विदुरकुमार कार्की
नगरप्रमुख, बर्दिवास नगरपालिका, महोत्तरी
जनप्रतिनिधिको रूपमा नगरको जिम्मा लिएपछि नागरिकसमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा छौँ । तर, कोरोना महामारी सुरु भएपछि भने यसमा ठेस लागेको छ । कोरोना महामारी के हो भनेर हामी आफैंले बुझ्न मुस्किल परेको थियो । तर, नगरबासीलाई आफूले जानेजतिका सूचनालाई नगरपालिकाको संयन्त्र प्रयोग गरेर प्रचार–प्रसार गर्यौँ ।
सबैभन्दा ठूलो चुनौती बाहिरबाट आएका मानिसको व्यवस्थापन थियो । छिमेकी भारत र तेस्रो मुलुकबाट आउने संख्या धेरै थियो । क्वारेन्टाइन बनायौँ । संक्रमितलाई राख्ने आइसोलेसन बनायौँ । पिसिआर मेसिन खरिद गरेर निरन्तर परीक्षण गरिरहेका छौँ । दोस्रो लहरमा पनि हामीले संघको निर्देशनअनुसार संक्रमित संख्या ५ सय पुगेपछि बन्द गर्ने भनियो । तर, १५० जना पुगेपछि बन्द गर्यौँ । होम आइसोलेसनमा बसेकालाई निगरानीमा राख्यौँ । घरघरमै के अवस्था छ भने संक्रमितलाई ‘डोर टु डोर’ सेवा प्रदान गर्यौँ । दोस्रो लहरमा अक्सिजन अभाव भयो । हामीले स्थानीय व्यापारीसँग सल्लाह गरेर सुनसरी, मोरङसम्मै पुगेर अक्सिजन सिलिन्डर ल्यायौँ । नगरभित्र १५ बेडको आफ्नै अस्पताल बनायौँ । १५ बेडको अस्पताल क्षेत्रीय अस्पतालजस्तो भयो । बाहिरबाट पनि अक्सिजन अभाव भएर संक्रमित यहाँ आए ।
हामीले पहिलो लहरमा विपन्नलाई ४४ लाख रुपैयाँको खाद्यान्न वितरण गरेका थियौँ । त्यसबेला १२ लाख प्रदेश सरकारमार्फत आएको थियो । त्यसयता संघ र प्रदेश सरकारबाट केही पनि सहयोग भएन । स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइने भने पनि त्यसको दायित्व पनि स्थानीय तहमै छाडियो । हामीले ल्याब सञ्चालन गर्नसमेत आफ्नै खर्चमा जनशक्ति नियुक्त गरेर काम गर्यौँ । संघको बजेटले अहिलेसम्म संघीयता कार्यान्वयनलाई ध्यान दिन सकेको छैन ।
नेतृत्वले नबुझेको होइन तर केन्द्रीकृत मानसिकतालाई नछाडेको देखियो । स्थानीय सरकारलाई टिकाउने खाले बजेट छैन । प्रदेशले दिने अनुदानमा पनि बदमासी भएको देखिन्छ । यसका बाबजुद हामीले अहिलेसम्मको अवधिमा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीका क्षेत्रमा ठूलो काम गरेका छौँ । विद्यार्थी र शिक्षकको अनुपात नमिलेका कारण पढाउन समस्या थियो । हामीले ६२ जना शिक्षक आफ्नै स्रोतमा राखेर काम गराएका छौँ । शुद्ध खानेपानीको व्यवस्था, ल्याब सञ्चालन, विद्यालयमा शौचालय, स्यानिटरी प्याडसहितको व्यवस्था गरेका छौँ । स्वास्थ्य क्षेत्रमा प्रायः सबै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्र स्थापना गरिसकिएको छ ।
खानेपानी परियोजनाको व्यवस्थापन गरेका छौँ । नगरभित्र घर नभएका विपन्न परिवारलाई ४ कोठाको घर बनाएर हस्तान्तरण गर्ने क्रममा १ सय परिवारलाई स्थापित गरिसकेका छौँ । यो वर्ष २० घर थप गर्ने योजना छ ।
यो वर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा छ । पुराना काम धेरैजसो नसकिएकाले तिनलाई यो वर्ष निरन्तरता दिन्छौँ । चुरे संरक्षण, हरित अभियानलगायत कार्यक्रम राखेका छौँ । यो अवधिमा कतिपय काम चाहेर पनि गर्न नसकेको भने सत्य हो । यसका लागि संघीय सरकारको बजेट र कोभिड महामारी बाधक बनेका छन् । हामीले धेरै ठाउँमा पुल निर्माण गर्नुपर्ने थियो, त्यो सकेनौ । अन्य क्षेत्रमा पनि सोचेजस्तो सफलता हासिल गर्न सकेका छैनौँ ।