close

स्थानीय सरकारको हेलामा ‘राजाका घर’

स्थानीय सरकारको हेलामा ‘राजाका घर’

Trulli
ADVERTISEMENT

धनगढी । नेपाल एकीकरण हुनुभन्दा पहिलेका राजारजौटाका दरबारहरूको उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा रहेका छन् । बाइसे/चौबिसे राजाका दरबारहरूको उचित संरक्षण तथा सम्बद्र्धन गर्नतर्फ सरोकारवाला निकायको ध्यान नजाँदा जीर्ण बन्दै गएका हुन् ।

संरक्षणको अभावमा त्यति बेलाको ठुलो डोटी राज्यका राजाका तथा रजौटाका दरबारहरूको अस्तित्व मेटिँदै जान थालेको छ । यहाँका स्थानीय निकायहरूले ती दरबारको उचित व्यवस्थापन तथा संरक्षण गर्न नसक्दा वर्षेनी अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेका हुन् ।

जिल्लामा पुराना राज्य रजौटाका पालमा निर्माण गरिएका दर्जनौँ दरबार तथा कोटहरू अहिले भगनावसे हुँदै जान थालेका छन् । जिल्लाको पूर्वीचौकी, जोरायल, दिपायल सिलगढीलगायत क्षेत्रमा निर्माण गरिएका वर्षौ पुराना दरबार तथा कोटहरू उचित संरक्षण तथा सम्बर्द्धन नगरिएका कारण वर्षेनी लोप हुँदै जाने अवस्थामा पुगेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय सुरेन्द्रबहादुर बोहराले बताए । ‘पुराना राजाका दरबार उचित संरक्षण नगरिँदा खण्डहर बन्दै गएका छन्, यहाँका स्थानीय तहले समयमै उचित संरक्षण नगर्ने हो भने अबको केही वर्षमै ती दरबार माटोमा बिलिन हुने छन्,’ उनले भने ।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ६ निरौलीमा रहेको नागी मल्ल राजाले निर्माण गरेको दरबार, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ दिपायल तथा वडा नम्बर ६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी गौडा दरवारको उचित संरक्षण नहुँदा वर्षेनी भत्किँदै जान थालेका हुन् ।

पुरातात्विक महत्त्व र पर्यटकीय सम्भावना बोकेका यी दरवारहरु समयमै उचित संरक्षण नगरिदा अस्तित्व मेटिँदै जान थालेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए ।

‘डोटीलाई चिनाउने पुराना दरवारको उचित संरक्षण नगरिदा वर्षेनी भत्किँदै गएका छन । पुरातात्विक महत्त्व र पर्यटकीय सम्भावना बोकेका दरबारको समयमै संरक्षण गर्न जरुरी भएको छ’, उनले भने ।

यहाँका स्थानीय तहले दरबार संरक्षण तथा सम्बद्र्धधनका लागि केही समय पहिले पहल चालिए पनि अहिले कामले निरन्तरता नपाएको भन्दै स्थानीयबासीले दरवाराको अस्तित्व मेटिँदै जानेप्रति चिन्ता व्यक्त गरेका छन । दरबार संरक्षणका लागि यहाँका स्थानीय तहले खासै चासो नेदाएका कारण अस्तित्व मेटिँदै जान थालेको स्थानीयको आरोप छ । डोटी राज्यको दरबार अर्थात् मूलगढ हालको महाकाली अञ्चलअन्तर्गत डडेलधुरा जिल्लास्थित अजयमेरुमा थियो । जसलाई अद्यावधि अजैमर कोट भनिन्छ ।

पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुँदै आएकोमा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वीभागतिर गनैर गौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको काङ्ग्रेस पुराना नेता तथा पूर्व सांसद यज्ञराज पाठकले बताए ।

उनका अनुसार उक्त दरबारलाई तत्कालीन समयमा अद्यावधि दिपायलकोट भनिन्थ्यो । तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नाबशेषका रूपमा रहेका छन् ।

डोटी राजाको मूल दरबार अजैमेरकोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले सित्कालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको भनाइ छ ।

सन् १४३८ देखि सन् १४५० सम्म डोटी र कुमाउँको युद्ध पछि त्रासित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न सिलालेखमा उल्लेख गरेको पाइन्छ ।

युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उनका भाइ विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उनका ज्येष्ठ पुत्र पहाडी शाही (द्वितीय) रजौटा भएको भनाइ छ ।

रजौटा डोटेली साहेब भनिने पदम विक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि पुर्ख्यौली ज्येष्ठ पुत्रहरू रजौटाका रूपमा रही आएको भन्ने भनाइ छ । विष्णु शाही,पहाडी शाही (द्धिप्तीय), बलदेव शाही, सुरजंग शाह, शमसेर बहादुर शाह, पदम विक्रम शाह, मोहन विक्रम शाह । यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको भन्ने थियो ।

तत्कालीन अन्तिम रजौटाका रूपमा मोहन विक्रम शाह थिए । विसं २०१८ देखि रजौटा प्रथाको अन्त भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुर्ख्यौली ज्येष्ठ पत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडा दसैँमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उनका हातबाट टिका ग्रहण गर्ने र उनले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जसको अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिले सम्म कायमै रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।

नेपाल एकीकरण पूर्व डोटी राज्यको राजधानी, गोर्खालीबाट परास्त भएपछि अर्थात् नेपाल एकीकरणपछि गोर्खालीहरूको शक्ति सञ्चय तथा प्रशासकीय केन्द्रको रूपमा डोटी मोहडा गौडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजन अनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको (सेती महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगरक्षेत्रले विसं २०३८ सालमा नगरपालिका परिणत भएको भन्ने स्थानीयको भनाइ छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका ६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिदा भत्किन थालेको छ ।

जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुदैछ । राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो । भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासको रुपमा प्रयोग हुने भएको थियो ।

४० कोठा रहेको यो दरबार संरक्षण अभावमा भत्किन थालेको छ । यो  ‘मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घरहरू निर्माण भएका छन् । ती घर पनि भत्किन थालेका छन् । बहादुरशम्सेर राणा बडाहाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन, तर बहादुर शमसेर विक्रम् सम्वत् १९९० को दशकमा डोटी गौंणामा भएको यहाँका बुढापाकाहरू बताउँछन् । ४६ रोपनी जमिन त्यति बेला रु १० हजार रुपैयाँमा सिलगढीका सुरत श्रेष्ठलाई बिक्री गरेको भन्ने सुनेको स्थानीय सिद्धराज श्रेष्ठ जानकारी दिए ।