गह्रुङ्गो भो घाँसको भारी, घाँसको भारी.....
भेटिएन बिसाउने चौतारी डाँडै पिपल
डाँडै पिपल, भाँच्यो हुरीले छैन शीतल
कलाकार मुना थापा मगरको आवाजमा रहेको यो गीतले बर पिपलका बारेमा धेरै कुरा बोल्छ । कुनै जमाना थियो; प्रेमी होस् वा बटुवा जब वनजंगल, पाखा पखेरा, लेक बेँसी खर्कबाट घाँस दाउरा बोकेर थकाइ मेट्न चौतारीमा बिसाउने गरिन्थ्यो ।
अझ सँगसँगै मेलापात गर्दा होस् वा उकाली ओराली गर्दै गर्दा थकान महसुस भएपछि चौतारीमा बसेर प्रेमील जोडी मिठा-मिठा पिरतीका गफ गर्दै बस्थे । बुढा पाकाका दिउँसाेकाे सहारा भनेकै बरपिपल थियाे । अझै पनि कही कतै कायमै छन् ।
तर, दैलेखलेका लागि यो एकादेशको कथाजस्तै भनिसकेको छ । पछिल्लो समय गाउँघरमा मोटर बाटो पुगेसँगै यी सबै कुरा हराउन थालेका हुन् । विकास भित्रिएसँगै चौतारीका वर पिपल उखेलिन थालेका छन् । डोजरले चिथोरेरै शीतल चौतारीलाई उजाड बनाएका छन् । तल मानव जोडी र माथि ढुकुरको जोडी हुर्किने एउटै वर पिपल अब सडक खुल्ने बहानामा ढल्न र ढाल्न थालिएका छन् ।
केही समय अघिमात्र दैलेखको ठाटीकाँध गाउँपालिका-२ का रघे लुवार ठाटीकाँधका पिपल चौतारीमुनि बसेर आफ्ना दुःख मेटाउँथे । टन्टलापुर घाममा विश्राम लिने चौतारी मासिएपछि पहिलेजसो उनी त्यहाँ जान मनै नलागेको बताउँछन् ।
दिउँसोको उखरमाउलो गर्मीमा हिँडेर ठाटीकाँध बजार पुग्नेहरूको बाटोभरि लागेको थकाइ चौतारीमा विश्राम गर्दा विलय हुन्थ्यो । तर, अहिले त्यो चौतारी ढलेको छ । सडक फराकिलो बनाउने भन्दै ठाटीकाँध गाउँपालिकाले वर पिपल ढालेको छ ।
पहिले वरपीपल चौतारीले शीतल दिन्थ्यो । थकाइ मेट्थ्यो तर, अहिले थकाइ मेट्ने चौतारी मासिएसँगै नरमाइलो लागेको स्थानीय बताउँछन् । आधुनिक विकासका नाममा पाटी पौवा र चौतारी मासिन थालेका छन् । यस्ता बटुवाका सहारा मासिँदै गएका छन् । वर, पिपल, समि, टुनि, सिमल लगायतका चौतारीसँगै मासिएसँगै गाउँघरमा पानीका स्रोतसमेत सुक्न थालेका छन् ।
गाउँघरमा विकासका नाममा डोजर चलेको छ । पुराना चौतारा, वर पिपल र पाटी पौवा मासिएका छन् । चौतारानै नभएपछि त्यहाँ बसेर बुढ्यौलीका ठट्यौली कुरा गर्नेहरू हुने कुरै भएन । समुदायसँग बसेर आवश्यकताको पहिचान गरिरहेको नारायण नगरपालिका दैलेखका उपमेयर तप्तकुमारी थापा बताउँछिन् ।
बाटो बनाउने, विद्युत् बिस्तार गर्ने आदी कार्यबाट गाउँघरमा बर पिपलसँगै रुख बिरुवा मासिएका दैलेखको आठविस नगरपालिकाका रमेश बडूवाल बताउँछन् । ‘गाउँलाई स्वच्छ बनाउने यीनै वर पिपल हुन् । मासिएकाहरू मासिए तर सट्टामा अरू वर पिपल हुर्काउन आवश्यक छ ।’ उनले भने ।
पीपल शीतल दिने बिरुवामध्येकै शुद्ध वृक्ष भएको कलाकार प्रेमदेव गिरी बत्ताउँछन् । हिन्दु धर्ममा पीपल वृक्षको धेरै नै महत्त्व रहेको र यसलाई विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले समेत पनि चिनिन्छ,’ उनले भने, ‘पीपल भनेको एउटा आँगन हो, सार्वजनिक ठाउँ र बाटोघाटोको शोभा बढाएर शीतलता दिएको वृक्षलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहन्छ ।’
वर पीपल चौतारी गाउँ सहरको कुलर, एसी जस्तै रहेको र यसको संरक्षणमा ध्यान दिनुपर्ने प्रदेश आयुर्वेदिक अस्पताल तथा अनुसन्धान केन्द्र कर्णाली प्रदेशका निमित्त प्रमुख चिकित्सक शङ्कर रिजाल बताउँछन् । ‘हामीले आधुनिकताको नाममा पुराना राम्रा अभ्यास भुल्न थाल्यौँ भने के हुन्छ ? गाउँका पिपल चौतारा हाम्रा एसी, कुलर हुन् ।’ उनले भने,-‘वर पिपलको संरक्षणमा चेतनामुलक कार्यक्रम गर्न जरुरी छ ।’
वरको बोटलाई दीर्घजीवी मानिएको छ । वरिष्ठ आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक डा. राम बहादुर बोहराका अनुसार अलग–अलग देव अनुसार फरक–फरक बोट उत्पन्न भएको देखिन्छ । धर्मग्रन्थमा यी दुवै वृक्षको पूजा गर्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरेको पाइन्छ ।
प्रायः बोटविरूवामध्ये बर पिपलले अक्सिजन फाल्ने गर्छ । रूखले रातमा अक्सिजन लिन्छ तर पीपल एकमात्र यस्तो वृक्ष हो जसले २४ घण्टा अक्सिजन छोड्छ ।हिन्दु परम्परामा पनि वृक्षलाई देवताको रूप मानेर पूजा गरिन्छ । पीपलको रुखमा नियमित रूपले जल चढाउँदा मनोकामना पूरा हुन्छ । शत्रुको नाश हुन्छ । सुख सम्पत्ति, ऐश्वर्य प्राप्ति हुन्छ भन्ने विश्वास छ ।
तर, विकासका नाममा यस्ता महत्वपूर्ण सम्पदा मास्ने हाे कि संरक्षण गर्ने ? स्थानीय सरकारकाे ध्यान यसतर्फ केन्द्रित हुनु जरूरी छ ।