रमेशकुमार जिमी
नगरप्रमुख धर्मदेवी नगरपालिका, संखुवासभा
संखुवासभाको धर्मदेवी नगरपालिकाका नगरप्रमुख रमेशकुमार जिमी चार वर्षे अवधिमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा विकास गरेको बताउँछन् । उनीसँग पालिकाको नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन, योजना, कार्यकालको समीक्षालगायत विषयमा गरिएको कुराकानी :
कार्यकालको अन्तिम बजेटमा समावेश भएका योजना के–के छन् ? यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?
बजेट लगभग स्थानीय स्तरमा आइसकेको छ । स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार क्षेत्रमा बजेट छुट्याएर हामी कार्यान्वयनको चरणमा छौँ । कार्यान्वयन गर्न अलि ढिला भइरहेको छ । तर, १५ भदौदेखि नै उपभोक्ता समिति गठन गर्ने, ठेक्का प्रक्रिया लगाएर छिट्टै्र अघि बढ्छौँ ।
स्वास्थ्य क्षेत्रमा बढी जोड दिनुभएको छ । पूर्वाधार निर्माणमा लाखौँ खर्च गरिरहँदा स्वास्थ्य क्षेत्रको विकास गर्न यही आर्थिक वर्षमा सम्भव छ ?
हामीले चार वर्ष पूरा गर्यौँ । योबीचमा हामीले सबै वडामा सहरी स्वास्थ्य केन्द्रको अवधारणामा स्वास्थ्यको पहुँच विस्तार गरिसकेका छौँ । त्यसको स्तरोन्नतिका लागि जोड दिएका छौँ । स्वास्थ्यको अधिकारलाई ग्रामीण क्षेत्रमा सरकारले वितरण गर्ने औषधीसमेत प्राप्त नगर्ने अवस्था अन्त्य गर्न सबै वडामा स्वास्थ्य केन्द्र निर्माण र विस्तार गरिरहेका छौँ ।
प्रदेश १ स्थानीय तहमा पनि अत्यधिक बेरुजु रहेको महालेखाले देखाएको छ । कसरी बेरुजु स्थानीय तहमा देखिए ?
जनप्रतिनिधि र कर्मचारीको समन्वयात्मक रूपमा काम गर्नुपर्दा कतिपय पेस्की बाँकी रहेकाले सैद्धान्तिक रूपमा बेरुजु देखिएको छ । कतिपय योजनालाई पेस्कीमा राखेका छौँ । ती योजना अघि बढाउन सकेका छैनौँ । लकडाउनका कारणले कार्यक्रम, सेमिनार पनि गर्न सकेका छैनौँ । पेस्की योजना दिए पनि फरफारक भएको छैन । त्यसैले पनि महालेखाले बेरुजु देखाएको हो । व्यावहारिक र सैद्धान्तिक कुरा नमिल्दा पनि बेरुजु देखिन्छ । त्यसमा कर्मचारी र जनप्रतिनिधिले कानुनको पालना गरेर अघि बढे भने त्यसलाई घटाउन सकिन्छ ।
कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिइसकेको छ । तपाईंको पालिकाले कसरी तयारी गरिरहेको छ ?
कोरोनाको विषयमा दुई लहर रोक्न हामीले विभिन्न काम गर्यौँ । आइसोलेसन, क्वारेन्टाइन बनाउने, बिरामीको घरमै पुगेर उपचार गर्यौँ । तेस्रो लहर रोक्न हामीले लकडाउन नै प्राथमिकतामा राखेका छौँ । बैठक, सेमिनारलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गरिरहेका छौँ । बाँकी अक्सिजनको तयारी, एम्बुलेन्सको व्यवस्था गरेका छौँ । प्रारम्भिक चरणमा हामीले कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ । हाम्रै स्वास्थ्य संस्थाबाट उपचार गर्ने गरी काम गरिरहेका छौँ । प्रदेश सरकारअन्तर्गतका अस्पतालसँग पनि समन्वय गर्ने योजना बनाएका छौँ ।
ग्रामीण अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने भन्नुभएको छ । यो कसरी सम्भव हुन्छ ?
कार्यान्वयनको चरणमा हामीले अलि सकिरहेका छैनौँ । तथापि अर्थतन्त्र बलियो बनाउन प्रयासरत छौँ । हामीले अर्थतन्त्र व्यवस्थापनका लागि विभिन्न परामर्श र सुझाव लिने गरेका छौँ । आम्दानी बढाउने गरी नीति बनाउने योजना बनाएका छौँ । त्यसबाट विकास सिर्जना गर्ने तयारी गरेका छौँ । सोचिएको लक्ष्य पूरा गर्न सकिएको छैन । तर, हामीले त्यसलाई पनि अन्त्य गर्दै अघि बढ्ने प्रयत्न गरिरहेका छौँ ।
अन्त्यमा, तपाईंको अन्तिम कार्यकालसम्म आइपुग्दा नागरिक सन्तुष्ट छन् जस्तो लाग्छ ?
हामीले हाम्रो चुनावमा विभिन्न कार्यक्रम घोषणापत्र जारी गर्यौँ । त्यहीअनुसार काम गर्यौँ । राजनीतिक, कानुनी चुनौती पनि भोग्यौँ । तर, हामीले नेतृत्व गरेर जसरी काम गर्यौँ, योजनाको लगभग ७० प्रतिशत काम गर्न सफल भएका छौँ । अस्पताल निर्माण, खेल मैदान, सडक, खानेपानी व्यवस्थापन गरेका छौँ । विभिन्न विधि र प्रक्रियाबाट हामीले चार वर्ष काम गरिसक्यौँ । बाँकी कार्यक्रम पनि यो अन्तिम कार्यकालमा सम्पन्न गर्ने योजना बनाएका छौँ ।