close

स्यानिटरी प्याड र दिवा खाजामा लाखौं बेरुजु

स्यानिटरी प्याड र दिवा खाजामा लाखौं बेरुजु

Trulli
ADVERTISEMENT

इलाम । फाकफोकथुम गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न खर्च गरिएको रकम बेरुजु देखिएको छ । 

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाले खरिद गरेको २२ हजार २८७ थान स्यानिटरी प्याड खरिदको रकम बेरुजु देखिएको हो । कोरोना संक्रमणलाई कारण विद्यालय बन्द रहेको अवस्थामा समेत स्यानिटरी प्याड खरिद गरेको देखाए पनि बिल भर्पाई पेश नगरेका कारण महालेखाले सो रकमलाई बेरुजु देखाएको छ।

त्यस्तै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत बाल बालिकाहरूका लागि दिवा खाजा प्रतिविद्यार्थी १५ रुपैयाँका दरले १८० दिनका लागि निकासा पठाएको छ। तर, पालिकाले विद्यार्थीलाई दिवा खाजाका लागि २५ विद्यालयलाई १४ लाख ९२ हजार ८७६ रुपैयाँ निकासा पठाएको रकममा सम्बन्धित विद्यालयहरूले विद्यार्थीलाई खाजा खुवाएको वा नखुवाएको भन्दै महालेखाले प्रश्न उठाएको छ । 

कोरोनाका कारण विद्यालय लामो समयसम्म बन्द भएकोले के कति खर्च भएको हो यकिन हुन नसकेकोले विद्यार्थीलाई दिवा खाजा रकम कति खर्च गरेको हो प्रमाण पेश गर्न गाउँपालिकालाई निर्देशन दिएको हो। खाजा खर्चका लागि गाउँपालिकाले १४ लाख ९२ हजार ८ सय ७६ रुपैयाँ खर्च गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार लिम्बूले आफू नयाँ कर्मचारी भएको र बेरुजुको विषयमा अध्ययन भइरहेको बताए । यता गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले आफू नयाँ निर्वाचित जनप्रतिनिधि भएको र अघिल्ला जनप्रतिनिधिले गरेका बेरुजुको विषयमा अध्ययन गरी यथार्थ सार्वजनिक गर्ने बताएका छन्।