काठमाडौं । धरहराको ठिक अगाडिको आकाशेपुलमा सार्वजनिक शौचालय छ । महिला र पुरुषको लागि फरक फरक शौचस्थल छन् । तर, भौतिक अवस्था निकै नाजुक देखिन्छन् ।
प्रयोग भइसकेका निर्माण सामग्री पनि राखिएको छ । जसका कारण शौचस्थल साँघुरो छ । बत्ती नभएर अध्याँरो छ । प्याडलगायत फोहोर हाल्नका लागि कागजको बाकस डस्टविन बनाइएको छ । महिला शौचस्थलमा प्रवेश गर्दा ढोकाअगाडि २०० लिटरको ड्रममा थमिलो पानी राखिएको छ । शौचपछि प्लास्टिकको भाँडोबाट पानी प्रयोग गर्नुपर्छ ।
त्यसैगरी, रत्नपार्कतर्फ जाने क्रममा नेपाल एयरलाइन्सको विपरीत दिशामा आकासेपुलमुनि अर्को सार्वजनिक शौचालय छ । यस शौचालयमा पनि दुई सय लिटरको भाँडामा पानी राखिएको छ । जार काटेर डष्टविन बनाइएको छ । शौचका गर्ने दुईवटा चर्पी भए पनि चुकुल छैनन्, बत्ती छैनन् । शौचालयबाहिर पनि जथाभावी पिसाब फेरेका कारण हिलो छ ।
शौचालयका यी शाब्दिक दृश्य देशकै राजधानी रहेको काठमाडौं महानगरभित्रका शौचालयका हुन् ।
एउटा व्यवस्थित सार्वजनिक शौचालयमा महिला र पुरुषका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था हुनुपर्छ । सार्वजनिक साझेदारी इकाइका निर्देशक नूरनिधि न्यौपानेका अनुसार शौचालयमा सफापानी, चुकुल लगाउन मिल्ने व्यवस्था, हात धुने व्यवस्था भएको, साबुन उपलब्ध भएको, दिनको कम्तिमा ६ पटक सरसफाईका लागि आवश्यक फिनेल ब्रसजस्ता सामग्री उपलब्ध र रेखदेखका लागि मान्छे हुनुपर्छ ।
तर, आकासेपुलका अधिकांश शौचालयमा यी कुनै पनि मापदण्ड पूरा भएका छैनन् ।
उनले करिब १८ वर्ष पहिले आकासेपुलको निर्माण इन्नोभेटिभ कन्सेप्ट प्राइभेट लिमिटेडले निर्माण गरेको न्यौपाने बताउँछन् ।
आकासेपुल निर्माणका क्रममा बनेका पुलमा शौचालयमा शुल्क उठाउने र व्यवस्थापनको जिम्मेवारी पनि कम्पनीले लिएको उनले बताए ।
शौच गरेबापत कति लाग्छ शुल्क ?
उपत्यकाका केन्द्रमा रहेका यी शौचालयमा दिसा गरेवापत कम्पनीले १० र पिसाब गरेबापत पाँच रुपैयाँ उठाउने गरेको छ । तर, यसको सरसफाई तथा मर्मतमा कम्पनीको ध्यान पुगेकोे छैन ।
काठमाडौं महानगरपालिकाले कम्पनीलाई बारम्बार सम्पर्क गरेर शौचालयको व्यवस्थापनको लागि अनुरोध भने गरिरहेको इकाइका निर्देशक न्यौपानेले बताए ।
महानगरका शौचालयको व्यवस्थापनको जिम्मेवारी कसको ?
काठमाडौं महानगरभित्रका शौचालयको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरको वातावरण विभागको हो । तर, महानगरका चालयको रेखदेख र व्यवस्थापनको जिम्मेवारी सार्वजनिक साझेदारी इकाइलाई दिइएको छ ।
पब्लिक प्राइभेट पार्टनसिपसँग पनि यो विषय सम्बन्धित भएकाले सैद्धान्तिक हिसाबले महानगरका सार्वजनिक शौचालयको रेखदेख गर्ने जिम्मेवारी सार्वजनिक साझेदारी इकाइलाई दिइएको निर्देशक न्यौपाने बताउँछन् ।
करिब दुई वर्षअघि इकाइले महानगरका सार्वजनिक शौचालयको अवस्थाको अध्ययन गरी महानगरपालिकाभित्र ५६ ठाउँमा सार्वजनिक शौचालय छन् ।
तर, तीमध्ये २० भन्दा बढी शौचालय सञ्चालनमा नरहेको उनले बताए । कतिपय भूकम्पका कारणले भत्किएका छन् भने कतिपय सरसफाई र व्यवस्थापन हुन नसक्दा सञ्चालनमा छैनन् ।
उनी भन्छन्, ‘हाल सञ्चालनमा आइरहेका २० वटा शौचालयको स्तर वृद्धिका लागि महानगरपालिकाले शौचालय तिनीहरूको स्थान र अवस्थाअनुसार व्यवस्थित बनाउने र मर्मत गरेर सञ्चालनमा ल्याउने नीति लिएको छ ।’ शौचालयलाई पुनः निर्माण गर्नुपर्ने रहेकाले ड्रोइङ डिजाइन बनाइएको उनले बताए ।
टुँडिखेलको पश्चिमतर्फ अर्थात् वीर अस्पातालअगाडि, टुँडिखेलको पूर्वपट्टि विद्युत् प्राधिकरणसँगै र भूगोलपार्कलगायत क्षेत्रमा महानगरपालिकाले व्यवस्थित शौचालय निर्माणका लागि ड्रोइङ डिजाइन तयार पारेको छ ।
यी ठाउँमा बन्ने शौचालय अन्य स्थानमा भन्दा स्मार्ट शौचालय हुने उनले बताए । यी शौचालयमा स्यानिटरी प्याडसमेत उपलब्ध हुनेछन् ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि करिब पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ । निर्माण कार्य टेण्डरमार्फत् ठेक्का दिएर गर्ने भएकाले केही समय लाग्ने उनी बताउँछन् ।
न्यौपाने भन्छन् ‘ अहिलेका कतिपय सार्वजनिक शौचालय अपाङ्गमैत्री, महिलामैत्री छैनन् । सुविधाजनक सफा र स्मार्ट शौचालय निर्माण गर्ने छौँ ।’