पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालसँग पालिकाखबर बुलेटिनका लागि पालिकाको बजेट, बजेट कार्यान्वयनका चुनौती, पालिकावासीलाई रोजगारी दिन चालिएका कदमलगायतका विषयमा केन्द्रीत रहेर करिष्मा कार्कीले गरेको कुराकानी:
आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटका प्राथमिकता के के छन् ?
आगामी वर्षको बजेटमा हामीले कोभिड व्यवस्थापनलाई महत्व दिएका छौँ । कृषि, स्वास्थ्य, शिक्षा, तालिम दिने, नगरलाई आत्मनिर्भरता तर्फ अघि बढाउने गरी कार्यक्रम बजेटमा समावेश गरेका छौँ ।
बजेटमार्फत कृषि र पूर्वाधारलाई प्राथमिकता दिने भन्नु भएको छ यसका लागि कस्ता कार्यक्रममा कति बजेट छुट्याउनु भएको छ?
कृषि क्षेत्रको विकासका लागि हामीले ३ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेका छौँ । कृषि उद्यमी बनाउने हाम्रो उद्देश्य छ । परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली सुरुवात गर्ने योजना बनाएका छौँ । जसअन्तर्गत हामीले कृषि मेयर कार्यक्रम अघि बढाएका छौँ । उत्पादन लागत घटाएर किसानको विकासमा जोड दिने हाम्रो योजना छ । पूर्वाधारको क्षेत्रमा हामीले सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाएका छौँ ।
कृषि, स्वास्थ्य र पर्यटन विकासका लागि कस्ता योजना छन् तपाईंहरुसँग ?
कृषि उत्पादन वृद्धि गर्ने कृषकको लागत घटाउने गरी योजना बनाएका छौँ । बिउ बिजनमा ५० प्रतिशत अनुदान, उत्पादन संकलन केन्द्र बनाएका छौँ । कृषकले आफ्नो उपज विक्री गर्ने व्यवस्था मिलाएका छौँ ।
कोरोनाका कारण बालबालिकाको पढाइ नराम्रोसँग प्रभावित भएको छ । पठनपाठन र नतिजा प्रकाशनका काम कसरी गरिरहनु भएको छ ?
बालबालिकाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरिसकेका छौँ । भर्ना अभियान सकाएर कसरी विद्यालयसम्म ल्याउन र भौतिक रूपमै पढाई अघि बढाउन सकिन्छ भन्ने योजना बनाएर हामीले काम सुरु गरेका छौँ । अभिभावक, शिक्षा, सरोकारवालासँग छलफल गरेर कोभिडको लहर कम हुँदै जाँदा कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ ।
कोरोनाले पालिकामा कम्तीमा एउटा सुबिधासम्पन्न अस्पताल बनाउनुपर्ने पाठ सिकाएको छ । कोभिड अस्थायी अस्पताल त भयो तर जनतालाई दीर्घकालीन स्वास्थ्य सेवा दिनेबारे के सोचिरहनु भएको छ ?
हामीले १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ । त्यहाँ स्वास्थ्यकर्मीको व्यवस्था गरेका छौँ । त्यसका साथै पालिकामा रहेको चिसापानी अस्पताललाई स्तरीयकरण गदैृ आधारभूत स्वास्थ्यको पहुँच जनताको घरदैलोमा पु¥याउने गरि भवन निर्माण गरेर अघि बढेका छौँ ।
चारवर्षको अवधिमा पालिकाहरुले पूर्वाधारमा लगानी गरे, कृषि क्षेत्रको विकासमा पनि राम्रो काम भएको छ । तर, स्वरोजगार बनाउने र उद्यमशीलता विकासमा भने खासै काम भएन । यो समस्या तपाईहरुकहाँ पनि देखियो । तपाईहरु किन पछि पर्नुभयो ?
हामी पछि परेका छैनौँ । युवा उद्यमीको विकास गरेका छौँ । कृषिमा उहाँहरुको सहभागिता गराएका छौँ । औद्योगिकरणमा जोड दिएर युवा उद्यमी विकास गर्ने योजना बनाएका छौँ । उद्योग स्थापना गर्ने तयारी गरेका छौँ ।
अन्तमा वर्षाको मौसम छ । एकतिर कृषकको उत्पादन बजार पुर्याउन समस्या छ भने अर्कोतर्फ बाढी र डुवानको समस्या पनि छ । यस्तो बेला जनतालाई प्राकृतिक विपत्तिबाट जोगाउन कस्ता योजना बनाउनुभएको छ ?
हामीले क्विक रेस्पोन्स टिम निर्माण गरेका छौँ । विपद्को अग्रिम सूचना दिएर परिचालन गर्ने गरेका छौँ । विभिन स्थान र सार्वजनिक स्थललाई आपताकालिन बासस्थान बनाउने योजना पनि बनाएका छौँ ।