ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं.- ५ पापुङकी ५९ वर्षीया बुधमाया साँवा पालिकाको केन्द्र साँवामा काम सकेर आफ्नो घर पापुङतर्फ फर्कंदै थिइन् । साँवाबाट पापुङतर्फ लाग्दै गर्दा अचानक उनको खुट्टा चिप्लिएर ढुंगामा ठोकियो ।
त्यही बेला उनको खुट्टा मर्कियो । वृद्ध शरीरकी बुधमायाको सहारा भनेको टेक्ने लौरोबाहेक केही थिएन । खुट्टा मर्किएपछि उनी नजिकैको चौतारोसम्म घिस्रिएर पुगिन् । त्यहाँबाट करिव एक घण्टा दूरीमा रहेको उनको घर पुग्ने आँट बुधमायामा हराइसकेको थियो । त्यही भएर उनी चौतारोमै आफूसँग भएको मजेत्रो ओछ्याएर ढल्किइन् ।
विस्तारै खुट्टा अति दुख्न थाल्यो । खानापिनाको त कुरै भएन । चौतारोमा बसेर आराम गर्नुबाहेक उनीसँग अर्को कुनै विकल्प थिएन । घरमा आफन्तलाई खबर गरौँ, खबर गर्ने माध्यम आफूसँग छैन ।
उनले सोचिन्, ‘यही बाटो हुँदै जाने चिनेका मान्छेलाई घरमा पुग्ने गरी खबर पठाउँदा ठीक होला ।’ तर, त्यस दिन दिनभर उनले चिनेका कोही मान्छे त्यो बाटो हिँडिदिएनन् ।
अचानक एक जना मान्छे तलबाट आफू बसेको चौतारोतर्फ आउँदै गरेको बुधमायाले मेसो पाइन् । जब ती मान्छे आफूले ठम्याउने ठाउँमा आइपुगे, बुधमायाको साहस बलियो भयो । उनी आफ्नै वडा अध्यक्ष डण्डु शेर्पा रहेछन् ।
‘आमा के भयो भनेर सोधे । मैले आफू घाइते भएको अवस्था बताएँ’, बुधमायाले भनिन्, ‘त्यसपछि उनले मैले ओछ्याएको मजेत्रो मागे र मलाई बोकेर घर लगे ।’
सहाराविहीन भएर जंगलको बीचमा भएको चौतारोमै रात कटाउनुपर्ने हो कि भन्ने अवस्थामा वडा अध्यक्ष शेर्पाले गरेको गुन बिर्सनै नसक्ने रहेको बुधमायाले बताइन् । भनिन्, ‘ऊ बेला छान्दै जनताको भलाइ गर्नेलाई नै छानिएछ ।’
बुधमायाले वडा अध्यक्ष शेर्पाले गरेको गुन सम्झिँदै थपिन्, ‘आफूले पाउने वर्षभरीको पैसा पनि हामी गाउँलेलाई तातो कपडा किन्नै खर्च गर्छन् । हामी बाटैमा लडेका बूढाबूढीलाई पनि बोकेरै घर पुर्याउँछन् ।’
गाउँका नागरिक साह्रै समस्या परेको खबर आए आफूसँग भएको रकम पनि गाउँलेका लागि खर्चिंदै आएका छन् वडा अध्यक्ष शेर्पाले । उनले आफू निर्वाचित भएको पहिलो छ महिनाबाहेकको पारिश्रमिकसमेत आफ्नालागि लिएका छैनन् ।
वर्षभरीको आफ्नै पारिश्रमिकमा केही रकम थप गरेर उनले गाउँभरका ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई न्यानो कपडा खरिद गरेर वितरणसमेत गर्दै आएका छन् । ‘गाउँका जनता भनेपछि मरिमेट्ने बानी छ’, वडा अध्यक्ष शेर्पालाई लक्षित गर्दै स्थानीय बृखबहादुर साँवाले भने ।
उनले अप्ठ्यारो पर्दा जनतालाई तन, मन र धनले सहयोग गर्ने नेता आफूहरूले पाएकामा गर्व गरे । हिँड्न नसक्नेलाई बोकेर गन्तव्यसम्म लैजाने, आफ्नो पारिश्रमिक पनि जनताकै लागि खर्च गर्ने, उपचारमा खर्च गर्नै नसक्ने अवस्थामा आफूले सक्दो सहयोग गर्ने डण्डुको बानीप्रति गाउँका नागरिक खुसी छन् । भन्छन्, ‘जनताको प्रतिनिधि हुनु त डण्डु जस्तो पो !’