काठमाडौं– कोरोना भाइरसबाट सङ्क्रमितलाई उपलब्ध गराउने भनेको बीमा बापतको भुक्तानी डेढ वर्ष बित्दा पनि अझै भुक्तानी हुन सकेको छैन । सरकारले उपलब्ध गराउनुपर्ने झण्डै ११ अर्ब रुपियाँ जोहो कहाँबाट गर्ने अन्योल भएका कारण बीमाको भुक्तानी रोकिएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार ११ अर्ब रुपियाँ सरकारले उपलब्ध गराउन बाँकी छ । बीमा कम्पनीहरुले प्रिमियम बापतको साढे तीन अर्ब रुपियाँ बराबरको कोरोना बीमा भुक्तानी गरे पनि बाँकी रहेको ११ अर्ब रकम सरकारले तिर्नुपर्ने अधिकारी बताउँछन् ।
अर्थ मन्त्रालयले बीमाको ‘सिद्धान्तभन्दा बाहिर गएर’ बीमा रकम भुक्तानी गर्ने निर्णय गरिएका कारण समस्या परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार अहिले मन्त्रालयमा कोरोना बीमा भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । ‘सरकारले मात्र ११ अर्ब बीमा भुक्तानी गर्न सक्दैन । यसकारण कसरी यो रकमलाई व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’ उनले भने ‘यसमा बीमा समितिले कति तिर्ने, बीमा कम्पनीले कति तिर्ने ? यो विषयमा छलफल जारी छ ।’सरकारको भागमा पर्ने रकम उपलब्ध गराइने शाक्य बताउँछन् । तर अहिलेकै अवस्थामा ११ अर्ब रुपिया सबै सरकारले उपलब्ध गराउन नसक्ने उनी बताउँछन् । तर, बीमा समितिले भने ढिला भए पनि बीमितले पाउनुपर्ने भुक्तानी प्राप्त गर्ने जनाएको छ ।
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारले कोरोना भुक्तानीको रकम उपलब्ध नगराएकाले समस्या भइरहेको बताए । बीमा समिति,बीमा कम्पनी,पुनर्विमा कम्पनीहरुmले प्रिमियम बापतको साढे तीन अर्ब रुपियाँ भुक्तानी गरिसेको उनी बताउँछन् । साढे तीन अर्ब बढीको भुक्तानी सरकारले गर्ने भन्ने उल्लेख नै भएकाले बाँकी रकम उपलब्ध गराउन अर्थमन्त्रालयमा दुई पटक पत्र समेत पठाइएको अधिकारी बताउँछन् । ‘कोरोना बीमा भुक्तानीको सम्बन्धमा दुईवटा नियमका आधारका कोरोना बीमा गरिएको थियो । कतिपयको एक लाखसम्मको कोरोना बीमा छ भने कतिपयको २५ हजारसम्म्को बीमा छ,अधिकारीले भन्नुभयो ‘साढे तीन अर्बसम्मको बीमा कम्पनीहरुले भुक्तान गरेकाले बाँकी रहेको रकम सरकारको भागमा छ । ’
कोरोना बीमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपियाँभन्दा माथिको रकम सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ । २०७७ कै साउन १६ गते अर्थ मन्त्रालयले साँढे तीन अर्ब रुपियाँभन्दा माथि ब्यहोर्ने सचिवस्तरीय निर्णय भएको थियो । तर कोरोना बीमा बापत सरकारले ब्यहोर्नुपर्ने रकम ११ अर्ब ८२ करोड पुगेको छ । यो रकम कहिले भुक्तान हुन्छ, अर्थ मन्त्रालयसँग स्पष्ट जवाफ नै छैन । कोभिड महामारीको पहिलो चरणमा नै कोरोनाका बिरामीलाई बीमा गरे बापत एक लाख रुपियाँ दिने घोषणा बीमा कम्पनी आफैले गरेका हुन् ।
बीमा कम्पनीले महामारी फैलिएपछि भने अत्तालिएर यो योजना नै बन्द गर्न खोजे । तर सरकारले योजना बन्द नगर्न आग्रह मात्रै गरेन, बीमा कम्पनीले ब्यहोर्न नसक्ने रकम आफैले तिरिदिने वचन दियो ।
बीमा समितिका अनुसार एक लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । यो दाबी अनुसार बीमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपियाँ हुन आउँछ । अहिलेसम्म ५५ हजारको हाराहारीले कोरोना बीमा बापतको रकम पाएको अधिकारीको भनाइ छ ।बाँकीलाई पनि ढिलो चाँडो कोरोना बीमा बापतको रकम उपलब्ध गाउने उहाँ बताउनुहुन्छ ।
बीमा कम्पनीहरुले एक अर्ब २८ करोड र कोरोना बीमाको लागि स्थापना गरेको कोष अर्थात् पुलबाट ३ अर्ब ५० करोड भुक्तान भएको छ । जबकी कोरोना बीमा बापत सङ्कलन भएको रकम भने एक अर्ब रुपियाँ मात्रै हो ।