काठमाडौं । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर)को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन । अहिले सडक खुले पछि उपभोक्ताहरुमा खुशीको सञ्चार भएको छ ।
‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक वालेन्द्र शाह (बालेन)ले फिल्ड निरीक्षण गर्नुभयो । नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो । यसपछि सडक खोल्ने वातावरण तयार भयो । अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ ।’ आयोजना प्रमुख निर्मलराज बरालले जानकारी दिइन्।
काठमाडौँ महानगरपालिका वडा नं १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ वनस्थली सडक, उत्तरमा वालाजु - वनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू - भगवान पाउ - विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।
२०६० साल बैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भयो । यसपछि सहरीकरणबाट बिकास व्यवस्थापन र सुबिधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको हो । यसमा २४.४७% सडकका लागि, २.००% पार्क तथा खुल्ला क्षेत्रका लागि, ०.५०% धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३% भचाखुशी नदीका छुट्याइएको छ ।
आयोजना सुरु हुनु अघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२% भाग ओगटेको थियो । सडकले ४.६५%, कुलोले १.१५%, पर्ती जग्गाले ०.३१% र भचाखुशी नदी १.४७% क्षेत्र ओगटेको थियो । एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य काम हो ।
जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्क वापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ । यो दर भनेको खुल्ला क्षेत्र वापत् २.५%, पूर्वाधार निर्माण वापत ५ %, बाटो वापत् ३.३५% प्रति मिटर सडक र कर्नर प्लटका लागि थप योगदान २.७५% देखि ९.६% हो ।