close

गलकोटमा बसपार्क नहुँदा समस्या

गलकोटमा बसपार्क नहुँदा समस्या

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङको पुरानो सदरमुकाम हो, गलकोट । गलकोट बजारमा पछिल्लो समय तीव्र गतिमा बस्ती विस्तार भइरहेको छ । बस्ती विस्तारसँगै सवारी साधनको चाप पनि उत्तिकै छ । दैनिक हजारौँ मानिस आवतजावत हुन थालेपछि गलकोटमा बसपार्कको अभाव खड्केको हो । बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप बढ्दै जाँदा बसपार्कका आवश्यकता महसुस भएको छ । 

भौगोलिक हिसाबले पछाडि परे पनि गलकोटमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग परेपछि विकासका ढोका खुलेका छन् । राजमार्गका कारण छोटो समयमै अनपेक्षित रुपमा विकास भएपछि यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने देखिएको छ । दैनिकजसो सयौँ साना तथा ठूला सवारीसाधान व्यवस्थापन गर्न निकै चुनौती थपिएको छ ।

बढ्दो अव्यवस्थित बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । जसमध्ये पार्किङ पनि चुनौतीका रुपमा रहेकाले बसपार्क आवश्यक भएको गलकोट नगरपालिकाका प्रवक्त तथा वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए। बसपार्कका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न समस्या भएको भण्डारीको भनाइ छ । यद्यपि बसपार्कका लागि जग्गा खोज्ने काम भने भइरहेको उनको भनाइ छ । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको भण्डारीले जानकारी दिए । 

'पछिल्लो दशक गलकोटको जनघनत्व बढी भयो, सवारीसाधान पनि बढेका छन्', उनले भने, 'अब यहाँ बसपार्क अनिर्वाय भयो, यसका लागि जग्गा व्यवस्थापनको प्रयास भइरहेको छ ।' जग्गा व्यवस्थापन भएपछि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरी बसपार्क निर्माण गर्ने भण्डारीले बताए । 

'गलकोट बजार पहिलेदेखिनै साँघुरो थियो, लोकमार्ग जोडिएपछि भवन थपिए, व्यापार व्यवसाय बढ्यो, सवारी साधन पनि थपिए, जसले गर्दा बजारमा पार्किङको चुनौती थपिएको छ', उनले भने । हाल दैनिक गलकोट बजार भएर लोकमार्गमा सयौँ सवारीसाधान गुड्ने उनको भनाइ छ । 


व्यवसायी छबिलाल शर्माले दिनप्रति दिन गाडी र मान्छेको चाप बढेकाले बजार अस्तव्यस्त भएको बताए । शर्माले भने, 'गलकोट बजारमा व्यवसाय गर्न समस्या हुँदै गएको छ, बजार व्यवस्थापन पनि राम्रोसँग हुनसकेको छैन, लोकमार्गमा चल्ने र यहाँबाट पोखरा, काठमाडौँ, बुटवल जाने गाडीको भीड उस्तै हुन्छ ।'

शर्माले सवारी साधनको चाप बढेपछि गलकोट क्षेत्रमा एउटा बसपार्क आवश्यक रहेको बताए। गलकोटमा एक दशक अघिसम्म सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरले बजार भरिएको उनको भनाइ छ । बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको उनी बताउँछन् । 

गाडी चालक हरिबहादुर खड्काले बजारमा पार्किङको व्यवस्था नहुँदा यात्रु र चालकले सास्ती खेप्नु परेको बताउँछन् । उनले बजार सानो भए पनि गाडीको चापले गर्दा सामान अनलोड गर्न र यात्रु खोज्न समस्या भइरहेको बताए। बजारको निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्नुपर्ने खड्काको भनाइ छ । 

उनी भन्छन्, 'बजारमा गाडी कहाँ पार्किङ गर्ने भन्ने चिन्ता हुन्छ, बजारमा धेरै गाडी राख्ने ठाउँ छैन, सरकारले यहाँ एउटा बसपार्क बनाइदिए हामीहरु जस्ता चालकलाई सजिलो हुन्थ्यो ।'