close

आर्थिक अनुशासनकै कारण बागमतीकै कम बेरुजु भएको पालिका बन्यौँ

आर्थिक अनुशासनकै कारण बागमतीकै कम बेरुजु भएको पालिका बन्यौँ

Trulli
ADVERTISEMENT

सिर्जना खड्का
उप–प्रमुख, रामेछाप नगरपालिका, रामेछाप

 

रामेछापको रामेछाप नगरपालिकाले आर्थिक हिसाबकिताब पारदर्शी गरेकै कारण बागमती प्रदेशकै कम बेरुजु भएको पालिका बनेको छ । खड्कासँग जनप्रतिनिधिका रूपमा चार वर्षसम्म काम गर्दाको अनुभव, न्यायिक समितिले गरेका काम, कोरोना महामारी नियन्त्रणमा नगरपालिकाले गरेका प्रयास, प्रदेश र संघीय सरकारसँग भइरहेका समन्यव, महालेखाले हालै जारी गरेको लेखापरीक्षण प्रतिवेदनमा केन्द्रित रहेर गरिएको कुराकानी : 


 

जनप्रतिनिधका रूपमा चार वर्ष काम गर्नुभयो । कस्तो रह्यो अनुभव ? 


नगर क्षेत्रभित्र गर्नुपर्ने धेरै विकासका गतिविधि अगाडि बढाएका छौँ । स्थानीय सरकारले दिने सेवा नजिक बनाएका छौँ । वडाबाट हुने सेवा प्रवाह, विकास निर्माण, सामाजिक न्याय, सुशासन र पारदर्शिता कायम गर्दै विकासको गोरेटो खनेर हामी क्रमिक रूपमा अघि बढेका छौँ । 

 

न्यायिक समितिमा रहेर काम गर्दाको अनुभव सुनाउनुसु न ? 


संविधानको व्यवस्थाअनुसार काम, कर्तव्य र अधिकारभित्र रहेर न्यायिक समितिमा काम गर्दा पीडितको पीडालाई मह्लम लगाउने प्रयास गरेका छौँ । ‘विनविन’ को अवस्थामा न्याय दिन सकेका छौँ । पीडित पक्षको समस्यालाई नजिकबाट नियाल्दा कहिलेकाहीँ दुःख पनि लाग्ने गर्दछ । दुवै पक्षको समस्यालाई नियालेर हामी अघि बढ्ने गर्दछौँ । 

 

न्याय निरुपण गर्दा के–कस्ता कठिनाइ झेल्नुपर्ने रहेछ ? 


स्थानीय तहबाट जसरी कानुनतः व्यवस्था भयो । पहिलो चरण भएकाले केही समस्या त भएका छन् । आलोचना हुनु र समस्या हुनु स्वाभाविक हो । महिला नेतृत्वमा रहेको अवस्थामै हामीले जटिल कामको जिम्मा पाएका हौँ । न्याय सम्पादनजस्तो जटिल काममा अलिकति महिलाले गरेको नेतृत्वलाई समाजले स्वीकार्न नसक्नु कठिनाइको रूपमा देखिएको छ । 

 

कोरोना महामारी नियन्त्रणमा पालिकाको तर्फबाट के–के प्रयास गर्नुभयो ? तेस्रो लहर रोकथामका लागि के–के तयारी छन् ? 


हामीले रामेछाप नगरपालिकामा कोरोना महामारी सुरु भएयता नै राज्यको मापदण्डअनुसार काम ग र्‍यौँ । नागरिकलाई व्यवस्थापन गर्दै पालिकासम्म ल्याउने, आइसोलेसन बनाउने, क्वारेन्टाइनमा राख्ने काम गर्‍यौँ । होम आइसोलेसनको व्यवस्थालाई चुस्त बनाउन चिकित्सक, स्वास्थ्यकर्मी, औषधी दिने व्यवस्था गर्‍यौँ। संक्रमितलाई स्वास्थ्य संस्थामार्फत निगरानी गर्ने, आवश्यकताअनुसार औषधोपचार गर्दै हामी अघि बढ्यौँ । 

 

महिला तथा बालबालिकाको क्षेत्रमा पालिकाको तर्फबाट गरिएका पहल के–के छन् ?


लक्षित वर्गका लागि छुट्याएका बजेट वडाको आवश्यकता पहिचान गरेर कार्यक्रम अघि बढाइरहेका छौँ । महिलाकै कुरा गर्दा पूर्ण रूपमा सेफ हाउस बनाएका छौँ । नगरको उत्पादनलाई जोडेर महिला लघु उद्यमीको व्यवस्थापन गर्न कोसेली घर व्यवस्थापन गरेका छौँ । अपांगता परिचयपत्र वितरण गर्ने, सामग्री वितरण गर्ने काम ग र्‍यौँ। 

 

स्थानीय सरकारसँग संघ तथा प्रदेश सरकारले कत्तिको समन्वय र सहकार्य गर्ने गरेको छ ? 

 

पालिकाको नेतृत्व गर्दै गर्दा प्रदेश सरकारले जुन समन्वय गर्नुपर्ने थियो, त्यो हुन सकेन । हुन त ससर्त बजेट आउँछ तर स्थानीयको समस्याको पहिचान गरेर संघीय सरकारले बजेट दिएको छैन । राजनीतिक पूर्वाग्रहका कारण पनि बजेट नआउने स्थिति छ । पार्टीगत, कार्यकर्तागत बजेट जाने अवस्था छ । जुनअनुसार कानुन बनाउनुपर्ने थियो, स्थानीय तहको आवश्यकतालाई आधार मानेर बजेट दिनेलगायतमा समन्वय भने हुन सकेको पाइँदैन । 

 

अन्त्यमा, महालेखा परीक्षकको कार्यालयबाट हालै जारी गरिएको लेखा परीक्षण प्रतिवेदनअनुसार तपाईंको पालिकाले गरेको खर्चमा बेरुजुको अवस्था कस्तो छ ? 
बागमती प्रदेशकै प्रथम बेरुजु न्यून पालिका हाम्रो हो । हाम्रोमा ० दशमलव ३० प्रतिशत बेरुजु देखिएको छ । प्रदेशकै यो पहिलो बेरुजु कम देखिएको पालिका हो ।