close

निकुञ्जबासीको पुरानै व्यथा : खै कसले पो गर्लान् विकास?

निकुञ्जबासीको पुरानै व्यथा : खै कसले पो गर्लान् विकास?

Trulli
ADVERTISEMENT

तुलसीपुर ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकदै गर्दा राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीयमा कुनै खुसी छैन । चुनावको मिति आएसँगै दैनिक रुपमा भोग्दै गरेको समस्यालाई स्मरण गर्छन् । 

०७४ सालको निर्वाचनबाट सो क्षेत्रबाट प्रतिनिधि पाएपनि आफ्नो समस्यामा कुनै सुधार नभएको उनीहरुकाे गुनासो छ । सो क्षेत्रमा फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्ने अवस्था अहिले पनि छ । सडक छ महिना चल्छ, छ महिना बन्द हुन्छ । वरपर वनजङ्गल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइँदैन । बस्ती नजिकै खोला बग्छन् तर खानेपानीको सहज सुविधा छैन । 

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने दाङ बबई गाउँपालिका–७ मलैखोलाबाट दङ्गीशरण गाउँपालिका–१ मा पर्ने फुर्केसल्ली तथा आसपासका बस्तीमा यस्तै समस्या रहेनुमा मतदाता दुख व्यक्त गर्छन्।

यी दुवै स्थान राष्ट्रिय निकुञ्जभित्र पर्छ । त्यहाँ टेलिकमको टावर नहुँदा घण्टौँ हिँडेर अग्लो डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता छ । पटक–पटक टावर निर्माणका लागि माग गरिए पनि त्यसको सम्बोधन हुन नसकेको मलैखोला निवासी  बमबहादुर बुढाले बताए । 'हामीले पटक–पटक यहाँ टेलिफोनको समस्या समाधानका लागि ठाउँ–ठाउँमा भन्यौँ', उनले भने, 'तर हाम्रा माग सम्बोधन भएका छैनन् ।'

टेलिकमको टावर निर्माणका लागि गएको वर्ष सर्वेक्षण गरिए पनि काम सुरु नभएकाेमा उनले गुनासो पाेखे। 'यहाँ सडकको हालत पनि उस्तै छ । २०६३ तिर यहाँ सडकको ट्रयाक खोलिए पनि अहिलेसम्म  त्यसको स्तरोन्नति हुनसकेको छैन,' उनले भने ।

 यहाँ वर्षात्को समयमा सडक आवतजावत नै ठप्प हुन्छ  । 'वर्षात्मा छ महिना सडक बन्द हुन्छ', मलै निवासी अमर बुढाले भने, 'बाँकी छ महिनामात्रै गाडी चल्छ, त्यो पनि धुलाम्मे हुन्छ ।'

साे क्षेत्रमा कक्षाा १० सम्म मात्र पढाइ हुने गरेकाे छ ।  त्योभन्दा मथिल्लो तहमा शिक्षा आर्जन गर्न विद्यार्थी कि त घोराही, कि तुुलसीपुर पुग्नुपर्ने बाध्यता साे क्षेत्रका मतदाताहरुकाे छ । कतिपयले त आर्थिक अवस्था कमजोर हुने भएकाेले राेजगारीकाे लागि भारततर्फ जान बाध्य छन् । 'आर्थिक अवस्था राम्रै हुनेहरू त कोही घोराही, कोही तुलसीपुर गएर पनि पढ्छन्', स्थानीय प्रेम पुनले भने, 'आर्थिक अवस्था कमजोर हुनेहरू कामको सिलसिलामा भारत जाने गरेकाले  धेरैले बीचमै पढाइ छाड्न गरेका छन् ।'

उनका अनुसार मलैखोलाको  खेतीयोग्य जमिन कटानकाे समस्यामा भाेग्न बाध्य भएका छन् । 'यहाँका बस्ती राष्ट्रिय निकुञ्जको बीचमा छन् । त्यहाँ बाघ, भालुलगायत जनावरको त्रास उत्तिकै हुन्छ,' उनले भने, 'कहिलेकाहीँ बाघले गाई, बाख्रा खाइदिने गर्छ । त्यतिमात्रै नभइ किसानले लगाएका बाली पनि बँदेलले नष्ट गरिदिन्छ ।  वरिपरि वनजङ्गल भए पनि काठ, दाउरा यहाँका बासिन्दाले सहज प्रयोग गर्न पाउँदैनन् ।' 

स्थानीय समितिको सल्लाहअनुसार दाउरा पाए पनि आवश्यक परेको खण्डमा काठ प्रयोग गर्न नपाउने उनी सुनाउँछन्। त्यसले पनि आफूहरू मारमा परेको फुर्केसल्ली निवासी प्रकाश रोकायले बताए। 'विस २०६८ मा यो क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो', उनले भने, 'त्यसपछि हामीले त्यो जङ्गललाई राम्रोसँग प्रयोग पनि गर्न पाएका छैनौँ ।'

विकट भएकै कारण केही पशु बिरामी हुँदा त्यहाँ प्राविधिक पनि आउन नमान्ने उनले बताए । 'पोहोर साल पशु बिरामी परे, हामीले प्राविधिकहरू बोलायौँ, तर दुर्गम भएकै कारण यहाँ आउन मानेन्',  उनले भने, 'त्यसपछि मैले आफैँले भाडा तिरेर उनीहरूलाई यहाँ ल्याएको थिएँ ।'  

बबई, मलैखोला हुँदै बाँकेको कोहलपुर जोड्न सकिएमा त्यहाँका नागरिकले सहज सेवा पाउने आशा छ । सडक पनि स्तरोन्नति हुने र विकास पनि हुने भएकाले यहाँको त्यो सडकलाई कोहलपुरसम्म जोडीदिन माग गरिएको हो । 

अन्तिमतिर मात्रै पुग्छन्, उम्मेदवार

निकुञ्जभित्रका यी वस्तुमा उम्मेदवार पनि प्रचारप्रसारको अन्तिमतिर मात्रै पुग्ने गर्छन् । फुर्केसल्ली र मलैखोलामा बुधबारमात्रै उम्मेदवार त्यहाँ पुगे । विगतमा पनि अन्तिमतिर मात्रै पुग्ने र जितेपछि पाँच वर्षसम्म पनि देखा नपर्ने स्थानीय दत्त बुढाको गुनासो छ  । 'चुनावको प्रचार गर्ने दिनको अन्तिमतिर मात्रै पुग्छन्', उनले भने, 'जितेपछि पाँच वर्षसम्म पनि मुख देखाउँदैनन् ।'

बुधबार वाम–लोकतान्त्रिक गठबन्धनकाका दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी, क्षेत्र नं ३ प्रदेशसभा सदस्य ९२०का उम्मेदवार धनबहादुर मास्की तथा एमालेका तर्फबाट दाङ–३ ९२० का प्रदेशसभा उम्मेदवार हुकुम बस्नेत साे क्षेत्र पुगेका थिए । एमाले र गठबन्धनको छुट्टाछट्टै स्थानमा कार्यक्रम भयो । 

गठबन्धन र एमाले दुवैका उम्मेदवारले त्यहाँको विकासमा प्रतिबद्धता जनाए । गठबन्धनका उम्मेदवार गिरीले त्यहाँबाट कोहलपुरका पुग्न सडक खोल्ने प्रतिबद्धता समेत जनाउन भ्याए । साथै उनले त्यहाँको विद्युत्, सडक र खानेपानीको समस्या समाधान गर्ने विश्वास दिलाए। यसैगरी मास्कीले प्रायः ऐलानी बस्ती रहेकाले त्यहाँ लालपुर्जाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए भने  बस्नेतले पनि त्यो ठाउँका सबै समस्या समाधान गर्ने आश्वासन दिए । मलैखोलामा तीन सय घरधुरीको बसोबास छ भने फुर्केसल्लीमा करिब साढे दुई सय घरधुरीको बसोबास छ ।