बाजुरा- बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विनोदकुमार विकको कोरोना संक्रमणबाट निधन भएको छ । १ साताअघि बिरामी भएका वडाअध्यक्ष विकलाई शनिबार बिहान मात्र कोरोना पोजेटिभ देखिएको पारिवारीक स्रोतले जनाएको छ ।
अवस्था जटिल भएपछि विकलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पुर्याइँदै थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भएपछि विकलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको हो ।
जिल्लामा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएका वडअध्यक्ष विकको बीच बाटोमै निधन भएको हो । अक्सिजन र भेन्टिलेटर अभावमा जिल्ला अस्पतालले जिल्लाबाहिर रिफर गरेपछि विकलाई डडेल्धुरा लैजाँदै गर्दा शनिबार राती ८ बजे अछामको साँफेबगरमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
मृतक वडाध्यक्ष विकको शव बीच बाटोबाटै घर फर्काइसकिएको छ । वडाध्यक्षसँगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ र संक्रमित हुनेको संख्या १५९ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।