रूपन्देही– सैनामैना नगरपालिका मेयर चित्रबहादुर कार्की नगरले दिएको अनुदान सदुपयोग अवस्था र किसानका पीरमर्का बुझ्न घरगोठ धाउने गरेका छन् । सबै क्षेत्रबाट किसानलाई राहत दिइँदै आएको भन्ने गरिन्छ । तर, यस्तो सहयोग हुनेखाने र पहुँचवालाले मात्रै पाउने गरेको गुनासो पनि सुनिएकै छन् ।
कोरोना महामारीका कारण रोजीरोटी खोसिँदा विदेशबाट फर्केर स्वदेशमै कृषि कर्म गरेका वा स्वदेशमै बसेर कृषि, पशुपालनलगायत क्षेत्रमा भविष्य खोज्नेहरूका लागि सैनामैनाले विशेष प्रोत्साहन गरेको मेयर कार्कीको दाबी छ ।
त्यसो त, सैनामैनाभित्र रहेका ५ सय बढी कृषि फार्ममध्ये अधिकांश ठाउँका गोठमै पुगेर मेयर कार्कीले युवा किसानलाई विशेष प्रोत्साहन गरिरहेका छन् । उनी आफू जाने जानकारी दिएर गोठ पुग्दैनन् । ‘केही समयअघि एक्कासि मेरो भैँसी फार्ममा आएर मेयरले चासो राख्नुभयो’, लामो समयदेखि कृषि कर्ममा रमाएका बेलबोटे भण्डारी लाइभस्टक फार्मका सञ्चालक दीपेन्द्र भण्डारी भन्छन्, ‘युवाहरूले कसरी काम गरिरहेका छन् एवं पछिल्लो समय कृषि क्षेत्रमा प्रविधि प्रयोग र बजार कस्तो छ भनेर चासो राख्नु र नगरपालिकाबाट हुने सहयोगको प्रतिबद्धता जनाउनुले हामीलाई छुट्टै किसिमको ऊर्जा मिल्ने गरेको छ ।’ भण्डारीजस्ता पुराना तथा नयाँ प्रविधि अपनाएर कृषि कर्ममा खटिएका वडा–वडाका किसानलाई कार्कीको प्रोत्साहन शैलीले मन जितेको छ ।
नगरपालिकाले कृषि क्षेत्रलाई ३ वटा अंगमा विभाजन गरेर आफ्ना कार्यक्रमलाई प्रभावकारी बनाएको छ’, मेयर कार्की भन्छन्, ‘कृषि विकास शाखा, पशु विकास शाखा तथा सेतो गुराँस र युएनडिपीको साझेदारीमा कृषि क्षेत्रको विकासका लागि ३ निकायमार्फत प्रवद्र्धन गरिरहेका छौँ ।’
कुन किसानले कसरी कृषि पेसा अँगालेका छन्, आफूलाई कत्तिको व्यवसायी बनाउन सकेका छन् भनेर आफैं कृषि फार्मका गोठदेखि अन्य संरचनामा पुग्ने गरेको मेयर कार्की सुनाउँछन् ।
५० प्रतिशत अनुदानमा यान्त्रिकीरणमा सहयोगदेखि बिउ, मल प्राप्त गर्दा कृषि कर्ममै रमाउन चाहनेका लागि प्रभावकारी देखिए पनि झन्डै ३० प्रतिशत कृषि फार्महरू झोलामै सीमित हुँदा दुःख लागेको कार्की बताउँछन् । सहुलियत ऋण र अनुदान प्राप्त गर्न सञ्चालनमा ल्याइएका फार्मलाई निरुत्साहित गर्ने गरी अभियान चालेको बताउने कार्कीले छिट्टै कृषि समन्वय समितिमार्फत किसानको वर्गीकरण गरिने जानकारी दिए ।
‘पशुपालन, दुग्ध उत्पादक, तरकारी खेती, उन्नत बिउ उत्पादन, मत्स्यपालनलगायत विभिन्न क्षेत्रका किसानलाई समेटेर समन्वय समिति बनाउँछौँ’, कार्कीले भने, ‘सोही समितिमार्फत आएका गुनासा समेट्दै नगरपालिका कृषि क्षेत्रमा पनि अब्बल छ भन्ने सन्देश दिन चाहन्छौँ ।’
नगर माछामासु र दूधमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्ने अवस्थामा पुगिसकेको छ । नगरले पहिलो पटक कृषिमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी किसानलाई विशेष सम्मानसमेत दिँदै आएको छ ।
नगरपालिकाले सञ्चालन गरेको गोठ सुधार कार्यक्रम प्रभावकारी देखीएको छ । अघिल्लो वर्ष ३० लाख रुपैयाँ गोठ सुधार कार्यक्रमका लागि बजेट छुट्याएको नगरपालिकाले त्यसअघि ८० लाखसम्म बजेट विनियोजन गरेको थियो ।
‘पशुपक्षीको स्याहारसुसार र आरामदायी बसाइँका लागि नगरभित्रका विभिन्न व्यावसायिक कृषि फार्मलाई यो वर्ष म्याट वितरण गर्दै छौँ’, कार्की थप्छन्, ‘जतिसक्दो किसानलाई व्यावसायिक बनाउन सकियो त्यति नै आम्दानीमा वृद्धि हुने हुँदा यो वर्ष कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएका छौँ ।’
‘गोठ सुधार कार्यक्रम शतप्रतिशत सफल हुनुमा किसानको ठूलो मेहिनेत देखिन्छ’, वडा नम्बर ७ का वडाध्यक्ष डिलाराम बेल्बासे भन्छन्, ‘नगरले प्रोत्साहन मात्र गरेर भएन, थप सहुलियत र कृषि सामग्री व्यवस्था गर्नुप¥यो, जसबाट किसानले सोचेभन्दा राम्रो प्रतिफल लिन सकून् ।’
नगरमा सञ्चालित कृषि पशु बिमा कार्यक्रम सफल देखिँदा अनुदान तथा प्रोत्साहन कार्यक्रम, स्मार्ट कुखुरापालन, स्मार्ट कृषि गाउँ, बाख्रापालन कार्यक्रम, पशु प्रजनन सेवा कार्यक्रम, कृत्रिम गर्भाधान, पशु आहार पशु स्वास्थ्योपचार सेवा, कृषि सेवा कार्यक्रममा विभिन्न प्रकारका बिउबिजन अनुदानमा नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।