उदयपुर– स्थानीय तहलाई यतिखेर योजनाको अनुगमन गरी बजेट निकासा गर्न भ्याइ–नभ्याई छ । कर्मचारीलाई असारे बजेट सक्ने चटारो र त्यसबाट बचेको पैसामा बिल मिलाउन फुर्सद नभइरहेका बेला उदयपुरको चौदण्डीगढी नगर उपप्रमुख रीताकुमारी चौधरीलाई भने खेतीको चटारो आइलागेको छ ।
नगर उपप्रमुख चौधरीले १० असारमा आफ्नो जिम्मेवारीअनुरूप नगर परिषद्बाट ७४ करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गराएर खेतीमा होमिएका हुन् ।
नगर परिषद् सकिएसँगै उपप्रमुख चौधरीको दिनचर्या अहिले २२ हर्षपावरको टिलर आफैँले चलाएर खेतीमा लसपसिएको छ । उनी आफैँ पावर टिलर
चलाउँछिन् ।
३६ वर्षीया नगर उपप्रमुख चौधरी भन्छिन्, ‘खेती किसानी नगरी कसरी खान पुग्छ ? आफ्नो काम आफैँले गर्ने हो । अहिले परिषद्बाट आगामी वर्षको बजेट तथा नीति कार्यक्रम पारित भएपछि खेतीमा लागेकी हुँ । त्यसैले हलो जोत्न थालेकी हुँ ।’
जनप्रतिनिधि, त्यसमा पनि नगर उपप्रमुखसँगै आउने दायित्व न्याय सम्पादन, योजना अनुगमन र फरफारकबाट बचेको समय श्रीमान् अनुज चौधरीलाई काममा सहयोग गर्दै आएको उनले सुनाइन् ।
उनको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ हडिया बकैना चौरीमा १ बिघा खेत छ । यो खेत जोत्न हल गोरुलाई साता दिन बढी समय लाग्थ्यो । तर, पावरटिलर भएपछि पालैपालो श्रीमान्– श्रीमती चौधरीले चलाउन थालेका छन् ।
श्रीमान यतिखेर स्वस्थानी कृषक समूहमा आबद्ध छन् । समूहले २२ हषपावर टिलर खेतमा जोतेर यान्त्रिकीकरणको माध्यमद्वारा उत्पादन बढाउँदै लगेको छ ।
यान्त्रिकीकरणले उत्पादन वृद्धि हुनुका साथै उत्पादन लागतसमेत घटाएको नगर उपप्रमुख चौधरी बताउँछिन् ।
सो समूहका अन्य किसानले पनि गोरुले नारेर हिलो खेल्न बाध्य हुनुपर्ने अवस्थाबाट मुक्ति पाएका छन् । किसानले पालैपालो सो पावर टिलरले खेत जोत्ने गरेका छन् ।
फुर्सद पाए अरूको खेत जोतेर पर्म गर्न पछि नसर्ने नगर उपप्रमुख चौधरी बताउँछिन् । ‘राजनीति एउटा ठाउँमा छ । तर, काम नगरी खान पुग्दैन । मैले कामलाई पहिलो प्राथमिकतामा राख्छु । म कृषक परिवारकी भएकाले पहिले हलो जोत्थेँ, अहिले पावरटिलर जोत्छु,’ चौधरी भन्छिन् ।
जनप्रतिनिधि हुनेबित्तिक्कै जीवन शैलीमा आमूल परिवर्तन गर्ने र अनियमितताको खाडलमा डुबेर आफ्नो धरातल बिर्सनेमाझ चौधरी नमुना बनेकी छन् । ‘राजनीति समाज परिर्वतनका लागि गरिने हो । दाम पैसा कमाउन होइन’, चौधरीले सुनाइन् ।