शेरबहादुर लिम्बू
अध्यक्ष, छथर जोरपाटी गाउँपालिका, धनकुटा
धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू निर्वाचित भएर आएपछि पालिकामा पूर्वाधार निर्माणले गति लिएको बताउँछन् । लिम्बूसँग पालिकाको नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन, योजना, कार्यकालको समीक्षालगायत विषयमा गरिएको कुराकानी :
यो आर्थिक वर्षको बजेटमा तपाईंहरूले स्वास्थ्य, कृषि, शिक्षा र पर्यटनलाई मुख्य प्राथमिकता दिनुभएको छ । के–के छन् कार्यक्रम बताइदिनुस् न ?
पहिलो चौमासिक समाप्त भएको छ । खासगरी कोभिडका कारणले पनि स्वास्थ्य क्षेत्रलाई बढी जोड दिएका छौँ । त्यसबाहेक शिक्षा, पूर्वाधार क्षेत्रमा हाम्रो उच्च प्राथिमकता छ । यो चौमासिकमा खासै काम गर्न सकेका छैनौँ । तर, सभाले पारित गरेका कार्यक्रमलाई अघि बढाउने तयारीमा छौँ । स्वास्थ्य क्षेत्रमा कोभिड अस्पताल सञ्चालन गरेका छौँ । त्यसको जनशक्ति व्यवस्थापन गर्ने, ल्याब सेवा विस्तार गर्ने योजना बनाएका छौँ । सबै गाउँको स्वास्थ्य सेवामा पहुँच पु¥याउने तयारी गरिरहेका छौँ । त्यसैगरी स्वास्थ्यसँगै जोडिएका अपांगता रोकथाम, उपचार र पुनस्र्थापना कार्यक्रम पनि अघि बढाएका छौँ ।
कृषि र पशुपालनमा अनुदान मात्र दिनुभएको छ कि उत्पादनको बजार पनि खोजिदिनुहुन्छ ?
अनुदान मात्रै होइन, यसको विविध पक्षलाई केलाउँदै अघि बढेका छौँ । हामीले जोसँग जोश, जाँगर छ, क्षमता छ तर स्रोत–साधन छैन । उनीहरूलाई स्रोत भर्ना सापटी कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यसमा समूह खोलेर वा फार्म खोलेर अघि बढेकालाई सहयोग गरिरहेका छौँ । नमुना खेती, पकेट खेती कार्यक्रम अघि सारेका छौँ । उहाँहरूको बजारीकरणका लागि एउटा सहकारीसँग सहकार्य गरेर हरेक शुक्रबार उत्पादनको बिक्री वितरण गरिदिनेलगायत काम गरिरहेका छौँ ।
पूर्वाधार विकासमा छथर जोरपाटीले हासिल गरेका उपलब्धिलाई कसरी सम्झनुहुन्छ बताइदिनुस् न ?
यो पालिकामा अहिले पनि हाम्रो कार्यालय भाडामा छ । कार्यपालिकाको भवन बन्दै छ । दुई वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । जीर्णोद्धार भएका स्वास्थ्यका भवन बनाएका छौँ । सडकको क्षेत्रमा हामीले २ किलोमिटर जति सडक पक्की बनाएका छौँ । २३ किलोमिटर सडकको काम पनि छिट्टै सञ्चालनमा आउँदै छ । अहिलेसम्म हामीले २ किलोमिटर सडक बनाएका छौँ । ३० किलोमिटर ग्राभेल र २२ किलोमिटर सोलिङ गरेर १२ महिना सवारीसाधन चल्न मिल्ने बनाएका छौँ । साँघुरो सडकलाई फराकिलो बनाएका छौँ । २८ किलोमिटर नयाँ सडक बनाएका छौँ । ६ वटा सबै वडामा अहिले गाडी गुड्न सक्ने भएको छ ।
छथर जोरपाटीले आफ्नो पालिकाको भूमिलाई वैज्ञानिक तरिकाले उपयोगमा ल्याउन भू–उपयोग नीति लागू गर्ने नीति लिएको छ, कहाँ पुग्यो काम ?
त्यसका लागि हामीले भू–उपयोग नक्सा बनाउन लागिरहेका छौँ । हाम्रो प्रारम्भिक कार्य सुरु भएको छ । पूर्ण प्रतिवेदन आएपछि हामी ५० प्रतिशत सम्पन्न कामलाई थप अघि बढाउँछौँ ।
पालिकाभित्र रहेको बेरोजगारहरूको सूची पक्कै पनि तयार भएकै होला । रोजगारका लागि खाडी धाउने युवा जमात पनि उत्तिकै छ । यी समस्यालाई दीर्घकालीन रूपमै समाधान गर्न पालिकाले कस्ता कार्यक्रम ल्याएको छ ?
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ सय ९२ युवाको नाम सूचीकृत गर्यौँ । तर, २ सयले मात्रै रोजगार पाए । वैदेशिक रोजगारीमा जान बाध्य युवालाई रोक्न हामीले कृषि क्षेत्रमा संलग्न हुन सोधभर्ना कार्यक्रम, मेट्का कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । युवालाई स्वरोजगार बनाउने काम गर्दै आएका छौँ । ३ सय युवाले अहिलेसम्म तालिम लिएर उद्यमी बन्ने तरखरमा छन् । लोकसेवाको तयारी कक्षा पनि सञ्चालन गर्ने काम गरिरहेका छौँ । युवा उद्यम कार्यक्रम पनि सञ्चालनमा छ । त्यसमा मापदण्डमा परेका युवालाई उद्यमी बनाउने नीति अघि सारेका छौँ । हाम्रो निरन्तर चलिरहने पूर्वाधार आयोजनाका लागि युवा शक्ति परिचालन गरिरहेका छौँ ।
कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिइसकेको छ । तपाईंको पालिकाले कसरी तयारी गरिरहेको छ ?
हामीले कोभिड अस्पताल सञ्चालन गरेका छौँ । कोभिड अस्पतालमा ल्याब सञ्चालन गर्ने तयारी गरेका छौँ । ६ वटै वडामा स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड, चिकित्सकको व्यवस्था गरिएको छ । हामीसँग १८ हजार जनसंख्या छ । त्यसमध्ये ११ हजारले पहिलो र दोस्रो डोज खोप लगाइसकेका छन् । कोभिडले गर्दा रोजगारी गुमाएकालाई राहत व्यवस्थापन गरेका छौँ । भविष्यमा महामारी भित्रिए हामी त्यो कार्यक्रमलाई फेरि सुरु गर्नेछौँ ।
अन्त्यमा, निर्वाचनका बेला जनतासँग के–के गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ? ती कति पूरा भए ?
हाम्रा सबै बाटो हिलाम्य र धुलाम्य थिए । हामीसँग १२ महिना सडक चल्ने अवस्था थिएन । हामीले १२ महिना सडकमा सवारी गुड्ने अवस्था ल्याउने वाचा गरेका थियौँ । त्यो पूरा भएको छ । शिक्षा क्षेत्रमा समस्या थियो । शिक्षाको गुणस्तर कायम ग¥यौँ । बालविकास केन्द्रलाई बलियो बनाउन जोड दियौँ । त्यहाँ पढाउने शिक्षकको व्यवस्था, मन्टेश्वरी तालिमसमेत दियौँ । कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । अब कसैले गुणस्तरीय शिक्षाका लागि बसाइँसराइ गर्नु नपर्ने अवस्था छ । हामीले विज्ञान विषय पढ्नेलाई छात्रवृत्ति लागू गरेका छौँ । मातृभाषाको संरक्षण गर्न मातृभाषको शिक्षा लागू गरेका छौँ । तीन वटा नयाँ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाएका छौँ ।