close

स्वच्छ खानेपानी व्यवस्थापनमा मिक्लाजुङ्गको सफलता

स्वच्छ खानेपानी व्यवस्थापनमा मिक्लाजुङ्गको सफलता

Trulli
ADVERTISEMENT

मोरङ–जनस्वास्थ्यसँग परोक्ष जोडिएको खानेपानीको न्यूनतम पहुँच र आधारभूत सरसफाइलाई नेपालको संविधानले मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । तर, हालसम्म पनि कतिपय स्थानमा स्वच्छ खानेपानीमा सबैको पहुँच छैन ।

 

फोहोर व्यवस्थापन पनि स्थानीय सरकारका लागि चुनौती बनिरहेको छ । स्वच्छ खानेपानी र सरसफाइमा देखिएका समस्यालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न मोरङको मिक्लाजुङ्ग गाउँपालिकाले बनाएको योजना र विनियोजित बजेटले सघाउ पु-याएको छ । 

 

२०६८ को तथ्यांकअनुसार मोरङको मिक्लाजुङ्ग गाउँपालिकामा २ हजार २ सय ९२ घर परिवारले ट्युबवेलको पानी प्रयोग गर्दथे । गाउँपालिकाका २ हजार ९ सय ७४ घरपरिवारले मात्रै धाराको पानी उपभोग गर्दै आएका थिए । गाउँपालिकाका ७, ८ र ९ नम्बर वडाबासीको त धाराको पानीमा पहुँचै थिएन । 

 

सबैभन्दा बढी ८ नम्बर वडा खानेपानी अभावका कारण प्रताडित थियो । पिउने पानीको स्रोत अभावमा वडाबासी दीर्घकालीन योजना बोकेका जनप्रतिनिधिको पर्खाइमा थिए । नागरिकको समस्यालाई नजिकबाट नियालेका गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले निर्वाचनताका नै सबै वडामा स्वच्छ पानी पु-याउने प्रतिबद्धता जनाएका थिए ।

 

गाउँमा पानीको स्रोत पहिचान, व्यवस्थापन र पानीट्यांकी निर्माण गरिए । अहिले पनि खानेपानीका पाइप लाइन वितरण, मर्मत, मिटर जडान र वडागत रूपमै बजेट विनियोजन हुँदै आएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् ।

 

वडा नम्बर ३ मा रहेको कालिका देवीथान मन्दिर क्षेत्र खानेपानीको ठूलो स्रोत हो । यही स्रोतबाट पाइपका माध्यमबाट पानीट्यांकी निर्माण गरेर सबै वडामा अहिले पिउने पानी पु-याइएको छ । वडा नम्बर ४ मा पनि पानीट्यांकी निर्माण गरिएको छ । खानेपानीसँग जोडिएको समस्या एकैपटक समाधान गर्ने लक्ष्यका साथ गाउँपालिकाले लाभाखोला खानेपानी आयोजना पनि सुरु गरेको वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र मादेन लिम्बूको भनाइ छ ।

 

खानेपानीको समस्या निराकरण गर्न गाउँपालिकाले आव २०७५/७६ मा २३ लाख, आव ०७६/७७ मा २५ लाख, आव ०७७/७८ मा २८ लाख ५० हजार, आव ०७८÷७९ मा  ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

 

पालिकाले आर्थिक वर्षैैपिच्छे खानेपानीमा बजेट बढाउँदै लगेको छ । हालसम्म १ करोड १६ लाख रुपैयाँ खानेपानी र सरसफाइमा खर्च गर्दा अहिले वडामा खानेपानीको पहुँच र स्वच्छ वातावरण निर्माण हुँदै गएको छ । 

 

पालिकाभित्र हाल वडा नम्बर १ मा खोलाघारी खानेपानी मर्मत, सोताङ मझौले खानेपानी योजना र गोगने खानेपानी आयोजना निर्माण, वडा नम्बर २ मा देवीथान लाम्पाते, रचना, हर्दिया र सुर्जे खानेपानी मर्मत, वडा नम्बर ३ मा तेह्रथुमे टोल खानेपानी ट्यांकी मर्मत र बडहरे खानेपानी आयोजना निर्माण, वडा नम्बर ४ मा छ्यारछ्यारे खानेपानी आयोजना मर्मत, तिल्के टोल र फेदीचोक खानेपानी मर्मत, लाम्पाते खानेपानी मर्मत तथा बगरटोल खानेपानी मर्मत गरेको छ ।

 

यस्तै, वडा नम्बर ५ मा आँपटार खानेपानी आयोजना र ग्रामीण पूर्वाधार खानेपानी आयोजना निर्माण, वडा नम्बर ६ मा कालिदह खानेपानी ट्यांकी निर्माण गरेको छ ।

 

जनप्रतिनिधिले खानेपानी मर्मतसम्भार, विपद् व्यवस्थापनका लागि कोष बनाएका छन् । विद्यालय सरसफाइ अभियान, शुद्ध पिउने पानीका लागि धारा जडान र पानीको स्रोत संरक्षण हुन थालेका छन् । स्वच्छ पिउने पानीको अभाव झेलिरहेका पालिकाबासीलाई केही राहत मिलेको छ । केही आयोजना निर्माणकै चरणमा रहेकाले सबै समस्या क्रमबद्ध रूपमा समाधान हुने विश्वास रहेको वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान लिम्बूले जानकारी दिए ।

 

जनप्रतिनिधिले प्रभावकारी योजना बनाउँदा नै खानेपानी र सरसफाइको क्षेत्रमा प्रगति भएको छ । संघीय र प्रदेश सरकारसँग निरन्तर छलफल र सहकार्यले पनि यो सफलता प्राप्त गरेको हो । दिगो विकास लक्ष्यको छैटौँ बुँदामा उल्लेख गरिएको सबैका लागि स्वच्छ पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्न सम्भव छ । यसरी नै हरेक क्षेत्रमा स्थानीय तहले योजना बनाउन सके दिगो विकास लक्ष्य २०३० लाई भेट्न गाह्रो छैन ।