रुपन्देही– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा–१२ का वडाध्यक्ष नारायण खड्काले कोरोना पोजेटिभ भएकाहरूलाई आफ्नै घरमा आइसोलेसन बनाएर राख्ने व्यवस्था मिलाएका छन् ।
कोरोना संक्रमणको महामारीले देश आक्रान्त बनिरहेको स्थानीय सरकारका वडाध्यक्ष खड्काले उदाहरणीय काम सुरु गरेका हुन् । वडामै सामुदायिक आइसोलेसन स्थापना गरेर संक्रमितहरूलाई राख्ने व्यवस्था रहे पनि खड्काले आफ्नै घर दिएका छन् ।
खड्का भन्छन् ‘कोरोना संक्रमितलाई गाउँमा आउन नदिने भन्ने समाजको अहिले पनि हेर्ने दृष्टिकोण नकारात्मक नै छ । यस्तो अवस्थामा मैले आफ्नो घरलाई आइसोलेसनको रुपमा परिवर्तन गरेको हुँ । बाहिर बनाउन वडासँग त्यस्तो कुनै बजेट छैन, जसले कोरोना संक्रमितका लागि खर्च गरोस् । अहिलेसम्म गोजीबाटै खर्च गरिरहेको छु ।’
अध्यक्ष खड्काले आफ्नो वडामा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएकामा तिनमा ३ जना निको भइसकेका र २ जना आइसोलेसनमा रहेको बताए । ‘चेक गर्ने हो भने सबैलाई संक्रमण छजस्तो लाग्छ किनकि धेरैलाई त्यस्तै लक्षण देखिएको छ । म आफैंमा पनि त्यस्तो लक्षण देखिएको छ । पालिकामा स्वाब दिएको छु । पोजेटिभ देखिए त्यही आइसोलेसनमा बस्छु । संक्रमितलाई पनि हौसला बढ्छ,’ खड्का भन्छन् ।
खड्काका अनुसार व्यवस्थित बनाउन सके आफ्नो घरमा १० जनाका लागि आइसोलेसन बनाउन मिल्छ । घर आइसोलेसनजस्तो बनाउने नभए पनि लक्षण देखिएका तर गम्भीर नभएकाहरूका लागि त्यही राख्न सहज हुने देखिएको अध्यक्ष खड्काले सुनाए ।
२ जना विदेश जान हिँडेकामा दुवैले टेकुमा कोरोना टेस्ट गराएपछि १ मा पोजेटिभ देखियो र अर्कोमा नेगेटिभ देखिए पनि विदेश उडेको उनले बताए । ‘अर्कोले पोजेटिभ देखियो भयो भनेर फोन ग¥यो । मैले त्यही बस भनें । उनी बसको पछिल्लो सिटमा बसेर फर्किसकेका रहेछन् । गाउँमा उसलाई आउनै नदिने र उतै बस्न लगाउने भन्ने कुरा पनि चले । मेरै घरमा राख्छु भनेर बोलाएँ’, वडाध्यक्ष खड्काले भने ।
वडाध्यक्ष खड्काले आफ्ना नाममा यो पटकको दसैं भत्ता पनि आइसकेको बताए । तेल खर्चसहित मासिक २५ हजारका दरले आउने भत्ता पनि कोरोनामै खर्च गरेको उनले सुनाए । पहिले भत्ता बाँडने गरे पनि अहिले उक्त भत्ता आइसोलेसनमा बसेकाहरूको खानालगायतमा खर्च गर्दै आएको खड्का बताउँछन् ।
उनले भने, ‘मेरो पुख्र्यौली सम्पत्ति हो । हामी २ भाइ छााैं । मेरो मात्र नभएर भाइको समेत घरलाई हामीले आइसोलेसन बनाउने तयारीमा छौं । हामी १० जना परिवार अट्ने ठाउँ हो । अहिले पनि १० संक्रमितलाई राख्ने र अर्काेमा पनि १० जना राख्ने गरी व्यवस्था मिलाउँदै छौं ।’
घरको आइसोलेसनमा बसेकाहरूलाई आमाले पकाएर खाना दिँदै आएको खड्काले जानकारी दिए । दैनिक कुखुराको मासु र सुप अनिवार्य भए पनि अरु सामान्य खाना नै दिने गरेको खड्का बताउँछन् । जनप्रतिनिधि भएदेखिको तलब भत्ता र सुविधा सबै गरिब असहायलाई बाँड्दै आएको उनले सुनाए ।
‘म प्रहरीको अवकाशप्राप्त जुनियर अधिकृत हुँ । दोहोरो सुविधा लिन मिल्दैन । चुनावी घोषणामै भनेको थिएँ, जनप्रतिनिधिबापत आएको तलब, भत्ता सुविधा सबै जनताका लागि हुनेछ । तर, अहिले लुम्बिनी प्रदेशले भने दोहोरो भत्ता लिन मिल्ने गरी निर्णय गरेको छ । मैले त्यही लिएर बाँडेको छु’, खड्काले भने ।