close

नर्स बन्न नसकेकी ‘जनताको न्यायाधीश’

नर्स बन्न नसकेकी ‘जनताको न्यायाधीश’

Trulli
ADVERTISEMENT

डडेल्धुरा- मध्यम परिवारमा जन्मिएकी संगीता भण्डारीको परिवारमा आमाबुबाले काम गरेपछि मात्र साँझ-बिहानको छाक टार्ने मेसो जुट्थ्यो । ५ वर्षको उमेरमै भण्डारीलाई आमाले सदाका लागि चटक्क छाडेर गइन् । 

 

यसपछि उनको परिवारमा वज्रपात आइलाग्यो । पारिवारिक वियोगलाई सहँदै अहिले गाउँ सरकारको सम्हाल्ने अवस्थजामा पुगेकी भण्डारी अहिले अमरगढी नगरपालिकाकी उपप्रमुख छिन् ।

 

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ डबरबाटा गाउँमा १८ पुस २०४९ मा मध्यम परिवारमा जन्मिएकी भण्डारीको बाल्यकाल सानैदेखि कष्टपूर्ण बित्यो । हात समातेर हिँड्ने उमेरमा उनले आमाको साथ पाउन सकिनन् ।

 

२०५४ मा आमाको मृत्यु भएपछि परिवारको पहिलो सन्तान भएकाले पारिवारिक जिम्मेवारी उनै भण्डारीको काँधमा आयो । त्यसपछि सुरु भए, उनका दुःखका पहाड ।

 

कष्टकर बाल्यकाल बिताउन बाध्य भण्डारीले कहिले हाँस्न पाइनन् । विभिन्न अभावका बीचमा सामान्य तरिकाले उनको पालनपोषण भयो । साँझ-बिहान के खाने, के लगाउने भन्ने समस्यामा उनका दिनहरू बिते ।

 

‘खाने-लाउने अभावसँगै जीवनमा धेरै कठिन परिस्थिति सामना गरेँ । विगतका कठिन दिनको सम्झना कति छन् कति’, भण्डारी सुनिइन्, ‘सानै उमेरमा ठूलो जिम्मेवारी वहन गर्नुपर्दा बाल्यकाल दुःख र पीडा बिर्सिन सकिँदो रहेनछ ।’

 

उनको बाल्यकाल डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ कनेडीमा बाजेबजैसँगै बिते । सानै उमेरमा आमा बितेपछि उनले ठूलीआमा र हजुरआमाको साथ, सहयोग पाइन् । 

 

घरायसी कामकाजसँगै प्राथमिक शिक्षा उत्तीर्ण गरी माध्यमिक विद्यालय गांखेतमा, निम्नमाध्यमिक शिक्षा ६-७ उणीकोट र कक्षा ८ राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरबाट पास गरिन् ।

 

उनले जस्तोसुकै हन्डर खाए पनि पढाइलाई निरन्तरता दिइन् । पढेर भविष्यमा एक दिन सुखमय जीवन बिताउने चाहना थियो तर, रकम थिएन । समाजले आमा नभएकी टुहुरी भनेर माया गरे पनि परिवारकै सदस्यबाट अपहेलित हुनुपरेको विगत भण्डारीले कोट्याइन् ।

 

‘अरू साथीहरूले राम्रो लाउँदा, राम्रो खाँदा म भने हेलाको पात्र बनेँ । अपहेलित हुँदा मनमा अनेक कुराहरू खेल्थे । कहिलेकाहीँ त सहन नसकेर एकान्तमा गएर रुन्थेँ,’ उनले भनिन्, ‘जन्म दिने आमा भएको भए सायद दुःख खेप्नुपर्ने थिएन कि भनेर सोच्थेँ ।’

 

पारिवारिक रूपमा शारीरिक र मानसिक परिश्रमसँगै निम्न आर्थिक अवस्थाका कारण परिवारको बोझको रूपमा उनी थिइन् । ‘घरमा मलाई नोकरजस्तो व्यवहार गरिन्थ्यो । बाल्यावस्थामै कडा शारीरिक परिश्रम गरेँ,’ भण्डारीले भनिन् ।


अधुरो नर्स बन्ने चाहना 

 

केटाकेटी अवस्थामा प्रायः साथीभाइसँग खेल्न रमाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, त्यसका समय कहिल्यै नपाएको विगत स्मरण छ, भण्डारीको छ ।

 

‘एकातिर घरायसी काम गर्नुपथ्र्यो भने अर्कोतिर घरबाट खेल्ने सामग्रीसमेत कसैले किनिदिएनन्,’ उनले भनिन्, ‘भविष्यमा ठूलो मान्छे बनेर अभावमुक्त जीवन जिउने चाहनाकै कारण पढाइलाई निरन्तरता दिएँ ।’


विद्यालयमा राम्रो विद्यार्थीमध्ये अग्र भागमा भण्डारीको नाम आउँथ्यो । तर, घरमा उनी अपहेलित थिइन् । छात्रवृत्ति र विद्यालयका कार्यक्रममा उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेर पढाइलाई निरन्तरता दिएको उनी बताउँछिन् ।

 

परिवारमा माया, स्नेह अभाव हुँदाहुँदै पनि माध्यमिक शिक्षा घटाल माध्यमिक विद्यालय नुवाकोट र उच्च मावि माउन्टेन मावि बागबजारबाट पूरा गरिन् ।


‘म सानी हुँदा आमाले तँलाई स्टार्फ नर्स बनाउने हो भन्नुहुन्थ्यो । तर, उहाँको चाहना पूरा हुन सकेन । आमाको मृत्युपछि मलाई हजारौँ आमाको सेवा गर्ने मनमा चाहना थियो । आर्थिक समस्याका कारण त्यो सपना पूरा हुन सकेन,’ उनले भनिन् ।


पत्रकारिताले पुर्‍यायो राजनीतिमा 


लामो समयसम्म उनले जिल्लामा रहेका मिडिया हाउसमा काम गरिन् । प्रेस चौतारीमा रहेर विभिन्न पदमा काम गरेको अनुभव छ, भण्डारीसँग । २ पटक केन्द्रीय सदस्यको उम्मेदवार भइन् ।

 

संघीयता आएपछि कुनै पद मिले उम्मेदवारी दिने मनसायले नेकपा एमालेको भ्रातृ संगठनमा प्रवेश गरिन् । भ्रातृ संगठनमा हुँदा पार्टीबारे राम्ररी बुझ्ने अवसर मिलेको बताउँछिन्, भण्डारी । पछि राजनीतिमै हाम फालिन् । 


भण्डारीका ठूला बुबा तत्कालीन नेकपा एमालेमा आबद्ध थिए । ‘ठूला बुबाबाट प्रेरित भएर होला मैले एमाले रोजेँ । एमाले रोज्नुको कारण मेरो नितान्त व्यक्तिगत विचार थियो,’ उनले भनिन् ।

 

उपप्रमुखको टिकट पाउँदाको खुसी


धेरै मानिसले राजनीतिमा आफ्नो सारा जीवनकाल खर्चिंदा पनि कुनै अवसर पाएका हुँदैनन् । तर, भण्डारीको शौभाग्य भन्नुपर्छ, पार्टी राजनीतिमा प्रवेश भएलगत्तै अमरगढी नगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवारी दिने अवसर पाइन् ।

 

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको सदरमुकामको नगरपालिका हुनाले एमालेलाई निर्वाचन जित्न सहज थिएन । तर, उनले आफूभन्दा दोब्बर उमेरकी कांग्रेसकी प्रतिस्पर्धीलाई पाखा लगाइन् ।

 

‘मैले सहजै जित्न सक्छु भन्ने विश्वास कसैलाई थिएन । धेरै वर्षदेखि कांग्रेसले एकछत्र राज गरिरहेको थियो । एमालेले उम्मेदवारका रूपमा मात्रै राख्ने गरेको थियो । चुनाव जित्ने हिम्मत कसैले गरेनन्,’ उनले भनिन्, ‘त्यसैले मलाई टिकट मिल्यो र जितेँ पनि ।’

 

नगरप्रमुख र उपप्रमुखको भूगोल मिलाउँदा मेरो भूगोलमा भएका उम्मेदवारमध्ये पार्टीले मलाई बलियो उम्मेदवारका रूपमा मूल्यांकन गरेकाले टिकट पाएको सुनाउँछिन्, उनी ।

 

‘स्थानीय तहका लागि काम गर्न सक्ने पार्टी नेताहरूको विश्वासले गर्दा मैले सहजै टिकट पाएँ र निर्वाचनमा होमिएँ,’ भण्डारीले भनिन् ।

 

पार्टी राजनीतिमा जुनियर भएका कारण केही साथीहरूको विरोध भए पनि यसलाई राजनीतिमा सामान्य रूपमा लिनुपर्ने उनको अनुभव बोल्छ ।

 

उपमेयरको उम्मेदवारी दिँदा निर्वाचन जित्छु भन्ने विश्वास नभए पनि जनताले पत्याएको उनले सुनाइन् ।


गाउँको न्यायाधीश


संघीयतापछि उपप्रमुखलाई दिएको जिम्मेवारी चुनौतीपूर्ण रहेको भण्डारीको अनुभव छ । सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारी न्यायिक समिति संयोजकको रहेको उनले बताइन् ।


न्यायिक समिति संयोजकको जिम्मेवारी चुनौतीपूर्ण हुँदाहुँदै पनि यसलाई कुशलतापूर्वक निर्वाह गरिरहेको उनको भनाइ । समितिको कार्यक्षेत्रभित्र हिंसा, मुद्दा, विवाद पर्ने हुँदा निष्पक्ष फैसला गर्नु कम्ती चुनौतीपूर्ण नहुने भण्डारीले बताइन् । 


‘महिला जनप्रतिनिधि, कार्यालयगत दायित्वका हिसाबले हिंसामा परेका महिलालाई कानुनी सहजताका लागि सरोकारवालासँगको परामर्शमा सहजीकरण गर्ने, निःशुल्क सहायताको सिफारिस गर्ने, कानुनी सहायता गर्ने, कानुनी उपचार हुँदासम्म सेफ हाउसमा व्यवस्थापन गर्न सिफारिस गर्ने, प्रहरीसँग परामर्शलगायत गर्नुपर्छ’, उनले भनिन् ।


भविष्यको भवसागर योजना 


भविष्यको योजना देश र जनताकै सेवाका लागि समर्पित हुने रहेको उनी बताउँछिन् ।

 

तत्काल पारिवारिक आर्थिक अवस्था खस्किँदै गएको र जिम्मेवारी पनि बढ्दै गएकाले केही समय प्रत्यक्ष राजनीतिमा समय दिन नसके पनि जनता र देशको सेवामा निरन्तर लागिरहने सोच उनको छ ।

 

केही समय व्यापार सँगसँगै राजनीति गर्ने र पारिवारिक जिम्मेवारी कम हुँदै गएपछि पूर्ण रूपमा राजनीतिलाई नै पेसा बनाउने योजना रहेको उनी सुनाउँछिन् ।

 

‘निर्वाचन जितेपछि अमरगढीबासीको जिन्दगीभरको ऋणी भएकी छु । कार्यकाल सकिए पनि नगरबासीको सेवक भइरहनेछु,’ उनले प्रण गरिन् ।