परशुराम नेपाल, नगरप्रमुख
महालक्ष्मी नगरपालिका, धनकुटा
धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपाल स्थानीय सरकारलाई प्राप्त अधिकार कार्यान्वयन गर्न पनि जनशक्ति अभाव रहेको बताउँछन् । नगरमा पुग्दो जनशक्ति नहुँदा प्रशासनिकदेखि लिएर विकास निर्माण अगाडि बढाउन समस्या भइरहेको सुनाउँछन् । संघीयता कार्यान्वयनसँगै पहिलो कार्यकालका लागि स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएका नगरप्रमुख नेपालसँग बितेका चार वर्षमा गरेका विकास निर्माणलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :
तपाईंले चार वर्ष नगरप्रमुखका रूपमा कार्यभार सम्हाल्दाको अनुभव कस्तो रह्यो ?
स्थानीय सरकारको हैसियतमा हामी जनताका समस्या कस्ता हुँदा रहेछन् भनेर गहिरो ढंगले अध्ययन गरेर समाधान गर्ने काममा लागिरह्यौँ । थुप्रै काम गर्नुपर्ने रहेछ । जनचेतनादेखि विकास, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गर्नुपर्ने रहेछ भन्ने देखेरै काम गर्यौँ ।
महालक्ष्मीले चार वर्षमा गरेका पाँच मुख्य काम के–के हुन् ?
हाम्रो नगर दुर्गम नगरपालिका हो । लेकबेँसी भाग यहाँ छ । हामीले वडा कार्यालयसम्म जाने सडक बनायौँ । यातायात निर्माण गर्यौँ । बजेट त्यसमा खर्च गर्यौँ । आउजाउ सहज बनाउने, कृषि सामग्रीलाई बजारसम्म पुर्याउन बाटोघाटोलाई अघि बढायौँ । पर्यटन क्षेत्रमा पार्क, पोखरी बनायौँ । खानेपानी क्षेत्रमा गाग्रीमा पानी बोकेर खानुपर्ने बाध्यता हटाउने गरी दुई आयोजना सुरु गरेका छौँ । पानी लिफ्टिङ गरेका छौँ । बिजुलीको समस्या भएका ठाउँमा अँध्यारोमा कसैलाई नराख्ने भन्दै ‘उज्यालो नगर, जहाँ नगर त्यहाँ अबर कार्यक्रमको सुरुआत गरेका छौँ । महिलालाई आयआर्जनसँग जोड्ने, चेतनाको विकास गर्ने कार्यक्रम अघि सारेका छौँ । टोल सुधारमार्फत टोलको समस्या समाधान गर्न कार्ययोजना बनाएर काम गरेका छौँ । शिक्षा क्षेत्रमा बालशिक्षा मन्टेश्वरीको व्यवस्था गरेका छौँ ।
संविधानका किटान गरिएका अधिकार प्रयोग गर्न कत्तिको सहज भयो ?
हामीलाई केही अधिकार प्राप्त भएको छ । तर, जनशक्तिको व्यवस्थापन नहुँदा समस्या छ । जनशक्तिको व्यवस्थापन भए हामी काम गर्न सक्छौँ । प्राविधिक रूपमा भने केही असजिलो छ ।
तपाईंहरूले चार वर्षमा भोग्नुभएका अप्ठेरा के–के हुन् ?
हामीसँग पर्याप्त जनशक्ति छैन । विकास निर्माणका लागि चाहिने बजेट छैन । आवश्यकता र माग थुप्रै छन् । लगानी गर्न सकेका छैनौँ ।
स्थानीय सरकारप्रति संघ र प्रदेश सरकारको रवैया कस्तो छ ?
संघ छुट्टै र प्रदेश छुट्टै ढंगले अघि बढेको देखिन्छ । माथिबाट आदेश आउँछ तर हामी कसरी काम गरिरहेका छौँ । जनताको आवश्यकता के हो भन्ने कुरा पहिचान गर्न संघ र प्रदेशले नसक्दा समस्या देखिन्छ । संघीयताको अभ्यास भइरहँदा केही जटिलता आएको होला । विस्तारै मिल्दै जाला भन्ने अपेक्षा छ ।
निर्वाचनका बेला प्रतिबद्धता गरेर पनि गर्न नसक्नुभएका काम के–के हुन् ?
सबै नागरिकलाई आयआर्जनसँग जोड्ने योजना छ । त्यो गर्न सकेका छैनौँ । ठूला बाटो कालोपत्रे गर्न सकेका छैनौँ । हामीले नगरपालिकामा निर्वाचनमा बोलेका ८० प्रतिशत काम सम्पन्न गरेका छौँ ।
तपाईंले पाँचवर्षे कार्यकाल पूरा गर्दा महालक्ष्मी नगरले कस्तो स्वरुप ग्रहण गर्ला ?
शिक्षा, स्वास्थ्य, यातायात, आयआर्जन, व्यावसायिक रूपमा सबैको पहुँच हुनेछ ।
अन्त्यमा, संघीय सरकार तथा राजनीतिक दलमा हुने उथलपुथलको असर स्थानीय सरकारमा कस्तो पर्छ ?
अप्रत्यक्ष असर हुन्छ । अहिलेको सरकार परिवर्तनले सुकुम्बासीको समस्या समाधान हुन सकेन । ठूला आयोजनामा चाहिने बजेट सरकारले रोकेको छ । देखिने काम पनि त्यसले गर्दा रोकिएका छन् । अहिले सरकार परिवर्तन भएसँगै सबै काम रोकिएका छन् । त्यसैले हामी रफ्तारमा हिँड्न सकेका छैनौँ ।