रुपन्देही– बुटवल उपमहानगरले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका नगरबासीलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ ।
उपमहानगरका जनप्रतिनिधिले कोरोना संक्रमित नगरबासीका घरमै पुगेर भिटामिन बी, सी, डी, ई, अमला र गिलोयेका चूर्ण, जिंक ट्बालेट, पेन्टाप्राजोल ट्याबलेट र सिटामोलसहितका औषधी उपलब्ध गराएका हुन् ।
ती सहयोग सामग्री हालसम्म ७ सय ४१ जनाको घरमै पुगेर वितरण गरिएको उपमहानगरले बताएको छ । कोरोना संक्रमित भई होम आइसोलेसनमा बस्नेहरूले छिमेकीको सहमति र सम्बन्धित टोल विकास संस्थाको सिफारिससहित वडा कार्यालयबाट होम आइसोलेसनमा बस्ने पत्र बनाउनुपर्ने उपमहानगरको नियम छ ।
कोरोना बिमाका लागि सोही पत्रको आधारमा मात्र यसको सिफारिस गरिने समेत गरिने बुटबल उपमहनगरपालिकाले जनाएको छ । उपमहानगरले कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि नगरभित्र स्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई घरमै अक्सिजन सिलिन्डर पु¥याउने तयारी गरेको छ ।
नगरपालिकाभित्र होम आइसोलेसनमा बस्नेहरूको संख्या बढ्दै गएको र होम आइसोलेसनमा बस्नेहरूमा जटिल समस्या देखिन थालेपछि उपमहानगरले आपतकालीन अवस्थामा घरसम्मै अक्सिजन ग्यास उपलब्ध गराउने तयारी थालेको हो ।
‘होम आइसोलेसनमा रहेकाहरूको स्वास्थ्यमा जटिल समस्या देखिने र कतिपयको मृत्यु हुन थालेपछि घरमै अक्सिजनको सिलिन्डर पु¥याएर बिरामीलाई स्वास्थ्यलाभका लागि सहयोग गर्ने तयारी थालेका छौं’, उपमहानगर प्रमुख शिवराज सुवेदीले भने ।
अहिले होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योगा र आयुर्वेद औषधी वितरण, एम्बुलेन्स तम्तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी पु¥याएको उपमहानगरले अहिले तिनै रोगबाट ग्रसितहरूको अवस्थालाई ध्यानमा राखेर अक्सिजनसहितको स्वास्थ्य सेवा पु¥याउने तयारी गरिरहेको सुवेदी बताउँछन् ।
यसका लागि उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन ग्यास उत्पादकसँग छलफल गर्न प्रमुख सुवेदीले निर्देशन दिइसकेका छन् ।
‘ग्यास उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक अध्ययनसँगै प्रक्रिया अगाडि बढाएका छौं’, प्रमुख सुवेदीले भने ।
उपमहानगरका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीको सेवालाई थप व्यवस्थित गराएर स्वास्थ्य संस्थामार्फत वडा तहको सहकार्यमा संक्रमितको नियमित स्वास्थ्य निगरानी सुरु गरिएको छ । यसका लागि उपमहानगरले वडा तहमै तत्काल रेस्पोन्स टिम बनाउने तयारी थालेको छ ।
प्रमुख सुवेदीले जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन–स्रोत अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको बताए । समयमै आइसियु बेड नपाउँदा आप्नै कर्मचारीको कोरोना संक्रमणबाट निधन भएपछि उपमहानगरका जनप्रतिनिधि थप सचेत बनेका हुन् ।
बुटवल उपमहानगर– ११ का वडाध्यक्ष रामचन्द्र खनाल कोरोना संक्रमितका घरघर नगरपालिकाले स्वास्थ्य लाभको कामनासहितको कार्ड, भिटामिन र आयुर्वेद औषधी लिएर बुटवलका ७ सय घर पुगिएको बताउँछन् ।