सिन्धुपाल्चोकको भोटेकाेशी गाउँपालिका उत्तरी छिमेकी चीनसँगको महत्त्वपूर्ण नाका तातोपानीसँग जोडिएको छ । २०७२ सालको भूकम्पदेखि तातोपानी नाका बन्द छ । भोटेकाेशी गाउँपालिकामा कृषि उब्जनी खासै हुँदैन । गाउँपालिकावासी पशुपालन र विशेषगरी नाकासँगै निर्भर रहेर जीविकोपार्जन गरिरहेका छन् । नाका बन्द भएपछि उनीहरूको रोजीरोटी खोसिएको छ । भूकम्पले थिलथिलो बनाएको भोटेकाेशी गाउँपालिकामा पुनर्निर्माण करिव सम्पन्न भएको छ । भोटेकाेशीको चार वर्षको विकास निर्माणमा केन्द्रित रहेर गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसँग शिव अधिकारीले गरेको कुराकानी :
भोटेकोशी गाउँपालिकाले कोरोना महामारी नियन्त्रणमा के कस्तो प्रयास गरिरहेको छ ?
भोटेकाेशी चीनसँग जोडिएको नाका हो । गाउँपालिकामा पनि विदेशबाट आएकाहरूका लागि हामीले बनाएको आइसोलेसनमा राखेका थियौँ । गाउँपालिकामा कोरोना संक्रमणको अवस्था खासै नरहे पनि हामीले सतर्कता अपनाएकै छौँ ।
भोटेकोशीमा खासै कृषि उत्पादन हुँदैन । यहाँ पशुपालन बढी छ । गाउँपालिकामा तपाईं आएपछि पशुपालनमा आत्मनिर्भर बन्ने कुनै योजना ल्याउनुभयो ?
भोटेकाेशी गाउँपालिकाका केही क्षेत्र हिमाली भूभाग पनि छ । कृषि उत्पादन खासै नभए पनि हामीले तरकारीलगायत विभिन्न फलफूलको पकेट क्षेत्र बनाउनुपर्छ भन्ने हिसाबले प्रत्येक वडालाई बिरुवा उपलब्ध गरायौँ । भारतबाट खरिद गरेर स्याउका बिरुवा किसानलाई वितरण गरेका छौँ ।
दुई-तीन सय रोपनीमा किबी खेती भइरहेको छ । गाउँपालिकाको वडा नम्बर- ३ मा स्याउ, किबी, दाँते ओखरको खेती भइरहेको छ । कृषकलाई अनुदान पनि दिइरहेका छौँ । किसान आत्मनिर्भर बनून् र गाउँपालिका पनि समृद्ध होस् भन्ने चाहना हो । पशुमा पनि त्यस्तै गरेर हामीले अनुदान दिइरहेका छौँ । चौँरीगाई पालनलाई पनि प्राथमिकतामा राखेका छौँ । पशुपालनमा पनि अनुदान दिँदै आएका छौँ ।
किसानलाई अनुदान दिएपछि आएको परिवर्तनबारे कुनै अध्ययन अध्ययन गर्नुएको छ ?
हामीले बेलाबखत गाउँपालिकाका कृषि संयोजकलाई गोठगोठमा पठाएर पालिकाले दिएको अनुदानअनुसारको काम भए, नभएको सबै हेर्ने गरेका छौँ । बाख्रा र एकै पटक १० वटासम्म अनुदानमा दिइएका बँदेलको प्रगतिबारेको रिपोर्ट लिने गरेका छौँ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन अध्ययन भइरहेको छ ।
यसका लागि वडा अध्यक्षहरूलाई जिम्मा दिएका छौँ । बेलाबखत म आफैँ र उपाध्यक्षलगायतको टिमले नै अनुगमनमा जाने गरेका छौँ । यसले गर्दा कृषक सन्तुष्ट छन् । गाउँपालिका पनि सन्तुष्टै छ ।
स्वास्थ्यको पहुँचका हिसाबले हेर्ने हो गाउँपालिका निम्छरो नै थियो । पहिला पनि भोटेकाेशीमा स्वास्थ्य संस्थाका भवन थिएनन्, भवन भए पनि स्वास्थ्यकर्मी नहुने समस्या थियो । अहिलेको अवस्था कस्तो छ ?
हामी निर्वाचित भएर गाउँपालिकाको नेतृत्व सम्हाल्दा गाउँपालिकामा जम्मा चारवटा स्वास्थ्य चौकी मात्र थिए । तर, अहिले तीन ठाउँमा स्वास्थ्य इकाइ भवन बनिसकेका छन् । चाँडै उद्घाटन पनि गराउँदै छौँ ।
भवन त बनाउनुभयो, त्यससँगै स्वास्थ्य सेवाको प्रभावकारिता कतिको छ ?
गाउँपालिकाको लगानी नै स्वास्थ्य र शिक्षामा छ । गाउँवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन हामीले स्टाफ नर्स करारमा लिएका छौँ । हामीले प्रत्येक स्वास्थ्य इकाइमा दुई-दुई जना स्टाफ नर्स राखेका छौँ । कुनै बेला साधारण उपचार गर्न सिटामोल नपाउने परिस्थितिका बिरामीलाई अहिले प्रत्येक गाउँगाउँमा पाउने बनाएका छौँ । प्रत्येक ठाउँमा हामीले घुम्ती स्वास्थ्य सेवा चलाइरहेका छौँ ।
कुनै सानो घाउचोट लाग्दा पनि बाह्रबिसे, धुलिखेल जानुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै गाउँठाउँमा यो सुविधा हामीले उपलब्ध गराएका छौँ । पछिल्लो तीन वर्षको अवधिमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेजस्तो लाग्छ । यो कुरा जनताले पनि महसुस गरेका छन् । हामीले सुत्केरी महिलाका लागि अन्डा, घीउ, नगद पनि उपलब्ध गराउँदै आएका छौँ ।
भनेपछि गाउँपालिकामा कोही पनि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था छैन, होइन ?
एकदमै छैन । सिंगो गाउँपालिका टिम स्वास्थ्य क्षेत्रको स्तरोन्नतिमा लागेको छ । म आफैँ पनि लागिरहेको छु । कुनै पनि व्यक्ति उपचार नपाएर मर्नुपर्ने परिस्थिति छैन भोटेकाेशी गाउँपालिकामा ।
गाउँपालिकाले पर्यटन पूर्वाधारमा चाहिँ कसरी काम गरिरहेको छ ?
हामीले पर्यटनमा पनि धेरै लगानी गरेका छौँ । भोटेकाेशी गाउँपालिका राजधानीबाट एकदमै नजिकको नाका तातोपानी भएकाले हामीसँग पर्यटन क्षेत्रका धेरै सम्भावना छन् । हामीसँग बन्जी जम्प, लिस्तीमाई मन्दिर, भैरवकुण्डलगायत धार्मिक पर्यटन स्थलसम्म पुग्ने सडक निर्माण गरिरहेका छौँ । कहीँ कतै निर्माण सम्पन्न पनि भइसके ।
केन्द्र, प्रदेश सरकार र पर्यटन विभागको यसमा सहयोग छ । यस्तै, चार नारायणको शिर रहेको मानिने जयमनथापी नारायण मन्दिरको प्रचारमा पनि गाउँपालिकाले ध्यान दिएको छ । तातोपानी धाराको प्रचार गर्न सकिए गाउँपालिकाको आम्दानी बढाउन सकिन्छ ।
त्यसका कारण पूर्वाधार निर्माणलाई अगाडि बढाइरहेका छौँ । होमस्टेको अवधारणा ल्याएर अरनिको कोसेली घर बनाउने काममा लागिरहेका छौँ । कोरोनाका कारण केही समय पर्यटन क्षेत्र थलिए पनि अहिले आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको छ ।
अनि सडक संजाल विस्तार नि ?
भाेटेकाेशी गाउँपालिकाका धेरै गाउँवस्तीमा हामी निर्वाचित भएर आउँदा सडक संजाल थिएनन् । अप्ठ्यारो भूगोलका कारण पनि सडक विस्तार कठिन हुने नै भयो । निर्वाचित भएर आइसकेपछि स्थानीयवासी र वडा अध्यक्षहरूसँग सल्लाह गर्यौँ र सडक निर्माणलाई तीव्र बनायौँ ।
चाँगुनारायणथानको बाटो अधुरै थियो । त्यो निर्माण गर्यौँ । अब स्तरोन्नति बाँकी छ । ३५ किलोमिटरको बगामदेखि चोकरमोकर-भैरवकुण्ड पर्यटकीय पदमार्ग अघिल्लो वर्ष सम्पन्न गरेका छौँ । यस वर्ष मात्र हामीले ऐतिहासिक दुगुनागढीदेखि बगामसम्मको सडक निर्माण गर्दै छौँ । भोटेकाेशी गाउँपालिकाको चक्रपथ निर्माणको सोचमा छौँ ।
भोटेकाेशी गाउँपालिकामा पनि भूकम्पका कारण घर भत्किएपछि मानिसहरू टहरामा बसिरहेका थिए । अहिले पुनर्निर्माणको अवस्था के छ ?
विशेषगरी भोटेकाेशी २०७२ सालको भूकम्पपछि धेरै तहसनहस भएको गाउँपालिकामध्येमा पर्छ । अहिले पुनर्निर्माणको कामले पूर्णता पाइसकेको छ । एक-दुई काम बाँकी रहनुमा द्वारिका फाउन्डेसनले केही घर बनाइदिने भन्ने थियो । घर बनाउँदा पीडित गाउँवासीलाई सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँको दुरूपयोग नहोस् भनेर केही समय रोकिएको हो ।
फाउन्डेसनले घर बनाइदिने भनेपछि सरकारले दिएको पैसा के गर्ने भन्ने थियो । अहिले भने सबै मिलिसक्यो । द्वारिका फाउन्डेसनले घोषणा गरेको दुगुनागढी क्षेत्रका घर केही मात्र बाँकी बाँकी छन् । त्यसका लागि टेन्डर भइसकेको छ । ठेकेदार पठाइसकेको छ ।
हामीले टयाङ्थलीभन्दा तल २३ एकीकृत घरसहितको वस्ती बनाइसकेका छौँ । अर्को सेबुङभन्दा माथिल्लो डाँडाका स्थानीयको ३२ घर बनाउन बाँकी थियो । त्यो पनि पुनर्निर्माण प्राधिकरणबाट अगाडि बढिसक्यो । भवन विभागबाट केही बजेट आइसकेको छ । अब छिट्टै बनाउँछौँ ।
तपाईंले नेतृत्व गरेपछिको साढे तीन वर्षमा भए, गरेका काममा पालिकावासीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हिजोका दिनमा जनप्रतिनिधिले के काम गरेका थिए, अहिलेका के गरे भनेर म आफैँले गाउँवासीलाई सोध्ने गरेको छु । उनीहरूको प्रतिक्रिया सकारात्मक पाएको छु । 'हिजो खानेपानी ल्याउन चौतारासम्मै धाउनुपर्थ्यो, अहिले त घरमुनि आँगनमै धारा आएको छ' भन्नेहरू पनि पाएँ । यसले गर्दा केही काम गरेजस्तो लाग्छ ।
तपाईंलाई जति गर्नुपर्थ्याे, त्यति गर्न सकिनँ भन्ने लाग्दैन ?
मैले यो साढे तीन वर्षको अवधिमा जति गर्नुपर्ने हो, त्यति पूरा नभएजस्तो लाग्छ । धेरै काम बाँकी छन् ।
तपाईंले सुरुदेखि पारिश्रमिक लिनुभएन भनिन्छ, हो ?
मैले गाउँपालिका अध्यक्ष भएदेखि दुई वर्षसम्म पारिश्रमिक लिइनँ । तर, पछि राज्यबाट पाउने सुविधाबाट शिक्षा क्षेत्रमा लगानी गर्ने सोच बनाएँ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलासँग सल्लाह गरेर कोषमा खडा गरेँ ।
कोषमा राखेको पैसाबाट २९ वटा विद्यालयलाई झोला, कपी, डटपेन, स्टेसनरी सामान र खेलकुद सामग्री वितरण गरिरहेको छु । अहिले कोरोनाका कारण स्थगित भए पनि यसलाई निरन्तरता दिने योजना छ ।
पालिकाअन्तर्गतका सबै कर्मचारीको कोरोना बीमा पनि भएको छ । पालिकाको बजेटबाट नगरेर किन व्यक्तिगत खर्चबाट गर्नुभएको हो ?
कोरोनाका कारण संसार प्रभावित भएका बेला हाम्रो गाउँपालिका पनि त्यसबाट अछुत हुने कुरै भएन । कर्मचारीलाई हौसला बढाउन व्यक्तिगत खर्चबाट कोरोना बिमा गरिदिएको हुँ । हामी जनप्रतिनिधिले कर्मचारीलाई काम लगाउने हो, सबै ठाउँमा आफैँले गरेर भ्याइँदैन ।
कर्मचारीलाई काममा लाग्न हौसला दिनका लागि कोभिडको बीमाको जिम्मा म आफैँले लिएको हुँ । गाउँपालिकाबाट गरिए सरकारी पैसा खर्च हुन्थ्यो । राज्यले पनि त्यसको पहल लिएको अवस्था थिएन ।
सामाजिक काममा के त्यस्तो चिजले उत्प्रेरणा जगाउने रहेछ ?
सरकारी काम गर्दा विभिन्न बाधा, अड्चन र झन्झट हुन्छ । उदाहरणका लागि, कोही मान्छे ब्लड क्यान्सर भएर अस्पतालमा छटपटाइरहेको छ । मेरो गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गर्छ । त्यसका लागि अस्पतालको डकुमेन्ट ल्याउनुपर्यो, यताउता चहार्नुपर्दा पाँच-सात दिन लाग्छ । तर, त्योभन्दा म आफैँले रकम उपलब्ध गराए पीडितलाई सहयोग पुग्न सक्छ । दुःखमा परेकालाई सहयोग गर्दा मलाई आत्मसन्तुष्टि हुन्छ ।
लकडाउनका बेला काठमाडौंमा रहेका भोटेकाेशीवासीलाई आफैँ खाना बोकेर पनि खुवाउनुभयो । कस्तो अनुभूति भइरहेको छ ?
लकडाउनका बेला म काठमाडौं ओहोरदोहोर गर्दा भोटेकाेशी गाउँपालिकाका मात्र नभई सिंगो देशकै मान्छे थिए । बाटोमा हेर्दा कोही खान नपाएर बसिरहेका थिए । मैले उनीहरूलाई सोध्दा पाँच दिन भयो, भोकै छु भने । त्यसपछि मैले घरपरिवार र गाउँपालिका पदाधिकारीसँग सल्लाह गरेँ । सबैको सल्लाहमा खाना खुवाउने अभियान सुरु गर्यौँ ।
एक महिना अभियानमा मैले १८ दिनसम्म कोरोनाका कारण भोकै बसेका नागरिकलाई खाना खुवाएँ, विभिन्न ठाउँ घुमेर । जडिबुटीभन्दा तलको सुकुम्बासी बस्तीमा खाना खुवाउँदा पनि यस्तै भयो । कतिपयलाई त नुन, तेल किन्ने पैसा पनि दिएँ ।
गाउँपालिकाभित्र पनि यस्तै समस्या होलान् । कोरोनाले कतिपयको रोजगारी गुमेको छ । पालिकाभित्रका कतिपय युवा विदेसिएका छन् । उनीहरूलाई फर्काउने प्रयास गर्नुभएन ?
विशेषगरी भोटेकाेशी गाउँपालिकावासी एकदमै कम छन् । धेरैजसो भूकम्पपछि तातोपानी नाकापारिको तिब्बत, चीनमा रोजगारी गर्थे । तर, त्यो तातोपानी नाका बन्द कृषिप्रधान देशमा सबै युवा विदेशिएपछि कसले खेतीपाती गर्ने ? सबै युवा गाउँ फर्केर आएपछि कृषि कर्ममा लागे रोजगारी जति पनि यहीँ छ ।
गाउँपालिकाले कृषि उत्पादन बढाउन अनुदान दिएको छ, चौँरी पालनदेखि लिएर फलफूल खेतीसम्म प्रोत्साहन गरिरहेका छौँ । विदेशिएका युवालाई आग्रह पनि गरेका छौँ । पछिल्लो समय केही युवा दुबईबाट आएर अहिले गाउँमै बाख्रा पालन, कुखुरा पालन र तरकारी खेतीमा लागेका छन् ।
तातोपानी नाका पूर्ण रूपले नखोलिँदा केही समस्या परेको हो । नाका खुल्नेवित्तिकै दुई हजार ट्रक थिए त्यहाँ । ती साधनमा चालक र सहचालकले काम पाएका थिए । उनीहरूले पाँच जनासम्म परिवार पाल्न सक्थे । अहिले बन्द भए पनि नाका खुलेपछि क्रमशः पूर्ववत् हुने अपेक्षा छ ।
तपाईंको कार्यावधि अब करिव दुई वर्ष बाँकी छ, यो दुई वर्षमा तपाईंबाट जनताले के अपेक्षा गर्ने ?
भोटेकाेशीमा पर्यटनको सम्भावना ठूलो छ । पर्यटन क्षेत्रलाई अगाडि बढाएर गाउँपालिका र गाउँवासीलाई आम्दानीको स्रोत जुटाउने लक्ष्य छ । त्यसका लागि काम पनि भइरहेका छन् ।
अधुरा कामलाई एक वर्षभित्रै पूरा गर्ने योजना छ । कृषि र पशुपालनलाई अगाडि बढाइसकेका छौँ । भाेटेकाेशीलाई पर्यटकीय क्षेत्र बनाएर आन्तरिक र बाह्य पर्यटक आउन सक्ने वातावरण निर्माण गर्न सके यसबाटै आत्मनिर्भर हुन सकिन्छ ।