बाजुरा–दुर्गम जिल्लाका रूपमा परिचित बाजुराका नागरिकले बल्ल स्थानीय सरकारको नाम सुन्न पाएका छन । मानव विकास सूचकांकको हिसाबले वा विकासका दृष्टिकोणले बाजुरा देशकै सबैभन्दा पछि ७७औँ स्थानमा पर्छ ।
बाजुरामा विकासले गति लिन नसकेको स्थानीय बताउँछन् । ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी बाजुरामा ९ वटा स्थानीय तह छन् । स्थानीय सरकारका जनप्रतिनिधि आइसकेपछि विकास हुने आशमा बसेका बाजुरेलीलाई अहिले पनि सामान्य बिरामी हुँदा अन्यत्र जानुपर्ने बाध्यता छ ।
पालिकाले कहीँकतै कच्ची सडक पुर्याएको भए पनि अधिकांश ठाउँमा सडक नै नहुँदा नागरिकका दुःख अथाह छन् । स्थानीयको टाउकोमा नाम्लो र पटुका बाँधेरै काममा लागेका हुन्छन् ।
राणा शासन, १० वर्षे शसस्त्र बिद्रोह, पञ्चायतकाल हुँदै देशमा संघीयतासहितको लोकतन्त्र आयो । २०७४ असारमा स्थानीय निर्वाचन पनि सम्पन्न भयो । गाउँ–गाउँमा सिंहदरबार, घरघरमा जनताको अधिकार त्यतिबेलाको नारा थियो । अहिले स्थानीय सरकार सञ्चालन भएको पनि करिब ३ वर्ष नाघिसक्यो । नागरिकले अपेक्षा गरेका धेरै आशा अझै पूरा हुन सकिरेहका छैनन् ।
विकासले छुन नसकेको र गरिबीले आक्रान्त बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मिमा बुढाको राजनीतिक यात्रा भने समृद्ध छ ।
उपाध्यक्ष बुढा अहिले गाउँपालिकाको विभिन्न विकास निर्माणदेखि स्थानीयको सेवामा समर्पित छन् । २०१४ मा हालको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २ जन्मिएकी बूढाले अहिले ६३ वर्ष टेकिन् । उपाध्यक्ष बुढाका छोराबुहारी, नातिनातिना गरी परिवारमा ११ जना सदस्य छन् ।
परिवार राजनीतिक पृष्ठभूमिको भएको हुँदा बुढाले सानै उमेरदेखि राजनीति सिक्ने मौका पाइन् । श्रीमान् राजनीतिमै लागेकै समय निधन भएपछि उनले आफूलाई राजनीतिमा होमिइन् ।
तत्कालीन नेकपा एमालेमा आबद्ध उनका श्रीमान् नरपति बुढा साविककोे साप्पाटा गाविसको ३ पटक प्रधानपञ्च भइसकेका थिए । सामान्य परिवार र कम लेखाइपढाइ भएका बुढाका श्रीमान् स्थानीय राजनीतिमा भने अब्बल थिए ।
२०३७ मा तत्कालीन साप्पाटा गाविसको प्रधानपञ्च हुँदै उनी गाविस अध्यक्षसम्म भए । तत्कालीन एमालेबाट राजनीतिमा हात हालेका उनका श्रीमान् २०३७, २०४३ मा प्रधानपञ्च हुँदै २०५४ मा तत्कालीन साप्पाटा गाविसको अध्यक्षसमेत निर्वाचित भएका थिए । राजनीति गर्दागर्दै उपाध्यक्ष बुढाका श्रीमान्को ६१ वर्षको उमेरमा हत्या भयो । त्यतिबेला माओवादी द्वन्द्व चरमचुलीमा थियो । तत्कालीन माओवादीले बुढाका श्रीमान्लाई यातना, कुटपिट, धम्की हुँदै हत्या गरे ।
श्रीमानलाई माओवादीले हत्या गरेपछि राजनीतिमा
तत्कालीन माओवादीले १ वैशाख २०५९ मा उपाध्यक्ष मिमा बुढाका श्रीमान्को हत्या गरेको थियो । श्रीमान्को हत्यापछि घरको सबै जिम्मा उनको काँधमा आइलाग्यो । घरमा परिवारका सदस्य धेरै भएकाले एकातिर परिवार पाल्न समस्या र अर्कातिर श्रीमान् मारिएको पीडा उस्तै ।
अहिले पनि दैनिक मेलापात र अरूको काम गरेर परिवारका सदस्य पाल्ने गरेको उपाध्यक्ष बुढाले सुनाइन् । सुरुमा घरमा श्रीमान् राजनीतिमा अब्बल भए पनि आफूलाई राजनीतिबारे केही थाहा नभएको उनले बताइन् । प्रौढ शिक्षा हासिल गरेकी उपाध्यक्ष अहिले गाउँपालिका हाँकिरहेकी छन् ।
‘मलाई त्यतिबेला चुल्होचौको र मेलापात गर्न भ्याई–नभ्याई हुन्थ्यो । राजनीतिमा कुनै पनि जोस र जाँगर पनि थिएन । माओवादीको डरले कति बेला के हुने हो भन्ने ठेगानसमेत हुन्थेन’, बुढाले विगत कोट्याइन् ।
तत्कालीन नेकपा एमालेले द्वन्द्वकालमा मारिएका र सहिद परिवारका सदस्यलाई कुनै एउटा पदका लागि टिकट दिने निर्णय भयो । बुढा त्यही टिकमा परिन् र उपाध्यक्षको उम्मेदवार बनिन् । उपाध्यक्ष जितिन् पनि ।
‘स्थानीय निर्वाचनमा गाउँपालिकाको उपाध्यक्षको टिकट पाउनु श्रीमान्कै देन हो । सोही कारण अहिले यो पदमा पुग्न सकेकी हुँ’, उपाध्यक्ष बुढा खुसी सुनिइन् । सरकार र माओवादीबीचको शान्ति सम्झौतापछि राजनीति गर्न अहिले भने सहज भएको उनको बुझाइ छ ।
६३ वर्षमा उपाध्यक्ष
उपाध्यक्ष बुढा २०७४ वैशाखमा घोषित स्थानीय चुनावमा स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका उम्मेवार बनिन्, जतिबेला उनको उमेर ६० वर्ष थियो । उमेर ओरालो लागिसकेकाले चुनावमा जितिँदैन कि भन्ने उनको मनमा डरले डेरा जमाएको थियो । तर, उपाध्यक्षमा निर्वाचित भइन् ।
निर्वाचित भएपछि गाउँपालिकाको विकासका लागि रातदिन नागरिकको सेवामा खटिरहेकी छन् । अहिले गाउँपालिकाको न्यायिक समिति, अनियमितता, नीति, निर्माण, भ्रष्टाचारलगायत विषयमा हात हाल्दा अहिले अचम्म लागेको उनी सुनाउँछिन् ।
‘पढाइलेखाइ नभएका महिलाले पनि गाउँपालिकाको जिम्मेवार पदमा रहेर काम गर्न सक्छन् भन्ने उदाहरण दिन सकेकी छु’, बुढाले भनिन्, ‘गाउँघरको बसाइमा छोराछोरी हुर्काउँदै मेलापात, उकालीओराली र चुल्होचौकोमा सीमित हुने महिलाले विविध चुनौती र अप्ठेरो जिम्मेवारी सम्हाल्न पाउनु खुसीको कुरा हो ।’
राजनीति पुरुषले मात्र गर्ने पेसा हो भन्ने बुझाइ र महिलालाई अगाडि बढाउनुहुन्न भन्ने सामाजिक मानसिकता चिर्न सकेकामा उनलाई गर्व लाग्छ रे ।
सामाजिक कर्ममा निरन्तर
उपाध्यक्ष मिमा बुढा गाउँपालिकाको कार्यनीति बनाउने काममा मात्र सीमित नभई सामाजिक कर्ममा पनि रुचि राख्छिन् । ‘म आफैं महिला भएकाले पनि गाउँघरमा तिनका दुःख, सुख बुभ्mन सक्छु । गाउँघरका कुरीति, कुसंस्कार र सामाजिक न्यायका लागि पनि सक्रिय हुँदै आएकी छु ।’
सामाजिक न्याय, महिला सशक्तीकरण, कुरीतिलगायत समस्या एकैचोटि छुमन्तर नहुने उनको बुझाइ छ । नीति निर्माण र सामाजिक न्यायलाई प्राथमितामा राखेर काम गर्न सके महिला जुनसुकै क्षेत्रमा पनि अब्बल ठहरिने दाबी उनको छ । गाउँपालिकामा व्याप्त छाउपडी प्रथा निर्मूल, महिला आत्मरक्षा तालिम, महिला सहभागिता, सामाजिक चेतनालगायत स्वास्थ्य, शिक्षा, कृषिमा महिला सहभागिता बढाउनुपर्ने उनको सुझाव छ ।
आफूले नेतृत्व सम्हालेदेखि महिलाको स्तरोन्नतिका लागि गाउँपालिकाले सरकारी–निजी क्षेत्रका संघसंस्थासँगको सहकार्यमा सिलाइ–कटाइ तालिम, बालविवाह रोकथाम अभियान चलाउँदै आएको उनी सुनाउँछिन ।
हालसम्मको कार्यकालमा कसैलाई अन्याय गरेजस्तो आफूलाई नलागेको उनले बताइन् । हालै मात्र गाउँपालिकाले सुरु गरेको वृद्धसँग विरही कार्यक्रममा पनि उपाध्यक्ष बुढाले गाउँपालिका जेष्ठ नागरिकलगायत विपन्न तथा सीमान्तकृत महिला तथा पुरुषकाई न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भइन् ।
गाउँमा साक्षरता घोषणा, छाउपडी हटाउनेदेखि खेतबारीमा कुटो–कोदालोसम्मका काम गर्ने उपाध्यक्ष बुढा राजनीतिलाई निरन्तरता दिने सोचमा छन् ।