सिन्धुपाल्चोक– झिसमिसेमै मोबाइलमा बज्ने घन्टीले निद्रा बिथोलिन्छ । फोन गर्नेले समस्या राखेपछि ‘एकैछिनमा आउँछु अनि सल्लाह गरौंला’ भन्नैप¥यो । खाजा–खानाको टुंगो छैन । त्यसका लागि झोलामा हमेसा हाजिर छन्, केही पोका बिस्कुट, चाउचाउ र पानीको बोतल ।
दुई महिनादेखि यस्तै नियमित रुटिनमा गुडिरहेकी बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जनताको स्यावासी पाइरहेकी छन् । नेतृत्वको वास्तविक मूल्यांकन पनि दुःखपीडामै हुने हो । बाह्रबिसे नगरबासीले यतिबेला उनै पाख्रिनलाई चिनेका छन्, कामकाजी जनप्रतिनिधिका रुपमा ।
गत २४ असारमा बाह्रबिसे नगरपालिका–५ को खागदल र जम्बुमा बाढीपहिरोले वितन्डा मच्चाएयता सुशीलाको रुटिन बिहानै पीडित, विस्थापितसँग पुग्नु, दिनभर उनीहरूकै समस्यामा केन्द्रित हुनु, राहत वितरण गर्नुमै बितिरहेको छ ।
‘जनताको सेवा गर्छु भनेरै राजनीतिमा लागेकाले दुःखका बेला झन् उनीहरूकै साथमा रहनुपर्ने ठानेरै जनतासँग नजिक भएकी हुँ,’ घुम्थाङ पहिरोपीडितबीच भेटिएकी पाख्रिनले भनिन्, ‘अल्छी र दिक्दार मानेको भए कार्यालयमै बसेर खटनपटन गर्न सक्थें ।’
बाढीपहिरोले विध्वंश मच्चाएपछि जम्बुका पीडितबीच पुग्ने पहिलो जनप्रतिनिधि पाख्रिन नै थिइन् । त्यसयता निरन्तर जम्बु, खागदल, कुखुरेका पीडितबीच नै रमाइन् । तीनै ठाउँका पीडित सामान्य लयमा फर्किदै गर्दा पाख्रिनलाई लागेको थियो एक साताजति आराम गर्न पाइएला ।
तर, फेरि २७ भदौ राति परेको भीमकाय पहिरोले नगरभित्रकै सुन्दर बस्ती घुम्थाङको भीरखर्क र नागपुजेलाई निलेपछि पाख्रिनको शरीरले आराम पाउन सकेन ।
‘पहिरोले गाउँ बगाएको खबर बिहान ४ बजे पाएपछि उज्यालो नहुँदै त्यहाँ पुग्दा सुन्दरबस्तीको एक भाग नामेट भएको रहेछ । मन थाम्नै सकिनँ,’ पाख्रिन सुनिइन्, ‘परिस्थिति आफैं विलौना गरेर बस्नेजस्तै थियो तर आत्मबल बढाएर उद्धारमा खटिएँ ।’
जम्बुको पहिरोपछि नगरपालिकाले उपप्रमुख, सम्बन्धित वडाध्यक्ष घटनास्थल र नगरप्रमुख प्रदेश, संघीय सरकारसँगको समन्वयमा केन्द्रित हुने निर्णय गरेपछि पाख्रिनलाई यो अवसर पनि जुट्यो । पहिरोपछि उनी निरन्तर घुम्थाङको नागपुजेमै छिन् ।
राहत संकलन र वितरणको संयोजन गर्नु, टेन्टमा बसिरहेका झन्डै ३ सय जनालाई खाना खुवाउनु, उनीहरूका गुनासो सुनेर समाधान गर्नु, विस्थापितको अस्थायी आवासस्थलमा खटिएका स्वयंसेवकको कमान्ड गर्नु सुशीलाको दैनिकी बनेको छ ।
‘विपद्का बेला नगरका पदाधिकारीले के गर्लान् भन्ने शंका थियो,’ वच्छलादेवी मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय युवा अगुवा रेशम प्रधान भन्छन्, ‘तर गर्व गर्न लायक जिम्मेवारी निर्वाह गरे ।’
टेन्टमा बसिरहेका झन्डै ३ सय विस्थापितलाई सगोलमा खाना खुवाउन गाह्रो भए पनि पाख्रिनको नेतृत्वमा स्थानीय युवाहरू पनि परिचालित भएका छन् । शौचालय बनाउने, खानेपानी, विद्युत्लगायत टेन्टमा आवश्यक पर्ने आधारभूत आवश्यकता पूरा गर्न पाख्रिन आफैं खटिएपछि उनलाई सहयोग गर्न स्थानीय युवा र विस्थापितका सहयोगी हातहरू तम्तयार हुने गरेका छन् ।
उपप्रमुख पाख्रिनले सुत्केरी महिलालाई बाँड्न स्यानेटरी प्याड, पोषणयुक्त खानेकुरा र बालबालिकालाई पर्याप्त खेलौना बोकेकी हुन्छन् । ‘दाल, चामल, नुन, तेल, चिनी, चियापत्ती, साबुनजस्ता आवश्यक सामग्री हामी आफैंले दिएका छौं’, उपप्रमुख पाख्रिनले भनिन् ।