शकुन्तला बस्नेत
उपप्रमुख धनकुटा नगरपालिका, धनकुटा
प्रदेश १ धनकुटाको धनकुटा नगरपालिका प्राचीन सहर हो । हालको धनकुटा नगरपालिकामा करिब ४ सय वर्ष पहिलादेखि नै बस्ती बसेको मानिन्छ । राणाकालदेखि चर्चित यो सहर पञ्चायतकालमा पूर्वको मुख्य केन्द्र थियो । संघीयता कार्यान्वयनसँगै प्रदेश १ को राजधानी विराटनगर हुने भएपछि धनकुटा ओझेल परेको छ । धनकुटाको विकास, निर्माण आदि विषयमा नगर उपप्रमुख शकुन्तला बस्नेतसँग गरिएको कुराकानी :
संघीयता कार्यान्वयनसँगै धनकुटा नगरपालिका अलि ओझेल परेको हो ?
पूर्वाञ्चलको राजधानी भएका कारण धनकुटाको सबै अड्डा, अफिस लगिए । धनकुटाबासीको मन दुखाइयो । धनकुटा राजधानी हुनुपर्छ भनेर आन्दोलन पनि भयो । यो हरेक हिसाबले हेर्दा राम्रो ठाउँ हो । संरचनाले यो ठाउँ राजधानी बन्न नसक्ने भन्ने ठहर भयो । विराटनगर त साँघुरो भएजस्तो देखिन थालिरहँदा यो ठाउँ झन् अप्ठेरो पर्ने कुरालाई हामीले पनि स्वीकार्न बाध्य भयौँ । तर, विकास निर्माणमा भने पछि परेको पक्कै हो ।
राणाकालदेखि नै पूर्वको चर्चित व्यापारिक केन्द्र धनकुटामा तपाईं निर्वाचित भएर आएपछि थप परिवर्तन के–के भए ?
मुुलुक संघीयतामा गएपछि हामी निर्वाचित भएर आयौँ । ७५ प्रतिशत जति एमालेको नगर कार्यपालिका बन्यो । जनप्रतिनिधिको सोचाइअनुसार धनकुटाको विकास गर्न लाग्यौँ । संघीय सरकारबाट भने आवश्यकताअनुसारको बजेट पाएका होइनौँ । तर, जति बजेट आएको छ, शिक्षा, खानेपानी, बिजुली, खेती किसानको आवश्यकताका आधारमा लगानी गर्यौँ ।
पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाको गृहनगर धनकुटामा विकासको जग बसिसकेको थियो । अहिले धनकुटालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
काठमाडौंमा प्रधानमन्त्री भएर मात्रै भएन नि । धनकुटाका सबै नगरबासीले पाउने सेवा, सुविधा दिन सक्नुपर्यो । उहाँको घर जाने ठाउँमा कच्ची सडक भर्खर बनेको छ । उहाँले त्यति पनि गर्नुभएको थिएन ।
कृषिको पकेट क्षेत्रका रूपमा रहेको धनकुटा एभोकाडोको राजधानीका रूपमा पनि चिनिन्छ । एभोकाडोको खेती विस्तारका लागि नगरपालिकासँग थप योजना के–के छन् ?
हामी आएपछि धनकुटाको फलफूल क्षेत्रमा सुन्तला नाम चलेको ठाउँ हो । अहिले सुकेको बोट थांग्रा बनेको छ । यो खेती असफल भएको छ । हामीले धेरै अगाडि ल्याएर सुरु गरेको एभोकाडो अहिले चर्चित बनेको छ । हामीले एसियाकै दोस्रो एभोकाडाको राजधानी घोषणा गर्यौँ । हामी आफंैले खरिद गरेर १० हजार बिउ र बेर्ना किनेर पालिकाले जनताको घरघरमा माटो पहिचान गरेर यसको उत्पादन गरायौँ । दुई चार बोट त हरेक किसानको घरमा देख्न सकिन्छ, अहिले । एभोकाडोले हरेक वर्ष २५ करोड रुपैयाँको व्यापार गर्दै आएको छ ।
संविधानले उपप्रमुखलाई दिएका अधिकार प्रयोग गर्दा नगरप्रमुखबाट कुनै अवरोध भयो कि भएन ? न्यायिक समितिले कसरी विवाद छिनोफानो गर्ने गरेको छ ?
अर्धन्यायिक सेवाको न्यायाधीश हामीलाई बनायो । यहाँ वरपर न्यायिक सेवा दिने धेरै क्षेत्र छन् । खर्च नभएकाहरू धेरै पीडित हुन्थे । धेरैले पीडा सहेर बस्थे । तर, न्यायिक समिति बनेसँगै १० वडामा न्यायको पहुँचका लागि वडाध्यक्षलाई मेलमिलाप केन्द्र स्थापना गर्ने र तालिम दिएर काम गरिरहेका छौँ । मेलमिलापको तर्फबाटै जनतालाई एक पैसा पनि खर्च गर्नुपर्ने बनाएका छौँ । ६५ वटा मुद्दा आएका छन् । सबै फस्र्योट गरेर हामीले काम गरिरहेका छौँ ।