चिन्तन तामाङ, नगरप्रमुख
धनकुटा नगरपालिका, धनकुटा
धनकुटाको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ देश विकासका लागि आर्थिक स्रोत जुटाउन ऋण लिन हिम्मत गर्नुपर्ने बताउँछन् । देश संघीय व्यवस्थामा जानुअघि धनकुटा पूर्वाञ्चलको प्रशासनिक केन्द्र थियो । पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाको गृहनगर धनकुटामा विकासका पूर्वाधार पहिलादेखि नै निर्माण भएका थिए । संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार गठन भएपछि नगरप्रमुख तामाङसँग धनकुटामा भएका विकास निर्माणबारे गरिएको कुराकानी :
देश संघीय ढाँचामा जानुअघि धनकुटा पूर्वको प्रशासनिक केन्द्र थियो । विकासका पूर्वाधार छँदै दिए । तपाईं नगरप्रमुख निर्वाचित भएपछि धनकुटामा थप के–के काम गर्नुभयो ?
स्थानीय कृषि, पर्यटनलाई अगाडि बढाउने काम ग¥यौँ । पर्यटकीय क्षेत्रको सुधार र प्रवद्र्धन गर्ने, पूर्वाधार निर्माण गर्यौँ । पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने काम गर्यौँ । एभोकाडोको पकेट क्षेत्र भनेर घोषणा गरेका छौँ । सिकाइ केन्द्र बनाउने योजना बनाएका छौँ । तर, तपाईंले भने जसरी विकास भने यहाँ थिएन । हामीले विकासलाई अघि बढाउने योजना लिएर काम गरिरहेका छौँ ।
निर्वाचनका बेला तपाईंका प्रतिबद्धता के–के थिए ? कति पूरा गर्न सक्नुभयो ?
पाँच वर्षभित्र खरमुक्त बनाउने घोषणा पूरा गरेका छौँ । जनताको विश्वासलाई विश्वासघात गर्ने छैनौँ भनेर प्रतिबद्धता जनाएका थियौँ । त्यो हामीले गरेका छौँ ।
धनकुटालाई प्रदेश राजधानी बनाउन तपाईंले पहल गर्नुभएको छ ?
प्रदेश राजधानी बनाउन पहल गरिएको हो । हाम्रो राजनीतिक पहल पुगेन । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पनि हुन नसकेको काम हामीले गर्न सकेनौँ ।
नगरपालिकाका अहिलेका समस्या के–के हुन् ?
सबै ठाउँमा बाटो बनाउन सकिएको छैन । स्रोत–साधनको कमी छ । १६ प्रतिशत मात्रै स्रोत प्राप्त हुन्छ । निर्माण सबै गर्नुपर्ने हुँदा रकम अभाव हुन्छ । जनतासँग प्रत्यक्ष रूपमा रहेर काम गर्नुपर्ने भए पनि हामीले त्यो गर्न सकिरहेका छैनौँ ।
संघीय सरकारले स्थानीय तहमा स–साना ससर्त योजना पठाउने गरेको पाइन्छ । तपाईंको नगरमा संघीय सरकारका यस्ता योजना छन् कि छैनन् ?
स्थानीय तहमार्फत जानुपर्ने हो । त्यो जान सकेको छैन ।
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गरिएको छ । नयाँ बजेटमा स्थानीय तहलाई सहयोग पुग्ने कार्यक्रम छन् ?
छैन । प्रतिस्थापन विधेयक ल्याएर कार्यक्रम नदिने काम भएको छ । स्रोत–साधन सुनिश्चितताको कुरा गर्छन् । तर, उत्पादन खोइ ? ऋण लिएर भए पनि उत्पादन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अमेरिकामा प्रत्येक व्यक्तिको टाउकोमा ६ लाख ऋण छ । हाम्रो २३ कि २४ हजार ऋण हुँदा देश सकियो भन्दै कोकोहोलो मच्याइन्छ । ऋण लिनुपर्छ तर सदुपयोग गर्नुपर्छ ।
अन्त्यमा, संघमा सरकार फेरबदल र पार्टीहरू विभाजन हुँदा स्थानीय तहमा असर पर्छ कि पर्दैन ?
यो हाम्रो सरकार हो । यसको आफ्नै नियम छ । तर, पूर्वाग्रही ढंगले प्रस्तुत हुँदा समस्या हुन्छ । त्यस्तो आयो भने हामी पनि एक्सन लिन्छौँ ।