काठमाडौं- मध्यान्ह भइसकेको छ । सुन्धारास्थित धरहरा नजिकैको ५ तले होटलको छतमा १४ महिने छोरीलाई औषधी खुवाउँदै छिन् कल्पना बोहरा ।
गाउँपालिकामा खाद्यान्न संकट आउन लागेको भन्दै खाद्यान्नको जोहो गर्न उनी शिशु च्यापेर काठमाडौंमा छिन् । मौसम परिवर्तनले होला, काठमाडौं टेक्ने वित्तिकैदेखि छोरी विरामी छिन् ।
बिरामी छोरी च्यापेर सिंहदरबवार, संसदभवन, नेपाल खाद्य संस्थानको दैलोसम्म पुगिन् कल्पना । छोरीलाई रुघाखोकी समेतको ज्वरो आएको छ ।
५ दिनमा काठमाडौं
२७ फागुनमा बझाङको साइपाल गाउँपालिकाबाट हिँडेका उनीहरू ३ चैतमा काठमाडौं आइपुगे । साइपालको खाद्यान्न सकंटबारे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई जानकारी गराउँदै जनप्रतिनिधि काठमाडाैं आएका छन् ।
भोकमरीको मारमा परेपछि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाका वडाध्यक्ष खाद्यान्न माग्दै काठमाडौं आएका हुन् । काठमाडौं आउनेमा पालिका उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा नम्बर १ का अध्यक्ष गोपाल बोहरा, वडा नम्बर २ का अध्यक्ष हरिलाल बोहरा, वडा ३ का अध्यक्ष जगवीर बोहरा र वडा ४ का जयसिंह रोकाया छन् ।
एक वडाबाट अर्कोमा पुग्ने ३ दिन
सुविधा सम्पन्न राजधानी र आसपासका जिल्लमा बसोवास गर्ने मानिसलाई काठमाडाैं नै नेपाल हो लाग्न सक्छ । जो कोहीलाई सुन्दा आश्चर्य लाग्छ एउटा पालिकाको एक वडाबाट अर्काे वडामा पुग्नै तीन दिनसम्म पैदल हिड्नुपर्छ । बझाङको साइपाल गाउँपालिकाका भौगोलिक रूपमा विकट छ ।
सडक सञ्जालले छोएको छैन । ढुवानीको नामामा भेडा खच्चडभन्दा अरु कुनै विकल्प छैन । एक वडाबाट अर्काे वडासम्म पुग्नका लागि तीन दिन पैदल हिड्नुपर्ने अवस्था रहेको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना सुनाउँछिन् ।
पालिकामा मिटिङ पर्दा जनप्रतिनिधि बास नै बस्नु पर्ने अवस्था छ । एकै दिनमा वडा वा घर फर्कन सक्ने अवस्था छैन ।
घरमा बास बसेको दिन औलामै गन्न सकिन्छ
साइपाल गाउँपालिकाकी उप प्रमुख कल्पना बोहरा १४ महिने छोरीसहित घरबाट धेरै बाहिर बस्छिन् छिन् । उनी भन्छिन्, ‘घरमा बास बसेको दिन औलामा गन्न सकिन्छ ।’ महिला जनप्रतिनिधि त्यसमाथि दुर्गम क्षेत्रमा काम गर्न एकदमै समस्या हुने कल्पनाको अनुभव छ । ‘पेटमा बच्चा हुँदा पनि यतिकै हिड्नु पर्थ्याे अहिले पनि अवस्था उस्तै छ,’ सुन्धाराको गफमा उनले सुनाइन् ।
सानो बच्चा छोडेर हिड्न मिल्दैन । जिम्मेवारी लिएपछि पुरा पनि गर्नैपर्याे । ‘कतै विवाद, मिटिङ पर्छ, हिडेर जान सकिदैन बास बस्नुको विकल्प हुँदैन त्यसैले घरमा बस्नै पाएको छैन’ , घर बस्न नपाउनुको कारण यस्तो रहेछ । घर-पारिवारले सहयोग गरेकै कारण कल्पनालाई भने अलि सहज छ ।
मिलापत्रमै सिमित न्यायिक समिति
उपाध्यक्षको कार्यक्षेत्र न्यायिक समिति, बजार अनुगमन तथा विकास अनुगमनलगायत हो । उनी यसैमा व्यस्त छिन् । हालसम्म न्यायिक समितिमा जटिल खालका समस्या आएका छैनन् ।
सबै मिलापत्रमै टुंगिएका छन् । अंशबन्डा, घर झगडा लगायताका उजुरी भने आइरहने कल्पनाको अनुभव छ ।
उब्जिएको अन्नले तीन महिना पुग्दैन
पालिकामा आलु, मकै, गहुँ, कोदो उत्पादन हुन्छ । विगत वर्षमा सो अन्नले ६ महिना खान पुग्थ्यो तर यस वर्ष समयमा पानी परेन । त्यही भएर अन्नले पनि पुगेन । ‘पुस-माघबाटै खाद्यान्न अभाव भइसकेको छ । केहीले खाद्यको चामल आए तिरौँला भनेर व्यापारीबाट पैँचो चामल मागेर खाइरहेका छन्’, कल्पना भन्छिन् ।
गाउँपालिकामा ५ वटा वडा छन् । वडा १ र २ मा करिब १ सय ५० घरपरिवार बसोबास गरिरहेको बोहराले जानकारी दिइन् । आवश्यक अन्य वस्तु गाउँलेले चीनबाट किन्थे । तर पछिल्लो समय नाका बन्द छ । यसले गर्दा उनीहरू थप समस्यामा परेका हुन् ।
सात वर्षको हुँदा स्कुलमा पहिलो पाइलो
उपाध्यक्ष बोहरा गरिब परिवारमा हुर्किइन् । गाउँमा छोरीलाई पढाउन कसैले चासो दिँदैनथे । घरबाट आधा घण्टा हिँडेपछि स्कुल पुगिन्थ्यो । तर उनलाई सात वर्षको हुँदासम्म स्कुल जान पठाइएन । बोहराले मुस्कुराउँदै सुनाइन्, ‘अहिले स्कुल जाने भनिन्छ त्यतिबेला कोठा जाने भन्ने चलन थियो । कोठा जाने भनेको थुन्ने होला जस्तो लाग्थ्यो त्यही भएर स्कुल जानै सकिएन ।’
र, त्यो दिन
एक दिन आमसँग काममा जाँदै गर्दा बच्चाहरु खेलिरहेको देखिन् कल्पनाले । ‘आमालाई सोधेको स्कुल हो यहाँ पढाइ हुन्छ भनिन्’, कल्पना सुनाउछिन्, ‘त्यसपछि बन्द गरेर राख्छन् भन्ने भ्रम हट्यो र स्कुल जान थालेँ । एसएलसी पास गरेपछि उनले पढाइलाई बिट मारिन् ।
गाउँमा अरु पढेलेखेका महिला थिएनन् । पढे-बुझेकी भन्दै गाउँमा हुने सबै कार्यक्रममा कल्पनालाई बोलाइन्थ्यो । यसो गर्दागर्दै ख्यालख्यालमा राजनीतिमा छिरेको उनले पत्तै पाइनन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट दिएपछि साइपाल गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी कल्पना बोहराको काँधमा आइपग्यो । जनप्रतिनिधि भएर जनताको सेवा गर्नुलाई समाजसेवा ठान्छिन् उनी ।
बोहराले घरायसीदेखि जग्गा विवादसम्मका विषयमा न्यायाधीशको भूमिका निर्वाह गर्दै आएकी छिन् । कोरोना महामारीका कारण ठूल्ठूला योजनाका काम भने नभएको उनी बताउँछिन् ।
काठमाडौंले खाद्यान्नमा सहयोग गर्ने नगर्ने निर्क्याेल भइसकेको छैन । तर कल्पना र उनको टोली ढुक्क देखिन्छ । साइपाल फर्किएपछि उनीहरुलाई आशाको नजरले हेर्नेछन् जनताले । किनकी काठमाडौंमा पुगेका जनप्रतिनिधिले जनतका लागि भोक विरुद्धको खुसी लिएर आएका छन् ।
कल्पनालाई यही एउटा पिरलो छ, जनताको अपेक्षा पुरा भएन भने नि ?