close

मेरो भन्दा नगरवासीको रोग र पीडाले बढी दुख्दो रहेछ  

मेरो भन्दा नगरवासीको रोग र पीडाले बढी दुख्दो रहेछ  

Trulli
ADVERTISEMENT

देशलाई नै यतिवेला कोरोना भाइरसको दोस्रो लहरले लपेटिरहेको छ । केन्द्रदेखि स्थानीय सरकारसम्म यो रोगविरुद्ध लडिरहेका छन् । नियन्त्रण  रोकथाममा यसपटक स्थानीय सरकारले मियोका रुपमा काम गरिरहेका छन् । अहोरात्र खटिरहेका धेरै जनप्रतिनिधि आफैँ संक्रमित भएका छन् । संक्रमित भएर पनि जनताका पक्षमा काम गरिरहेका जनप्रतिनिधिको कोरोना विरुद्धको लडाईँ र उनीहरुले नजिकबाट भोगेका पीडालाई जस्ताको तस्तै पस्कन पोजेटिभ जनप्रतिनिधि स्तम्भको सुरु गरेका छौ । यसपटक नमोबुद्ध नगरपालिका, काभ्रेपलाञ्चोकका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको अनुभव समेटेका छौं ।

.................................................................................................

काभ्रे- कोभिड–१९ संक्रमण भएको एक सातासम्म निकै गाह्रो हुने रहेछ । आठ दिन कटेपछि पीडा केही कम हुँदै गएको छ । अहिले शरीरमा अक्सिजनको मात्रा ९० भन्दामाथि नै छ । तर, यो तलमाथि भइरहने रहेछ । म होम आइसोलेसनमा बसेर चिकित्सकको परामर्शअनुसार उपचाररत छु ।

 

बुबाको काजकिरिया सकेर बाहिर निस्कनेबित्तिकै केही गाह्रो महसुस भएको थियो । काजकिरियाका कारण गाह्रो भएको होला भन्ठानेको थिएँ । पिसिआर टेस्ट गर्दा पोजेटिभ देखियो । त्यसपछि उपचारमा लागेको छु । 

 

म पोजेटिभ

 

पोजेटिभ रिपोर्ट आइसकेपछि राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान गर्न बागमती प्रदेशको राजधानी हेटौँडा पनि पुगेर आएँ । म मुटु तथा डायबेटिजको पनि बिरामी भएकाले चिकित्सकले उच्च सतर्कता अपनाउन सल्लाह दिएका छन् । चिकित्सकको सल्लाहलाई फलो गरिरहेको छु । 

 

यो महामारीले विश्वभरका मानवलाई एकसाथ दुःख दिइरहेकाले यसबाट जोगिन सबैले आ–आफ्नो ठाउँबाट प्रयत्न गरेकै छन् । म आफू संक्रमित भएर घरभित्रै बस्दापनि नगरबासीलाई संक्रमणबाट जोगाउन र संक्रमितका लागि उपचार प्रबन्ध गर्न समन्वय गरिरहेको छु । 

 

नगरबासीका पीडा आफैंले महसुस गरेँ

 

आफू नै संक्रमित भइसकेपछि यसको पीडा महसुस भएकाले सर्वसाधारण र विपन्न परिवारमा यो महामारीले कुन हदसम्मको पीडा दिन्छ भन्ने बुझ्न सहयोग मिलेको छ । 

 

म संक्रमित नभएको भए यसको पीडालाई भित्रैदेखि महसुस गर्न पाउन्न थिएँ । यसले गर्दा संक्रमितको उपचार र संक्रमण नियन्त्रणका लागि यति प्रयास गर्दा त होला भन्ने लाग्न सक्थ्यो । तर, अहिले नगरबासीलाई यो संक्रमणबाट जोगाउन सम्पूर्ण शक्ति परिचालन गर्नुपर्छ भन्ने महसुस गरेर त्यसैअनुसार नगरपालिकाको टिमले काम गरिरहेको छ । 

 

पालिकाको पहल

 

मैले संक्रमण नियन्त्रणका लागि अविलम्ब चाल्नुपर्ने कुनै पनि कदममा विलम्ब हुन दिएको छैन । बनेपा नगरपालिकाले निषेधाज्ञा गर्नेबित्तिकै हामीले भोलिपल्टदेखि नै निषेधाज्ञा लगाएका थियौँ । अहिले भयको स्थिति भएकाले संक्रमण नियन्त्रण र उपचारका लागि फ्रन्टलाइनमा खटिनेहरूलाई सबैतिरबाट ढाडसको जरुरी छ । म आफू संक्रमित भएपछि चुप लागेर बसेको छैन । पालिकाका संक्रमितलाई सुविधासम्पन्न अस्पातलमा भर्ना गराउनेदेखि अक्सिजनको बन्दोबस्तीसम्मका काम गरिरहेको छु । 

 

संक्रमित नभएको भए...

 

परिवारका सबै सदस्य बिरामी हुँदा पनि अभिभावकले जसरी अग्रसरता लिएर अरूको उपचारमा खटिनुपर्छ, त्यसैगरी नगरबासीको उपचार गर्न लागिपरेको छु । म संक्रमित नभएको भए योभन्दा धेरै गर्न सक्ने थिएँ । अक्सिजन प्लान्टदेखि पिसिआर ल्याबसम्मको व्यवस्था पालिकाभित्रै गर्ने थिएँ । निको हुनेबित्तिकै यी काम अगाडि बढाउने सोचमा छु । 


नगरबासीले अहिले पनि निरन्तर फोन गरिरहनु भएको छ । कतिपयले शीघ्र स्वास्थ्यलाभको कामना गर्न फोन गर्नुहुन्छ भने कतिले समस्यामा परेर फोन गरिरहनुभएको छ । राती ९ बजेसम्म आउने सबै फोन रिसिभ गर्छु । नगरबासीका समस्या समाधान गर्न समन्वय गर्छु । 

 नागरवासी नआत्तिनूस्

 

सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले म कतै बाहिर निस्किने गरेको छैन । बिहान नगरबासी नउठ्दै ३ नै बजे मर्निङ वाकमा निस्किसकेको हुन्छु । दिउँसोको समय पुस्तक पढ्ने र यो कोभिडले दिएका अनुभवलाई लिपिबद्ध गरिरहेको छु । 

 

संक्रमणबाट नगरबासीलाई कसरी जोगाउने र संक्रमितलाई सर्वसुलभ उपचार कसरी मिलाउने भन्नेमा नगरपालिका दत्तचित्त भएर लागिपरेकाले म नागरिकलाई नआत्तिन आग्रह गर्छु । अप्ठेरो परेमा जनप्रतिनिधि साथमा छन् भनेर आफ्ना समस्या राख्न आग्रह गर्छु ।