close

राराका एक वडाध्यक्ष जसले तलबभत्ता खर्चेर गरिब र बेसहाराकाे सहयोग गर्छन्

राराका एक वडाध्यक्ष जसले तलबभत्ता खर्चेर गरिब र बेसहाराकाे सहयोग गर्छन्

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुमा १ नगरपालिकासहित ३ गाउँपालिका रहेका छन् । जिल्लाका ४ वटै स्थानीय तहमध्ये छायानाथ वडा नम्बर ४ वडाध्यक्ष उदाहरणीय बनेका छन् । 


छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णुकुमार भाम उदाहरणीय जनप्रतिनिधिको रुपमा काम गरेर वडाबासीको मनमा बस्न सफल भएका हुन् ।

 
वडाध्यक्ष भामले करिब साढे ३ वर्षको अवधिमा नगरपालिकाका १४ वटै वडाका दलित, विपन्न, असहाय, टुहुरा नागरिकलाई चामल, नुन, तेल, आर्थिक सहयोगसँगै आफूले पाउने तलब कट्टा गरी र नगरपरिषद्को बैठकबाट पाएको भत्ताबाट शौचालय निर्माण गरिदिएका छन् । उनी शौचालय बनाउन र राहत बाँड्न आफैं अघि सर्छन् ।

 

छायानाथ रारा नगरपालिकामा हालसम्म भएका ४ वटा नगरपरिषद्बाट वडाध्यक्षले पाउने भत्ता सबै संकलन गरी सदरमुकाम गमगढी बजार, रेडक्रस शाखा कार्यालय नजिकैमा शौचालय निर्माण गरेका छन् ।


विशेषगरी छायानाथ राराको वडा नम्बर १०, ११, १२ का स्थानीय, मुगमकामारोङ गाउँपालिका र बटुवाको सुुविधाका लागि ४ वटा नगरपरिषद् बैठकबाट प्राप्त २८ हजार रुपैयाँको भत्ताले एउटा शौचालय निर्माण गरिदिएको वडाध्यक्ष भामले बताए । 


भाम मुगुको सबैभन्दा कान्छा जनप्रतिनिधि पनि हुन् । जनप्रतिनिधि भएदेखि स्थानीय सरकारबाट वडाध्यक्षले पाउने सेवा-सुविधा र अन्य बैठक, तालिम/गोष्ठीबाट प्राप्त गरेको रकम संकलन गरेर दैवीप्रकोपमा परेर खान-लाउन नपुगेका, विद्यालय पढ्न नपाएका बालबालिकाको किताब, कलमलगायतमा खर्च गर्दै आएको भामले सुनाए । 


सामाजिक कामकै कारण भामले मुगुभरका जनप्रतिनिधिमध्ये उदाहरणीय काम गरेको स्थानीय बताउँछन् । 


सदरमुकाम गमगढी बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँघरबाट सदरमुकाममा कामविशेष आउने स्थानीयलाई शौच गर्न निकै अप्ठेरो परेको देखेपछि शौचालय निर्माण गरिदिएको वडाध्यक्ष भामले सुनाए ।


वडाध्यक्ष भामले शौचालय बनाइदिएपछि निकै सहज स्थानयीले बताए । यसअघि  तलबभत्ताबाटै नगरपालिकाका वडा नम्बर १, २ र ४ का स्थानीयका लागि २५ हजार रुपैयाँ लागतको शौचालय निर्माण गरिसकेका छन् ।