स्याङ्जा– अर्जुनचौपारी गाउँपालिकाले वोटानिकल पार्क निर्माण सहित माछापालन परियोजना सञ्चालन गर्ने भएको छ । यसका लागि गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रममा छनौट भइ परियोजनाको लागि गाउँपालिकाले अनुदान पाएको छ ।
परियोजनाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग बुधबार सम्झौता भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । सम्झौता अनुसार परियोजनाको लागि ७५ लाख रुपैयाँ प्रदेश सरकारको अनुदान रहने छ । सो रकमको ३० प्रतिशत रकम भने गाउँपालिकाको लगानी रहने गरि सम्झौता भएको उनले पालिकाखबरसँग बताए ।
वडा नं १ अर्जुनचौपारी बजार नजिकै वोटानिकल पार्कसहित माछा पालन गर्न लागेको पालिका अध्यक्ष तिवारीले बताए । उनका अनुसार पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा अध्यापन हुन्छ । गाउँपालिकाले उक्त कृषि विद्यालयसँग सहकार्य गरेर सो परियोजना सञ्चालन गर्ने उनले बताए । ‘वोटानिकल गार्डेनमा विद्यार्थीलाई प्राक्टिकल पनि हुन्छ ।’ गाउँपालिकाले ‘इको टुरिजम’को अवधारणामा काम गर्न सो परियोजना ल्याएको उनले बताए ।
सोहि पार्कमा माछा पालन समेत गर्ने उनले जानकारी दिए । उनले भने, ‘प्रयोगात्मक कार्यका रुपमा माछा पालनमा विद्यार्थीको सहभागिता रहन्छ नै । गाउँपालिकाले पनि माछा पालनका लागि कर्मचारी खटाउँछ ।’
परियोजना चालु आर्थिक वर्ष २०८०/८१ भित्र नै सम्पन्न गरिसक्ने उनले बताए । परियोजना सञ्चालन समिति निर्माण गरेर पार्कका लागि विरुवा रोप्ने, दुबो रोप्ने, माटो परिक्षण, मल राख्ने जस्ता काम गर्ने उनले बताए । उनले भने, ‘ठूलो बजेटको आकार भएको काम ठेक्कामार्फत सञ्चालन गछौँ ।’