लागि खान दुई जना भान्से राखेर काम गरायौँ ।
देशका विभिन्न भागमा अलपत्र परेका नगरबासीलाई नगरको आफ्नै गाडी व्यवस्था गरेर क्वारेन्टाइनमा ल्याएर राख्यौँ । जिल्लामै पहिलो संक्रमित थाहा नगरमा भेटिएका थिए । त्यसपछि हामीले परीक्षणको दायरा बढायौँ ।
दोस्रो लहरमा भने लकडाउन भएपछि एक पटक थुप्रै मानिस बाहिरबाट आए । हामीले डाटा राख्न सकेनौँ । समुदायमा संक्रमण एकै पटक सबैतिर फैलियो । तर, हामीले वडा स्तरमा समिति निर्माण गर्यौँ । पुराना आइसोलेसन पुनः सुचारु गर्यौँ । हरेक बेडमा अक्सिजन कन्सन्ट्रेटरसहितको व्यवस्था गर्यौँ । संक्रमितको हेरचाहका लागि पुरानै जनशक्ति परिचालन गर्यौँ। बिरामीलाई राम्रो खाना व्यवस्था गरेर उपचार गराएर घर पठाएका छौँ । होम आइसोलेसनमा पनि बस्ने भएकाले सबै संक्रमितलाई नगरको आइसोलेसनमा राखेनौँ ।
अघिल्लो चरणमा संघ र प्रदेशले पनि हाम्रो गतिविधि अनुगमन गरेका थिए । तर, हामीलाई संक्रमितको परीक्षण, उपचारलगायत विषयमा समन्वय र सहयोग भएन । अक्सिजन व्यवस्थापन गर्न असहज भएको थियो । जनशक्तिको समस्या थियो । तर, यी कुरामा संघ र प्रदेशको केही भूमिका रहेन । हामीले तीन जना डाक्टरलाई आफ्नै खर्चमा राखेर संक्रमितको उपचार गरायौँ । तेस्रो लहर आउने हल्लाले अक्सिजनको व्यवस्थापनसहित आइसोलेसन तयारी अवस्थामै राखेका छौँ ।
कोरोनाले नगरका विकास योजनालाई केही बाधा पु¥याए पनि यो चार वर्षमा धेरै काम गरिसक्यौँ । हाम्रो नगर आलु उत्पादनको क्षेत्र हो । यहाँको उत्पादन काठमाडौंलगायत नजिकका सहरमा खपत हुन्छ । तर, हाम्रो क्षेत्रमा ‘कोल्ड स्टोर’ नहुँदा उत्पादित तरकारी आलु भण्डारण गर्न समस्या थियो । अहिले २३ सय मेट्रिक टन आलु राख्न सकिने कोल्ड स्टोर बनाउँदै छौँ । दुई वटा मोटर कुदाउन मिल्ने पुल निर्माण गरिसकेका छौँ । दुई वटा झोलुंगे पुल बनाइसकेका छौ । करिब ६ किलोमिट सडक कालोपत्रे भएको छ । ऐन, कानुन, र कार्यविधि गरेर ३५ वटा कानुन बनाइसकेका छौँ ।
खानेपानी अभाव थियो । हामीले एक घर एक धाराको व्यवस्था गरिसकेका छौँ । अहिले विभिन्न वडामा विभागबाट पनि खानेपानी योजना निर्माणको टेन्डर भइसकेको अवस्था छ । थाहा पर्यटन पार्क बनाएका छौँ । त्यस्तै, आफ्नो उत्पादनलाई बिक्री गर्नको लागि कोसेली घर निर्माण गरेका छौँ । त्यहाँ परम्परागत सामान पनि पाइन्छ ।
संघ सरकारले पर्याप्त बजेट नपठाउँदा थुप्रै काम गर्न सकिएको छैन । संघ सरकारले हामीलाई पठाउने गरेको बजेट संघीयता कार्यान्वयन गर्ने खाले छैन । बजेट खाली तलब भत्तामै सकिन्छ । ससर्तका बजेट आएका हुन्छन् । हाम्रो आवश्यकताअनुसार काम गर्न पाएका छैनौँ । विकास बजेट पनि पठाउनुपर्ने देखिन्छ ।
यो वर्षको बजेटमा हामीले स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । अक्सिजन प्लान्टका लागि यो वर्ष ५५ लाख रुपैयाँ बजेट छुट्याएका छौँ । अन्य पुराना योजनालाई निरन्तरता दिने काममा बाँकी बजेट छ ।