close

‘बा ! के सेवा गरूँ ?’

‘बा ! के सेवा गरूँ ?’

Trulli
ADVERTISEMENT

यो पालिका खबरको नियमित स्तम्भ हो । यस स्तम्भमार्फत हामी जनसेवा र विकास निर्माणमा जनप्रतिनिधि कसरी दत्तचित्त भएर लागेका छन् ? जनताका सुखदुःखमा उनीहरूको साथ कस्तो छ ? योजना कसरी बनाउँछन् भन्नेलगायतका विषय केलाउँछौँ ।

धनकुटा– बुढेसकालको सहारा बनेको लौरोलाई भित्तामा अड्याएर मेयरको कार्यकक्षमा एक जना वृद्ध कुरिरहेका थिए । उनको आँखामा कुतूहल र अपेक्षा घुमिरहेको थियो । ९२ वर्षीय सलबहादुर श्रेष्ठसँगै उनका छोरा कमलबहादुर श्रेष्ठ पनि थिए ।

 

धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल टुप्लुक्क आइपुगे । आफ्नो कुर्सीतर्फ नलागी सोफामा बसिरहेका वृद्ध सलबहादुरकै छेउ गएर टुसुक्क बसे, मेयर नेपाल ।

 

‘लौरो सद्धे छ निबुबा?’ मेयर सोधे ।

 

जवाफमा सलबहादुरले भने, ‘बाँचुन्जेल चल्छ होला ।’

 

गत वर्ष नै महालक्ष्मी नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लौरो बाँडेको थियो । सँगै रहेका सलबहादुरका छोरा कमलले भने, ‘पोहोर दिनुभएको कम्बलको न्यानोले जाडो कटाउँदै छौँ ।’

 

नगरले सलबहादुरजस्तै ८० कटेका ३ सय ७५ मध्ये २ सय ६१ जना ज्येष्ठ नागरिकलाई पोहोर साल कम्बल, लौरोसँगै ‘हटब्याग’ पनि बाँडेको थियो । बाँकीलाई यस वर्ष बाँड्ने योजना रहेछ ।

 

सलबहादुर पनि यस वर्षका आकांक्षी रहेछन् । नगरमा गए पाइन्छ भनेर १ घन्टाको बाटो हिँडेरै नगरपालिका आइपुगेका रहेछन्, सलबहादुर ।

 

कान कम सुन्ने सलबहादुरको नजिकै मुख लगेर ठूलो स्वरमा मेयर नेपालले सोधे, ‘के सेवा गरूँ बुबा ?’

 

‘चिसोले हात, गोडा, जिउ कट्कटी खान्छ, तातो पानी भरेर सेक्ने कुन्नि के दिनुहुन्छ रे बाबुले भनेर...’ यत्तिकैमा रोकिए सलबहादुर ।

 

मेयर नेपालले तत्कालै सामाजिक विकास शाखाका कर्मचारीलाई फोन लगाए । लगत्तै स्टोर किपरलाई पनि फोन गरे । उताबाट के जवाफ आयो कुन्नि । यता मेयरले भने चिया मगाए ।

 

लगत्तै मेयरको कार्यकक्षमा २ नौजवान पसे । मैलो टोपी, चप्पल, उध्रिएको ज्याकेट लगाएर अँध्यारो मुख लिएर पसेका दुवै जनाको आँखा मेयरका कुर्सीतर्फ थिए । मेयर भने उनै वृद्ध सलबहादुरसँगै थिए ।

 

हातमा २ पन्ना कागज बोकेका दुवैले मेयरलाई २ हात जोेडे । ‘१ महिनाको बीचमा १ दर्जन बाख्रा र पाठा मरे हजुर,’ हातको निवेदन थम्याउँदै उनीहरूले भने ।

 

मेयर नेपालले गम्भीरतापूर्वक निवेदन पढे ।


‘विपद् कोषबाट दिनका लागि मुचुल्का गर्नुपर्छ । धेरै झन्झट छ, मैले अहिले दिन सक्ने त्यही ५ हजार रुपैयाँ हो । यही लैजानुस् अनि पशुको सरलाई भनेर एक पटक देखाउनुस्, बरु बाख्राको बड्कौंला बिहानै धनकुटा लगेर देखाउनुस् । रोगको उपचार नगरी अरू बाख्रा नथप्नुस् है ।’


मेयरबाट सुझाव चाहिएको थियो कि सहयोग । त्यो ती दुवैले खुलाएनन् । हवस् भनेजस्तो संकेत गर्दै उनीहरू लागे ।

 

स्टोरका कर्मचारीले एउटा हटब्याग ल्याएर मेयरलाई दिए ।


हामीले एउटा फोटो खिच्न आग्रह गर्‍यौँ । मेयर परशुराम नेपाल, उपमेयर मञ्जुकुमारी कार्की अधिकारी र वृद्ध सलबहादुर हाम्रो क्यामेरामा कैद भए ।

 

वृद्धले हटब्याग पाए, हामीले फोटो । तर, दर्जन बाख्रा मरेर नगरपालिका पुगेकाले के पाए खै !