पदमपाणि शर्मा
नगरप्रमुख, फलेवास नगरपालिका, पर्वत
पर्वतको फलेबास नगरपालिका प्रमुख पदमपाणि शर्मा कार्यकालको चार वर्षे अवधिमा स्थानीय सरकारलाई सीमित स्रोत–र साधनका बाबजुद नागरिकको नजिक पुर्याउने काम भएको दाबी गर्छन् । संघ सरकारले केन्द्रीकृत मानसिकता छाडेको भए अझ धेरै काम गर्न सकिने नगरप्रमुख शर्माको भनाइ छ ।
संघले तीन तहको सरकारको सहकार्य, समन्वय र सहअस्तित्वलाई बुभ्mन नसकेको उनको बुझाइ छ । ‘संघ सरकारले तीन तहको सहकार्य, समन्वय र सहअस्तित्वलाई बुझ्न सकेन,’ उनले भने, ‘खाली केन्द्रीकृत मानसिकता मात्रै राख्यो । यसले धेरै काम गर्न असहज भयो ।’
संघले हरेक वर्ष पठाउने बजेट संघीयताको मोडलमा नभएको उनको भनाई छ । उनका अनुसार हरेक वर्ष सरकारले ससर्त बजेटलाई घटाउँदै समानीकरण अनुदानलाई बढाउँदै जानुपर्ने थियो । तर, अहिले सरकारले ससर्तका टुक्रे कार्यक्रम स्थानीय तहमा धेरै पठाउने गरेको उनले बताए । ‘हामीलाई सबै ससर्तका टुक्रे कार्यक्रम बढाएर पठाइएको छ,’ उनले भने, ‘हाम्रो आवश्यकताअनुसार काम गर्न पाएनौँ । ससर्तलाई घटाएर समानीकरण अनुदान बढाए मात्रै हामीलाई काम गर्न सहज हुन्छ ।’ संघीयताको असल कामका लागि वित्तीय हस्तान्तरण हुनुपर्ने उनको धारणा छ । तर, त्यस्तो भइरहेको छैन । संघले बजेट नदिएर आफ्ना मातहतका कार्यालयलाई जस्तो निर्देशन मात्रै दिइरहेको नगर प्रमुख शर्माले सुनाए । ‘संघले निर्देशन मात्रै दिइरहेको छ,’ उनले भने, ‘बरु स्थानीय सरकारलाई वित्तीय हस्तान्तरण गरेर सबल बनाउने हो । आफ्ना मातहतका कार्यालयजस्तो निर्देशन र परिपत्र जरुरी छैन ।’
संघको केन्द्रीकृत बजेटका बाबजुद नगरपालिकामा चार वर्षभित्र धेरै काम भएको उनको भनाइ । नगर क्षेत्रमा अहिले चक्रपथ निर्माण भइसकेको छ । ३० किमि सडक कालोपत्रे भइसकेको छ । पर्यटन क्षेत्रमा फलेवासलाई आकर्षणको केन्द्र बनाएको छ । कृषि क्षेत्रको विकासका लागि उनले नगरमा ‘बिरुवा हाम्रो फल तपाईंको’ कार्यक्रम सञ्चालन गरिएका छन् । कृषि उत्पादनमा नगर आत्मनिर्भर भएको छ । किसानलाई डेढ लाख फलफूलका बिरुवा वितरण गरिएको छ ।
कृषि क्षेत्रमा लागू गरेको अर्को कार्यक्रम एक वडा एक पशु फार्म रहेको उनले बताए । यसले पशुपालनमा जोड दिनेछ । नगरले पशुपालनलाई प्रोत्साहन गर्न अनुदान पनि दिइरहेको नगर प्रमुख शर्माले जानकारी दिए । मजदुरलाई पेन्सन दिन मजदुर कल्याणकारी कोष सुरु गरिएको छ । शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम र स्कुल बसको व्यवस्था गरिएका छन् । स्थानीय सरकारले बनाउने कानुनमा ५० वटा कानुन निर्माण भइसकेका छन् । अन्तिम वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको नगर प्रमुख शर्माले बताए । ‘अन्तिम वर्षमा हामीले स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यसबाहेक पुराना अधुरा काम सक्न प्राथमिकतामा राखेका छौँ ।’
कोभिडका कारण आफ्ना कतिपय प्रतिबद्धता पूरा गर्न नसकिएको उनी बताउँछन् । कोभिड नियन्त्रणमा पनि फलेबास नगरपालिकाले सक्दो प्रयास गरेको छ । सुरुदेखि नै जनचेतना फैलाउने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन लगाउने काम गरेको थियो । बाहिरबाट आएकालाई राख्न टोलअनुसार क्वारेन्टाइन निर्माण गरिएको थियो । संक्रमितको उपचारका लागि ७ वटा स्थानीय तह मिलेर संयुक्त रूपमा आइसोलेसन सञ्चालन गरिएको उनले बताए । ‘हामीले संक्रमितको उपचारका लागि संयुक्त आइसोलेसन बनाएका थियौँ,’ उनले भने, ‘यो एकदमै प्रभावकारी रह्यो ।’ दोस्रो लहरमा अलि असहज भएपछि कोभिड अस्पताल निर्माण गरेर संक्रमितको उपचार गरिएको उनको भनाइ छ । बिरामी ओसारपसार गर्न नगरले दुई वटा एम्बुलेन्स खरिद गरेर सञ्चालन गरेको थियो । धेरै समस्या भएका बिरामीलाई पोखरासम्म लगेर उपचार गराएको नगर प्रमुख शर्माले जानकारी दिए । तेस्रो लहर आए पनि नगरपालिका तयारी अवस्थामा रहेको उनले बताए । कोभिड नियन्त्रणमा लागेको खर्चसमेत संघ सरकारले नबेहोरेको उनको गुनासो थियो । ‘ठूलो महामारीको जिम्मा संघ सरकारले लिनुपर्ने थियो,’ उनले भने, ‘तर संघले लिएन । बजेट, जनशक्ति जम्मै हामीले व्यवस्थापन गर्नुपर्यो । यसले हाम्रो नगरको विकासमा अवरोध पुर्यायो ।’