बलदेव चौधरी, नगरप्रमुख
त्रियुगा नगरपालिका, उदयपुर
कोभिडको सुरुआती चरणमा सबैतिर त्रास बढेपछि हामी पनि त्रसित भयौँ । त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको मस्जिदमा बसेका १२ जनामा एकै पटक कोरोना संक्रमण देखियो । त्यतिबेला सबैमा डरत्रास बढ्यो । हामी पनि अत्तालियौँ । गम्भीर भयौँ र समिति बनाएर बैठक बस्यौँ । गाउँलाई पहिलो चरणमा सिल गर्यौँ । गाउँको सूचना आदान–प्रदानका लागि संयन्त्र बनायौँ । हामीले करिब ३ सय ५० घर धुरीको कोराना परीक्षण गर्यौँ । परीक्षण गरिएमध्ये जम्मा ३३ जना संक्रमित भेटिए । त्यसपछि २५ सय घरधुरीमा पूरै परिक्षण गर्यौँ । त्यसबेला परीक्षण सहज थिएन । हामीले सेनाको हेलिकोप्टरमार्फत काठमाडौँसम्म स्वाब पठाएर परीक्षण गर्यौँ ।
संक्रमितलाई विराटनगर कोभिड अस्पताल पठायौँ । लगत्तै २ सय बेडको आइसोलेसन बनायौँ । संक्रमित र क्वारेन्टाइनमा राखिएका मानिसका लागि खाना घरघरमै पुर्यायौँ । बारीको उत्पादनलाई पनि खाने वातावरण मिलाइदियौँ । पहिलो लहरमा जस्तो तनाव दोस्रो लहरमा भोग्नुपरेन । कोभिड अस्पताल तयारी अवस्थामा थियो । हामीले परीक्षण र कन्ट्याक्ट टे«सिङलाई निरन्तरता दियौँ । १६ वटा वडामा अक्सिजनसहितको स्वास्थ्य सेवा पुर्यायौँ । त्यसले हामीले दोस्रो लहर पनि नियन्त्रण गर्यौँ ।
संघ र प्रदेशको समन्वय जिल्लाबाट परिचालन भएको थियो । संघको केही पनि सहयोग रहेन । हामीले उदयपुर विकास बोर्ड, चार गाउँपालिका, चार नगरपालिका गरेर संयन्त्र बनायौँ । गाउँपालिकाले ११ लाख र नगरपालिकाले १५ लाख रुपैयाँ उठाएर हामीले सयुक्त अस्पताल बनायौँ । संक्रमितको उपचारलगायत जनशक्तिको खर्च पनि हामीले सबै मिलेर बेहोर्यौँ ।
संघले ल्याएको बजेट स्थानीय सरकारको विकासका लागि उपयुक्त छैन । हामीलाई आउने अनुदानको रकम अघिल्लो वर्षको पनि आएको छैन । दुई वर्ष कोरोनाले झनै समस्यामा पार्यो । चार वर्षमा हामीले ३ सय वटा बाटोको नयाँ ट्रयाक खोल्यौँ । वडा कार्यालय पुग्ने बाटा ग्राभेल गर्यौँ । कृषि बजारलाई व्यवस्थापन गर्यौँ । नगरलाई उज्यालो नगर बनायौँ । बसपार्क, क्रिकेट मैदान निर्माण भएको छ । गाईघाटको सौन्दर्यीकरण, वडाकार्यलय भवन निर्माणलगायत काम सकिइसकेका छौँ ।
नगरपालिकामा उत्पादित फोहोरबाट हामीले १० मेगावाटको विद्युत् निकाल्ने तयारी पूरा गरिसकेका छौँ । बाँच्न पाउने हक संविधानले दिएकाले हामीले आफैले खोप किनेर नगरबासीलाई लगाउन तयारी गर्यौँ । तीन वटा पालिका मिलेर ३२ करोड रुपैयाँसमेत खोपका लागि छु्ट्याइयो । तर, हामीलाई संघले स्विकृति दिएन । यस बर्षको बजेटमा पनि हामीले स्वास्थ्य र कृषिलाई जोड दिएका छौँ । किसानलाई कृषि औजार, मल, बिउबिजनलगायत सामग्री दिने कार्यक्रम राखेका छौँ । सिँचाइका लागि ३२ वटा कुलो निर्माण गरेका छौँ । ५ सय वटा बोरिङ गाडेका छौँ । शिक्षालाई प्राविधिक र अंग्रेजी माध्यम बनाउन जोड दिएका छौँ । घरघरमा खाना पकाउन धुँवारहित चुलोको कार्यक्रम राखेका छौँ ।
हामीले सोचेका केही काम यो कार्यकालमा पूरा गर्न सकेका छैनौँ । केबलकार सञ्चालन गर्न कम्पनी कार्यालयमा दर्तासमेत गरे पनि संघीय सरकारले स्वीकृति दिएन । स्थानीय तहले पाउँदैन भनेर रोक्यो । यस्तै, सुनकोसी नदीमा र्याफ्टिङ सञ्चालन गर्ने योजना राखे पनि पूरा गर्न सकिएन । एयरपोर्ट र मेडिकल कलेजको पनि योजना थियो । त्यो पनि हामीले सकेनौँ ।