टंकप्रसाद शर्मा तिमल्सिना
नगरप्रमुख, नमोबुद्ध नगरपालिका, काभ्रे
कोरोना संक्रमित भेट्न घरघरमै पुग्ने गरेका छौँ । बिरामीलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी मात्रै दिँदैनौँ, सान्त्वना पनि दिन्छौँ । बिरामीलाई स्वास्थ्य सामग्री औषधी दिएर हौसला प्रदान गर्छौं । संक्रमित भेट्न घरघरमा जाँदाजाँदै म आफैं पनि संक्रमित बनेँ । कोरोनाको समय मात्र होइन, अरू बेला पनि नगरका समस्या बुझ्दै आएको छु ।
कोरोना सुरु भएदेखि नगरलाई यसबाट बचाउन धेरै प्रयत्न गरियो । कोरोनाको पहिलो लहरमा चेतनामूलक काम गर्यौँ । बाहिरबाट आएका मानिसलाई राख्न ५० बेडसम्मको क्वारेन्टाइन बनायौँ । यसमा १४ दिन राखेर पिसिआर परिक्षणपछि मात्रै घर पठाउने व्यवस्था मिलायौँ । क्वारेन्टाइनमा पनि बिरामीलाई शारीरिक रूपमा तन्दुरुस्त राख्न व्यायाम, खाना र निरन्तर परीक्षणको व्यवस्था गर्यौँ ।
पहिलो लहरको अनुभवले दोस्रो लहरमा धेरै सहज भएको उनको अनुभव छ । पहिलो चरणमा बनाएका आइसोलेसन बेड राखिएको हुँदा दोस्रो लहरमा सहज भयो । ‘हामीले पहिलो लहरको कोरोनाबाट धेरै कुरा सिक्ने मौका पायौँ,’ उनले भने, ‘सचेत भएका थियौँ । हामीसँग पहिलेका आइसोलेसन बेड यथावत् थिए । स्वास्थ्य कर्मचारी तयारी अवस्थामै थिए । त्यसैले हामीलाई दोस्रोमा सहजै भयो ।’ कोरोनाको विपद्मा संघ र प्रदेश सरकाले स्वास्थ्य सामग्री र खोपको सहयोग गरे । तर, जति सहयोग हुनुपर्ने थियो, त्यति भएन ।
अर्को छिमेकी नगर रोशी गाउँपालिकासँग मिलेर संयुक्त क्वारेन्टाइन र आइसोलेसन बनायौँ । यसरी संयुक्त रूपमा स्थानीय तह मिलेर काम गर्दा बजेट र जनशक्तिमा धेरै सहज भयो । संयुक्त आइसोलेसनमा नगरपालिका र गाउँपालिकाका बिरामीलाई एउटै नगरको जस्तै सेवा दियौँ । यसले बिरामी पनि सन्तुष्ट नै थिए ।
कोरोनाको तेस्रो लहर आएसमेत त्यसका लागि तयारी अवस्थामा छौँ । हामीले कोरोनामा मात्रै होइन, अन्य क्षेत्रमा समेत जनतालाई महसुस हुने गरी काम गरेका छौँ ।
निर्वाचित भएर आएपछि गरेको सबैभन्दा महत्त्वपूर्ण काम बस्तीमा सञ्चालन हुँदै आएका इँटाभट्टा हटाएँ । यसले गर्दा स्थानीय स्वच्छ वातावरणमा बस्न पाए । इँटाभट्टाका कारणले स्थानीय श्वासप्रश्वाससम्बन्धी धेरै समस्या भोग्दै आएका थिए । नमोबुद्ध नगरपालिका वडा नम्बर २ र ३ मा मापदण्डविपरीत बनेका ८ वटा इँटाभट्टा मेरै विशेष पहलमा हटाउन सफलता मिलेको हो ।
यो काम गर्न धेरै अप्ठेरो भोग्यौँ । इँटा उद्योग बन्द गर्ने चुनौतीपूर्ण काम गर्न राजनीतिक करियरको बाजीसमेत लगाएँ । नगरप्रमुख भएपछि अन्य कुरालाई नहेरीकन जनताको पीरमर्कालाई पहिलो प्राथमिकता दिएँ । ‘मैले पहिलो प्राथमिकता जनताको स्वास्थ्यलाई दिएँ,’ उनी भन्छन््, ‘त्यसैले आफ्नो लाभ कहिल्यै हेरिनँ । जनहितका लागि काम गरेँ ।’
गएको चार वर्षमा नगरपालिकालाई विकासमा अगाडि लैजान धेरै काम भएका छन् । निर्वाचित भएर आउँदा नगरपलिकाको अफ्नो भवन थिएन । यसले जनतालाई सेवा दिन कठिनाइ भइरहेको थियो । तर, अहिले नगरपालिकाको आफ्नै भवन र ११ वटै वडामा वडा भवन निर्माण भइसकेका छन् । कोभिड प्रकोपपछि नगरबासीलाई स्वास्थ्य सेवा सहज बनाउन आफ्नै नगरमा अक्सिजन प्लान्टसहितको अस्पताल बनाउन लागिपरेका छौँ ।
यसबाहेक कृषकलाई अनुदान दिएर कृषि क्षेत्रलाई पनि ओझेल पर्न दिएका छैनौँ । यस वर्षको बजेटमा सबैभन्दा बढी स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । यस्तै, कृषि र शिक्षालाई पनि प्राथमिकतामा राखिएको छ । मुख्य कार्यक्रमामा चिनाँै आफ्नो माटो, बनाऔँ आफ्नै नगर, एक गाउँ एक उत्पादन, एक घर एक करेसाबारीलगायत जनमुखी काम नीतिमा समेटिएका छन् । नमोबुद्धमा स्थानीय सरकारले बनाउने कानुनमा करिब ३० वटा बनेका छन् । संघ र प्रदेशका कतिपय कानुन नबन्दा नगरले बनाउने कानुन पनि बन्न नसकेको उनले बताए । ‘हामीले बनाउने कानुन धेरै बनेका छन्,’ उनले भने, ‘तर, संघ र प्रदेशले नबनाइदिँदा केही कानुन निर्माण र काममा असहज भने भएको छ ।’
बितेका चार वर्षमा प्रतिबद्धता गरेका सबै काम भने पूरा भएनन् । नमोबुद्धलाई सुन्दर सहर बनाउने, नगरलाई उत्पादनमूलक बनाउने र कृषिजन्य उद्योग सञ्चालन गर्नेलगायत काम पूरा भएनन् । ‘चार वर्षमा आफ्ना सबै परिकल्पना पूरा गर्न सकिएन,’ उनले भने, ‘कतिपय बजेटले सकिएन । कतिपय काम विभिन्न कारण गर्न सकिएन ।’ तर, अबका दिनमा काम गर्न धेरै सहज हुने अपेक्षा छ ।