close

ओडारको बासदेखि महलसम्मको यात्रा

ओडारको बासदेखि महलसम्मको यात्रा

Trulli
ADVERTISEMENT

सुकिलो अनुहार भएको केटो । भारी बोकेका खच्चडका अघिपछि निसी र भुजीखोलाको किनारैकिनार दिनदिनै ओहोरदोहोर गर्ने । घर खर्च चलाउनकै लागि बाबुले गर्ने परम्परागत पेसाले कठिन हुन्थ्यो । सिलाइ–कटाइको व्यवसाय । बालीघरे प्रथामा चल्नुपर्ने ।


परिवारको समस्या नजिकैबाट नियालेकाले सानै उमेरमा रोजगारीसँग जोडिनु उनको बाध्यता हो । बाबुआमाको काखमा ओडारमा एक छाक खाएर दिन काटेको सम्झँदै दरबारमा आराम गरिरहेका छन् अहिले, उनी । झट्ट सुन्दा अचम्म लाग्ने यो वास्तविकता बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको हो । जीवन संघर्षको मैदान हो भन्ने बुझेका नगरप्रमुख नेपालीले पछिल्लो समय गर्दै आएको समाजसेवाले उनले हिजो दुःख गरे होलान् र ! भन्नेहरू पनि छन् ।


‘म वुर्तिबाङमा जन्मेको दमाईको छोरा हुँ । मेरा बाबुले कपडा सिलाएर हामीलाई हुर्काउनुभएको हो,’ नेपाली भन्छन्, ‘मैले इतिहास भुल्न सक्दिनँ ।’ गरिबीका कारण उनले बालापन अभावमा बिताए । १३ वर्षको उमेरसम्म खाली खुट्टा हिँडेका देवकुमारले एकसरो लुगा लगाउन ठूलै पर्व आउनुपर्दथ्यो ।


उनको संघर्षको अन्त्य र समाजसेवाको सुरुआत बुर्तिबाङ बजारबाटै भएको हो । ‘म हुर्केपछि बुर्तिबाङ बस पार्क क्षेत्रमा कपडाको दोकान राखेँ । त्यसमा मैले चिनीलगायत सामान पनि बेच्थेँ । त्यहीबाट आम्दानीको सुरुआत भयो,’ उनले भने । 


देवकुमारले कपडा, किराना हुँदै व्यवसायबाटै सफलता हात पारे । अहिले उनको पोखरा, काठमाडौं, बागलुङलगायत सहरमा आलिशान महल छन् । बुर्तिबाङ बजार रहेको ७ तले घरमा दरबार होटल चलाएका छन् । घरभाडा र होटल व्यवसायको आम्दानी महिनामा १५ लाख रुपैयाँ माथि छ । 


३१ वैशाख २०७४ मा ढोरपाटनका जनताले उनलाई स्थानीय सरकारको ‘राजा’ बनाए । नेकपा एमालेबाट उम्मेदवारी दिएका नेपालीले नगरप्रमुखमा अप्रत्यासित जित हात पारे र सुरु भयो, उनको समाज सेवाको यात्रा । सरकारले तोकेको पारिश्रमिकसमेत नलिने उनी बागलुङका एक्ला मेयर हुन् । न त कार्यपालिकाबाट पाउनुपर्ने अन्य सुविधै लिएका छन् । ‘आखिर हामीलाई पठाएको अनुदानबाटै छुट्याएर खाने हो, तलब । मैले तलब नखाँदा यहाँका गरिब दुःखीले तिरेको कर बच्छ,’ नेपाली भन्छन्, ‘त्यो रकम हामीले विकासमा खर्च गर्न पाउँछौँ । खानका लागि मेरो व्यवसायले नै पुग्छ । किन लिनू जनताको करको दस्तुर ।’ 


नेपालीले व्यक्तिगत रूपमा गरिब, दुःखीका लागि लाखौँ रुपैयाँ सहयोग गरिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आएका हुन् । सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गर्ने बानी नै भइसकेको देवकुमार बताउँछन् । ‘मैले भोगेको अभाव अहिले कसैले भोग्न नपरोस भन्ने हो,’ उनी भन्छन्, ‘सकेको नगरले गरेको छ । मैले व्यक्तिगत रूपमा पनि केही न केही गर्ने प्रयत्न गरेकै छु ।’ 


‘केही परिवर्तन गरेर देखाउँछु’ भन्ने अठोट भएका नेपालीले आफ्नै खर्चमा ढोरपाटन नगरपालिकाभित्रका ९ सय परिवारलाई जस्तापाता उपलब्ध गराएका छन् । आफ्नो कार्यकालमा टहरामा बस्दै आएका नागरिकका लागि जस्तापाताको व्यवस्था गर्ने उनको योजना छ । 


बुर्तिबाङस्थित निसीभुजी जनता क्याम्पसलाई नगरप्रमुख नेपालीले २१ लाख रुपैयाँ सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्याल बताउँछन् । नेपालीले शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ५१ शिक्षक व्यक्तिगत खर्चमा नियुक्त गरेका छन् । उनीहरूलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध गराएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यालयलाई २, १ देखि ५ सम्मकालाई ३ र कक्षा १० सम्मकालाई ४ शिक्षक उपलब्ध गराएका छन् । 


कुल डेढ सय शिक्षक आवश्यक पर्नेमा एक तिहाइ शिक्षकको तलब आफैंले  उपलब्ध गराएको नेपाली बताउँछन् । नगरभित्र ४४ विद्यालय छन् । नेपालीले आर्थिक अवस्था कमजोर भएका, दलित, अपांगता भएका र एकल महिलालाई निःशुल्क यातायात व्यवस्था गराउने घोषणा गरेका छन् । बुर्तिबाङदेखि पोखरासम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निःशुल्क सेवा दिन सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको नेपालीले बताए ।


बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ नवी गाउँमा भएको आगलागीका पीडितका लागि देवकुमारले ४० घरमा निःशुल्क जस्तापाता उपलब्ध गराए । ‘मेरो स्रोत होटल र घरभाडा नै हो । बिजनेसबाट भएको अधिकांश नाफा गरिबका लागि खर्चेको छु,’ उनले भने । नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरेका छन् । नगर प्रमुखले नगर कार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरिद गरेका हुन् । झन्डै ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे ११ लाख रुपैयाँमा खरिद गरेर नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।


यसअघि ढोरपाटनमा एम्बुलेन्स थिएन । ‘सरकारले गर्भवती र सुत्केरीको उद्दार कार्यक्रम ल्याउनुअघि धेरैको हेलिकप्टरमार्फत उद्दार गरेको छु’ नेपाली भन्छन्, ‘जनताको सेवक बनुँ भन्ने हो, यसमा पनि रिस गर्नेहरू छन् ।’ स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरिद गर्ने वाचा गरेका थिए ।


विद्यालयमा कम्प्युटर, अपांगता भएकालाई पोखरासम्म बसको टिकट, कोरोना महामारीको समय २५ सय परिवारलाई राहत, विपद्मा व्यक्तिगत सहयोग, क्लब, संघ–संस्थाका कार्यक्रममा पुगेर अक्षय कोष स्थापनालगायत देवकुमारले धेरै काम गरेका छन् । गाउँमा बच्चा जन्मिँदा हुने न्वारान एवं मृत्यु संस्कारमा पुग्ने र सहयोग गर्ने मनकारी देवकुमारले कसैको दुःख देख्न सक्दैनन् । 


नगरप्रमुख भएकाले उनले नगरमा गरिरहेको कामको विषयमा भने बेला–बेलामा प्रश्न उठ्ने गरेका छन् । कार्यपालिकाले गर्ने निर्णय, बैठकमा विलम्बलगायत विषयमा प्रश्न उठे पनि जनप्रतिनिधि भएर समाज सेवा गर्ने उदाहरणीय व्यक्तिमा नेपाली पर्छन् ।