ललितपुर– २०७४ सलाको स्थानीय तहको निर्वाचनबाट महालक्ष्मी नगरपालिकाको नगर प्रमुख पदमा रामेश्वर श्रेष्ठ निर्वाचित भएको आज चौथो वर्ष पूरा भएको छ । नगरपालिकाको नेतृत्वका लागि छनोट गरेको प्रति मतदाता नगरबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा नगरप्रमुख श्रेष्ठल आभार व्यक्त गरेको छन् । संघीयतापछिको पहिलो नगर प्रमुख हुने अवसर प्राप्त भएकोमा सम्पूर्ण नगरवासीहरुलाई सम्झँदै धन्यवाद व्यक्त गरेका छन् ।
नगरप्रमुख श्रेष्ठले योग्यता, क्षमताले भ्याएसम्म निःस्वार्थ, पारदर्शी भएर इमान्दारितापूर्वक काम गरेको बताएका छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि कानूनको अभावमा सुरुका केही वर्ष समस्याहरु रहेको अनुभव श्रेष्ठको छ । तरपनि नगरपालिकाले आफ्नो काम, कर्तव्य र अधिकारमा कति पनि विचलीत नभई जनताको सेवामा निरन्तर लागेको र अबको बाँकी कार्यकालको अन्तसम्ममा पनि नगरबासीकै सेवामा समर्पीत हुने श्रेष्ठ बताउँछन् ।
पालिका खबरसँग कुरा गर्दै नगरप्रमुख श्रेष्ठले विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका क्षेत्रमा उल्लेख्य कामहरु गरेको र जनताको सूचनाको हकलाई सँधै सम्मान गरेको बताए ।
झण्डै डेढ वर्षदेखि कोरोना महामारीका कारण विकासका कामहरुमा अवरोध भएपनि विकास निर्माणलाई स्वास्थ्य मापदण्डहरुको पालना गर्दै निरन्तरता दिइरहेको नगरपालिकाले जनाएको छ । छोटै समयमा भएपनि नगरको विकासमा धेरै काम भएको श्रेष्ठको दाबी छ । त्यो भन्दा ठूलो कुरा त नगर विकासको आधार तयार भएको नगरप्रमुख बताउँछन् ।
तीब्र गतिले फैलिरहेको कोरोना संक्रमणलाई रोक्न नगरपालिकाले स्वास्थ्य सुरक्षा र उपचारका लागि प्रथमिकताका साथ विशेष सेवाहरू सञ्चालन गरिरहेको छ । साथै आवश्यकता परेको खण्डमा नगरपालिकाका जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरूलाई सम्पर्क गर्नसमेत नगरप्रमुख श्रेष्ठले आग्रह गरेका छन् ।
बाँकी रहेको एक वर्षे कार्यकाल पनि उपलब्धीमुलक र नगवासीको सर्वोपरी हितका लागि काम गर्ने श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।