ठाकुर ढकाल
नगरप्रमुख, माडी नगरपालिका, चितवन
चितवनको माडी नगरपालिकामा नेकपा माओवादीबाट नगरप्रमुखको उम्मेदवार बनेका ठाकुर ढकाललाई निर्वाचनमा विजय हुन सजिलो थिएन । २०६२ जेठ २३ मा तत्कालीन माओवादीले यात्रु बसलाई लक्षित गरेर विस्फोट गराउँदा ३८ जनाको ज्यान गएको बाँदरमुढे माडीमै पर्छ । व्यक्तिगत छवि राम्रो हुनु र पूर्वजनप्रतिनिधि हुँदा स्थानीयसँग हिमचिम भएकाले ढकाल जनताको रोजाइमा परे । ढकालसँग यसअघि तत्कालीन गर्दी गाविसको दुई पटक अध्यक्ष भएको अनुभव छ । चितवनको विकट क्षेत्र माडीमा भएका विकासबारे ढकालसँग गरिएको कुराकानी :
माडीलाई ‘मणि’ बनाउन तपाईंले अघि सार्नुभएका योजना के–के हुन् ?
माडी नगरपालिकाको मूल सडक हामी निर्वाचित भएर आउँदा पनि कालोपत्रे थिएन । अहिले कालोपत्रे भएको छ । पुल निर्माण भएको छ । नदी कटानका कारण माडीबासी बाढीका कारण विस्थापित हुँदै आएका थिए । त्यो रोक्न हामीले तटबन्ध बनाएका छौँ । हामीले वनकट्टादेखि बगैसम्मको १२ खोला तर्नुपर्ने हुन्छ । त्यहाँ पुल थिएन । हामीले दुई वटा पुल बनाइसकेका छौँ । सात वटा पुल चार महिनाभित्र बन्छन् । चालू आर्थिक वर्षमै सबै पुल बनाउने योजना बनाएका छौँ । ४० किलोमिटर सडक कालोपत्रे, क्षतविक्षत भएका विद्यालयको नयाँ भवन बनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग पर्ने घम्साघम्सीलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
निकुञ्ज हाम्रो गौरवको विषय हो । यसलाई हामीले साधन र बाधकका रूपमा हेर्नुपर्छ । कतिपय कुरामा कानुनका कारण निकुञ्ज बाधकका रूपमा हेरिएको छ । तर, हामीले यसलाई साधकको रूपमा हेरिरहेका छौँ । यसले पर्यटन प्रवद्र्धन गर्न सक्ने भएकाले हाम्रो ध्यान त्यसतर्फ देखिएको छ । यातायातका हिसाबले जंगलभित्रको बाटो विकसित गर्नुपर्नेछ । धुलो र खाल्डोरहित बाटो बनाउन हामीले बजेटको व्यवस्थापन गरेर काम गर्ने प्रण लिएका छौँ ।
कार्यकालको अन्तिम वर्षमा आइपुग्दा गर्न नसकेका काम के–के हुन् ?
न्यू करिडोर माडीका लागि बहुआयामिक पाटो हो । अहिले बगरको जग्गा करोडौँमा बिक्री हुन सक्छ । अहिले जंगली जनावरबाट उत्तरी भेगमा बढी त्रास छ । त्यसलाई रोक्न सकिन्छ । करिडोर निर्माण गर्दा नदी कटानका कारण बगर भएका जमिन करिडोर बनाउँदा खेतीयोग्य बनाउन सकिन्छ । यो बहुआयामिक करिडोर सुरु मात्रै भएको छ ।
कोरोना महामारी नियन्त्रणमा माडीले गरेको प्रयास प्रशंसनीय छ । महामारी नियन्त्रणमा संघ र प्रदेश सरकारको कत्तिको सहयोग पाउनुभो ?
महामारी नियन्त्रणमा प्रदेश सरकारको तर्फबाट १२ लाख रुपैयाँ आयो । नगरपालिकाकै तर्फबाट हामीले अस्पताल बनायौँ । अस्पतालमा बिरामी अहिले पनि उपचाररत छन् । हामीले ब्लड बैँक निर्माण गर्ने योजना बनाएका छौ । विभिन्न दातासँग सहयोग मागेर काम गरिरहेका छौँ । हामीले ६० लाख रुपैयाँ अनुदान लिएर काम गर्यौँ तर सरकारबाट भने रकम आएन ।
माडीमा राममन्दिर बनाउने विषयले तपाईं पनि विवादमा पर्नुभो । राममन्दिर बनाउने काम कहाँ पुग्यो ?
राम मन्दिरलाई मैले धार्मिक रूपमा हेर्ने भन्दा पनि पर्यटकीय हिसाबले रामग्राम निर्माण गर्ने कुरा आएको छ । राम मन्दिरलाई अगाडि बढाउन हामीले १ सय बिघा जग्गा छुट्याएर अयोध्याधाम बनाउने योजना बनाएका छौँ । नगरपालिकाको लगानीबाट केही काम सुरु पनि भएको छ । अहिले विदेशी र स्वदेशी धर्मावलम्बीले मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता आएको छ । त्यसका लागि सरकारसँग पनि बजेट माग गर्ने हाम्रो तयारी छ ।
संविधानले स्थानीय सरकारलाई दिएका अधिकार प्रयोग गर्दा भोग्नुपरेका अवरोध के–के हुन् ?
नदीजन्य पदार्थको राजस्व संकलन प्रयोग गर्न पाएका छैनौँ । वनसम्बन्धी नीति, रोयल्टीका विषयमा हामीले अधिकार प्राप्त गरेका छैनौँ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको अधिकार हामीले प्रयोग गर्न सकेका छैनौँ । त्यसमा पनि वनसँग जोडिने ऐन बाझिएको छ । यी विषयलाई मैले अवरोध मानेको छु ।